६ वैशाख २०८१ बिहीबार
अन्य

‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

पल शाह, अभिनेता

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर स्वच्छ, हरियाली र सुविधायुक्त हुनुपर्छ । सहरका हरेक चोक व्यवस्थित र सुरक्षित हुनुपर्छ । सहरमा एकले अर्कालाई माया–सम्मान गरून् । सहरमा बस्ने मानिसमा सहर र छिमेकीप्रतिको माया देखिनुपर्छ । 

तपाईंलाई मनपर्ने सहर वा बजार कुन हो ?
मलाई पोखरा, देउखुरी र बन्दीपुर सुन्दर लाग्छ । पोखरालाई प्रकृतिले नै सजाएको छ । बन्दीपुर र देउखुरी  ऐतिहासिक छन् । यी सहरमा हाम्रो मौलिकता र नेपालीपन भेटिन्छ । 

देशबाहिर कुन–कुन सहर घुम्नुभएको छ ?
मैले दुबई, हङकङ र थाइल्यान्डका केही सहर घुमेको छु । सहर कस्तो हुनुपर्छ भन्ने नेपालबाट अरु देशका सहरमा पुगेपछि मात्रै थाहा पाएँ । पहिलोपटक घुम्दा पनि विदेशका सहरले मन लोभ्यायो । ती सहर व्यवस्थित र प्रदूषणमुक्त छन् । थाइल्यान्डको बै‌कक धेरै सुन्दर लाग्यो । मैले घुमेका सहर स्मार्ट सिटीको अवधारणाअनुसार विकास भएका छन् ।

तपाईं पुगेका सहरमा के के सुविधा थिए ?
सहरमा पाइने सबैखाले सुविधा थिए । हरियाली पार्क, सुविधायुक्त होटलहरू, पर्याप्त घुम्ने ठाउँलगायत सुविधा थिए । 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मलाई धेरै राम्रो लाग्छ । मैले आफ्नो करिअर नै यहीँबाट सुरु गरेको हुँ । यो ७५ वटै जिल्लाका मानिसको कर्मथलो हो । काठमाडौंले धेरैलाई जागिर दिएको छ, बचाएको छ । मानिसले खोजेको र रोजेको धेरै सुविधा यहाँ छ । तर, यहाँ बस्नेले काठमाडौंलाई केही दिएनन् । सबैले आफ्नो भविष्य सपार्नतिर मात्रै लागे, काठमाडौंको भविष्यलाई अन्योलमा पारिदिए । यहाँ बस्नेले आफ्नो काम र परिवारलाई जस्तै काठमाडौंलाई माया गरेको भए आज काठमाडौं धेरै सुन्दर हुन्थ्यो होला । यस्तै सुविधा भएको सहर अन्त नहुँदा पनि काठमाडौंले सबैतिरको चाप खेपिरहेको छ । 

काठमाडौंलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सहरवासीले फोहोर सही ठाउँमा फाल्ने, आफ्नो वरपर सफा राख्ने बानी बसाल्नुपर्छ । नेताहरूले काठमाडौंलाई गरिखाने भाँडो मात्रै बनाए । सहरलाई व्यवस्थित बनाउनेतर्फ कसैले सोचेन । सरकारमा बस्नेले काम नगरेकै कारण आज काठमाडौं फोहोर भएको छ । जताततै प्रदूषण मात्रै छ । नागरिक पनि चनाखो भएर सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको छ । यहाँका सेवा–सुविधालाई विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं व्यवस्थित र सफा हुन्थ्यो होला । 

तपाईंको सपनाको सहर कस्तो होला ? 
सहर हेर्दै सुन्दर र शान्त देखियोस् । हरेक मानिसले सुरक्षित महसुस गरोस् । सहरमा एकले अर्कोलाई बेवास्ता नगरोस् । कतै पनि प्रदूषण नहोस् र सरकारी सुविधा होस्, यति भयो भने सहर राम्रो हुन्छ । 

पछिल्लो समय घुमेको सहर कुन हो ?
पछिल्लो समय करिब एक महिना अमेरिका बसेर आएँ । त्यहाँको सफा सुग्घर हेर्दा नेपालका सहर अति नै पछि छन् ।

घुमेका विदेशी सहर र हाम्रा देशमा सहरबीच के भिन्नता पाउनुभयो ?
नेपालका सहरलाई विदेशका सहरसँग तुलना गर्न मिल्दैन । यहाँका सहर ऐतिहासिक छन् । प्रकृतिले नै हाम्रा सहरलाई सुन्दर बनाएको छ । तर, सहर व्यवस्थित गर्ने निकायले वास्ता गरेनन् । आधुनिकता र सुन्दरता हेर्दा विदेशका सहर धेरै राम्रा छन् । प्राकृतिक र मौलिकतालाई हेर्दा हाम्रा सहर सुन्दर छन् । 

उपत्यकाको मननपर्ने पक्ष के हो ?
यहाँको मननपर्ने पक्ष प्रदूषण र ट्राफिक जाम हो । यी समस्या सहरवासीका मुख्य समस्या हुन् । 

यहाँको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ । सेवा–सुविधाका हिसाबले पनि काठमाडौं राम्रो छ । यहाँको प्राकृतिक र सांस्कृतिक पक्ष धेरै राम्रा छन् । मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणका कारण सहर कुरूप भएको हो । यहाँको समस्या समाधान गर्न सरकार प्रतिबद्ध देखिएको छैन । यो दुःखको कुरा हो । 

काठमाडौंनजिकै घुम्न जानुपर्‍यो भने ? 
गोदावरी, धुलिखेल, नगरकोट, ककनी लगायत ठाउँ मलाई राम्रो लाग्छ । समय मिल्यो भने साथीभाइसँग यी ठाउँ घुम्न निस्कन्छु । 

यहाँको मनपर्ने खानेकुरा के हो ?
मलाई छोइला र नेवारी खाजाका सबैखाले परिकार मनपर्छ । कहिलेकाहीँ खान्छु । 

मन भएर पनि घुम्न नपाएको सहर ?
विदेशी सहरमध्ये मलाई फ्रान्सको पेरिस घुम्न मन छ । देशभित्रै  लुक्ला र नाम्चेबजार घुम्ने मन छ । 

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ३० आश्विन २०७४ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App