coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कम्युनिस्ट अधिनायकवाद रोक्न काँग्रेस–लोकतान्त्रिक फोरम एकता

काठमाडौं— एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्।

आइतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार आयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे । सहमतिपत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझ मजबुत बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ । संविधानलाई सर्वस्वीकार्य बनाउने कार्य अझै बाँकी रहेकाले यसतर्फ प्रतिबद्घ र क्रियाशील रहने संकल्प पनि सहमतिपत्रमा गरिएको छ। 

संविधान निर्माण क्रममा २०७२ जेठ २५ गते दलहरूबीच भएको १६ बुँदे सहमतिमा पनि संविधानलाई थप स्वीकार्य बनाउने आधार प्रदान गरिएको कुरालाई सहमतिपत्रमा स्मरण गरिएको छ । थारु, मधेसी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम र सीमान्तकृत समुदायलगायतको हक, अधिकारलाई आगामी दिनमा संविधान संशोधन प्रक्रियाबाट पूरा गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा गरिएको छ।

‘नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस सदा झैं प्रतिबद्ध छ,’ सहमतिपत्रमा लेखिएको छ, ‘यस प्रतिबद्धतालाई मूर्तरुप दिन हामी दुवै दलले संविधान संशोधन प्रयास व्यवस्थापिका संसद्मा ग¥यौं । संशोधन हुन सकेन, आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेवारी हो।’

लोकतान्त्रिक संस्थाहरूलाई अझै सबल बनाउँदै मुलुकलाई समृद्धितर्फ अघि बढाउने प्रतिबद्धता सहमतिपत्रमा छ । त्यस्तै, दुई दलबीच थरुहट र मधेस आन्दोलन क्रममा विभिन्न निर्दोष व्यक्तिमाथि लगाइएको राजनीतिक मुद्दा फिर्ता लिने सहमति पनि छ।

पार्टी एकीकरणपत्रमा आइतबार हस्ताक्षरपछि दुवै दलले निर्वाचन आयोगमा संयुक्तरुपमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गच्छदार पक्षका आधा दर्जन नेता नाम केन्द्रीय संसद्को समानुपातिक सूचीमा समेटिएको स्रोतको दाबी छ । त्यस्तै, प्रत्यक्षतर्फ पनि गच्छदार पक्षलाई ६ सिट दिने सहमति भएको नेताले बताएका छन् । तर, दुई दलीय सहमतिमा यी विषय उल्लेख छैनन्।

मंसिर १० र २१ गते हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनपछि दुई पार्टीको सांगठनिक संरचनालाई आपसी सहमतिमा केन्द्रदेखि गाउँसम्म समायोजन गर्दै जाने सहमति भएको छ । एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ÷भगिनी संस्थाका संरचना एवं सदस्यको यथोचित समायोजन गरिने सहमतिपत्रमा लेखिएको छ। 

गच्छदारलाई भने पार्टी पदाधिकारीको जिम्मेवारी दिने आन्तरिक सहमति भएको स्रोतको दाबी छ । उनलाई महामन्त्री वा उपसभापतिमध्ये एक दिने समझदारी बनेको दाबी गर्दै स्रोतले भन्यो, ‘महासमितिबाट उपसभापतिका पद संख्या थप भए उपसभापतिकै जिम्मेवारी पाउनुहुन्छ होइन भने सभापतिले मनोनित गर्न बाँकी  महामन्त्री उहाँका लागि सुरक्षित छ।’

पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सबै नेतालाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए । पार्टी एकता गरेकोमा गच्छदारलाई धन्यवाद दिँदै देउवाले कांग्रेसलाई बलियो बनाउन लाग्न आग्रह गरे । ‘उहाँ र अन्य साथीले धेरै मेहेनत गरेर बलियो कांग्रेस बनाउनुपर्छ,’ देउवाले भने, ‘मलाई धेरै भन्नु छैन, विजय हाम्रा नेता हुनुहुन्थ्यो, भोलि पनि नेता हुनुहुन्छ।’ 

एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिस्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेका बेला फोरम लोकतान्त्रिकसँगको एकीकरण सकारात्मक रहेको दाबी गरे । फोरम लोकतान्त्रिकसँगको एकीकरणले परदेश गएको छोरा साँझ घर आइपुग्दा परिवारमा खुसी छाएजस्तै बताउँदै पौडेलले भने, ‘कसैले मुलुकमा अस्थिरता निम्त्याउन आँटे लोकतान्त्रिक शक्ति जुरमुराउँछन् त्यसैको परिणाम हो यो एकीकरण।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र लोकतन्त्रको जरो मर्न नदिन कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्दै पौडेलले भने, ‘लोकतन्त्र जोगाउँदै मुलुकलाई समृद्धितर्फ अघि बढाउन हामी सबै एकताबद्ध र बिनाभेदभाव अघि बढ्नुपर्छ।’ कांग्रेसमा कुनै पनि नेताकार्यकर्तामाथि विभेद र अन्याय नहुने उल्लेख गर्दै पौडेलले भने, ‘अब कांग्रेसमा कसैप्रति भेदभाव हुने छैन । हामी मिलेर काम गर्नेछौं र राष्ट्रिय एकता, लोकतन्त्र र समृद्ध राष्ट्र निर्माणे अभियानलाई सार्थक बनाउँछौं।’

