coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

एनआरएन मेला

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपालीहरूको साझा संस्थाको आठौँ विश्व सम्मेलन चलिरहेको छ । प्रवासमा रहेका नेपालीहरूलाई आपत्–विपद्मा सहयोग गर्ने, भाइचाराको विकास गर्ने र प्रवासमा आर्जेको धन राष्ट्रको आर्थिक विकासमा लगानी गर्ने यसका प्रमुख उद्देश्य हुन् । एनआरएनका संस्थापक नेतृत्वहरूले यिनै कुरामा जोड दिएर काम गर्दैआएका पनि थिए  । जब यसको सञ्जाल फैलिँदै गयो, बिस्तारै आफ्नो कुनै देखावटी प्रतिष्ठा नभएकाहरूले एनआरएनलाई खेलमैदान बनाउन थाले । हालसम्म ७३ भन्दा बढी राष्ट्रमा फैलिसकेको यो संस्थाप्रति वास्तवमै बुद्धिजीवी वर्गको सहभागिता कम हुन थालेकामा नेतृत्व वर्गले स्वीकार्नुपर्ने हुन्छ ।

सर्वसाधारणले अनुमान लगाएजस्तै पैसा हुनेहरूको मात्र एनआरएन हो कि पैसा नहुनेले पनि यसमा सहभागिता जनाउन र भूमिका निर्वाह गर्न सक्छन् ? राष्ट्रको अस्थिरता कायमै रहेका बेला एनआरएनको चहलपहल सर्वसाधारणका लागि कौवालाई बेल पाक्यो भएको महसुस हुन्छ । एनआरएनएको आफ्नै आचारसंहिता छ, तर यो सामाजिक संस्था भनेर स्थापना भए पनि अब राजनीतिक संस्थाजस्तो बनेको छ । विगत केही वर्षदेखि कतिपय देशमा यसभित्र राजनीतिक चलखेल बढी भएको छ । राजनीतिक पार्टीहरूले यसभित्र राजनीतिक रंग पोतेका छन्। राम्रो व्यक्तिलाई नेतृत्वमा लिएर आउनेभन्दा राजनीतिक कार्यकर्तालाई लिएर आउने परिपाटी देखिएको छ । यसले भविष्यमा एनआरएनको राम्रो समाचार दिनेछैन । यो तीतो यथार्थलाई मनन गर्दा हुन्छ । एनआरएनका लडाकु र अग्रजहरूले कस्तो व्यक्तिले नेतृत्व लिन सक्छ भन्ने कुरामा उसको चारित्रिक योग्यता एवं दक्षतालाई (आर्थिक पक्ष मात्र नजोडेर) प्राथमिकतामा राख्नुपर्छ ।

राजनीतिक आडमा आफ्नो दक्षता प्रस्तुत गर्नेलाई एनआरएनमा कुन स्थान दिने ? आफू वरिष्ठ पदमा रहँदा साधारण सदस्य पनि नरहेको आफन्तलाई सदस्य मनोनित गरेको समाचार बाहिर आए । यी सबै कुरामा ख्याल गरेर संस्थाको गरिमा कायम नराख्ने हो भने भोलिका दिनमा एनआरएनको साख नगिर्ला भन्न सकिन्न । महिला नेतृत्व दुई–चारजना बाहेक छैनन् । एक त महिलाहरूलाई यसप्रति चासो त्यति धेरै भएन । अर्को, इच्छा भएका महिलाहरूले ससम्मान यसमा आफ्नो सहभागिता जनाउन पाएका छैनन् । पुरुष भागबन्डामै सम्मेलन सकिन्छ  ।

प्रत्येक राष्ट्रबाट एकएक जना महिला प्रतिनिधि चुन्ने प्रचलन भएकाले मात्र महिला सहभागिता देखिन आउँछ, अन्यथा त्यसमा पनि पुरुषकै सहभागिता हुने थियो होला । फेरि चुनिएर गए पनि सबैले काम गर्नुपर्छ भन्ने छैन । यो स्वयंसेवाको काम हो । आखिर मानिससँग जे छ त्यही देखाउँछ, बाहिरी पद–प्रतिष्ठा र सम्पन्नताले भित्रको सम्पन्नता प्राप्त भएको छ कि छैन, त्यो महत्वपूर्ण पक्ष हो । आफू, परिवार, समाज र राष्ट्रको ख्याल गर्दै परमसन्तोषको जीवन जिउने गरी सामाजिक सेवा गर्न सकिन्छ । सामाजिक सेवा पनि मोहको खेल हुन पुग्यो भने हात लाग्यो शून्य हुन्छ । वास्तविक सेवामूलक कार्य भइरहेको छ कि त्यसका पछाडि स्वार्थ लुकेको छ, आफ्नो ब्रह्मलाई थाहा हुन्छ । बाहिरको देखावटीले अन्ततः अपूर्णता नै हात लाग्छ । फूल फक्रिन्छ, सुवास फैलिन्छ, सबैले ग्रहण गर्छन् र अनुभव गर्छन् तर फूलले कहिल्यै मैले सुवास छरेको छु है भनेर घमण्ड गर्दैन ।

प्रकाशित: ३१ आश्विन २०७४ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App