कार्यक्रममा गच्छदारले लोकतान्त्रिक गणतन्त्रसहितको परिर्वतनलाई संस्थागत गर्न कांग्रेससँग एकीकरण गरेको बताए । ‘वाम एकताबाट लोकतन्त्र रहने कि नरहने भन्ने भयो,’ उनले भने, ‘माओवादी र एमालेले दुईतिहाइ बहुमत ल्याएर जनवादी संविधान बनाउने घोषणा गरेपछि बाध्य भएर हामीले एकता गर्नुपरेको हो । लोकतन्त्र र प्रजातन्त्र रक्षाका लागि कांग्रेससँग प्रतिस्पर्धा होइन मिल्नुपर्छ भन्ने निष्कर्षमा म पुगें । यसले मेचीदेखि महाकाली हुँदै हिमाल पहाड सबैतिर उत्साह थपेको छ।’ 

उनले आगामी सरकार पनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बनाउने दाबी गर्दै आत्मविश्वासका साथ कार्यकर्तालाई  चुनावी तयारीमा जुट्न निर्देशन दिए । उनले वाम पार्टीले दुईतिहाइ होइन बहुमत पनि ल्याउन असम्भव रहेको दाबी गरे। 

पहिलो संविधानसभाको निर्वाचन मुखमा कांग्रेसबाट अलग्एिको प्रसंग उल्लेख गर्दै एकतासभामा केही भावुक बनेका गच्छदारले आफूले १६ बुँदे सहमति गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए ।  संविधान निर्माणका लागि भूमिका निर्वाह गर्दा आफूलाई कतिपयले गद्दार, मधेस विरोधी र कांग्रेस पिछलग्गु भनेको सुनाउँदै उनले भने, ‘आज सबैले संविधान स्वीकारेर निर्वाचनमा सहभागी भएका छन् । देश र नेपाली जनताले जितेका छन्।’ 

‘जय नेपाल’ बाट भाषण सुरु गरेका गच्छदार कांग्रेसबाट बाहिरिँदाको समय सम्झदै भावुक बनेपछि मञ्चमा रहेका कांग्रेस नेता पनि भावुक बने । उनले आफ्नो नसानसामा कांग्रेसी रगत बगेको सुनाए। समानुपातिक बन्दसूची बुझाउनुपरेकाले आइतबार एकता घोषणा हुन नसकेपछि सोमबार बिहान ११ बजेका लागि सारिएको कार्यक्रम झन्डै एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको थियो । कांग्रेस सभापति देउवाभन्दा केही समयअघि कार्यक्रम हलमा प्रवेश् गरेका कांग्रेस नेता तथा कार्यकर्ताले गच्छदारलाई ताली बजाएर स्वागत गरेका थिए । एकता घोषणा कार्यक्रम सञ्चालन गर्दै कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले कम्युनिस्ट ध्रुवीकरण, जातीय विद्वेष, क्षेत्रीय भावना र नेपाली–नेपालीबीच मनोमालिन्य ल्याउन हुने चलखेल रोक्नु नै कांग्रेसको जिम्मेदारी रहेको बताए। 

त्यसलगतै दुई दलका नेताले सहमतिपत्र सार्वजनिक गरेका थिए । दुई नेताले हात नमिलाएको देखेपछि आचार्यले हात मिलाउन आग्रह गरे । त्यसपछि देउवा र गच्छदारले हात मिलाए । कांग्रेस नेता पौडेलले बीचमा बसेर साथ दिए । त्यसपछि फोरम लोकतान्त्रिकका नेता जितेन्द्रनारायण देवले एकता सहमतिपत्र वाचन गरेका थिए ।

गच्छदारले सम्बोधन गरिहँदा कार्यक्रम हलमा प्रवेश गरेका कांग्रेस नेता विमलेन्द्र निधिलाई अर्का नेता दिपक गिरीले बस्ने ठाउँ छाडिदिएका थिए । त्यसलगतै नेता आचार्यले उनलाई उठाएर पार्टी नेताहरूसँगै राखेका थिए । गच्छदारले सम्बोधन सकेपछि निधिसँग अंकमाल गरी गला मिलाउँदा हल तालीले गुन्जयमान भएको थियो । गच्छदार कांग्रेस प्रवेशसँगै उनी र निधिबीचको सम्बन्धलाई निकै चासोका साथ हेरिएको छ। 

पार्टी एकीकरण कार्यक्रममा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत रहेका गुन्डा नाइके गणेश लामा मञ्चमा नै उपस्थित थिए । 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App