coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

कांग्रेस मार्केटिङ जान्दैन

गएको स्थानीय चुनावमा नेपाली कांग्रेसले अपेक्षाकृत सिट ल्याएन । यसको पूर्ति गर्न र कांग्रेस मुलुकको सबैभन्दा जेठो, ठूलो र ऐतिहासिक पार्टी भएको सन्देश दिन पनि प्रदेश सभा र संघीय संसद्को चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुन आवश्यक छ । पहिलो त हुने, तर कसरी ? यही चालाले त असम्भव छ ।
वाम गठबन्धनबाट लोकतान्त्रिक पक्षधर अत्तालिन आवश्यक छैन । यसले बरू कांग्रेसलाई फाइदा नै पु¥याएको छ। यसले कांग्रेसको आन्तरिक विवाद न्यूनीकरण भएको छ भने लोकतान्त्रिक पक्षहरूबीच  एकता बढाएको छ ।
नेपाली कांग्रेस यो मुलुकका लागि सबैभन्दा बढी काम गरेको पार्टी हो । माओवादीलाई कांग्रेसले मूल धारमा ल्याएको हो । कांग्रेसको नेतृत्वमा मुलुकमा स्थायी शान्ति कायम भएको हो । कांग्रेसकै नेतृत्वमा मुलुकमा गणतन्त्र आयो, संविधान आयो, स्थानीय तहको चुनाव भयो । यी सब कुरा हामीले मार्केटिङ गर्न नसकेर पछि प¥यौँ ।   
काम कम गरे पनि जनताको माझमा धेरै काम गरेजस्तो देखाउन अरू पार्टीका कार्यकर्ताहरू सफल भए । गर्दै नगरेको काम पनि हामीले ग¥यौँ भनेर उनीहरू जनताको भोट तान्न सफल भए । अब प्रदेश सभा र केन्द्रीय संसद्को चुनावअघि नै पार्टी नेतृत्वले आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने, मर्यादित बनाउने र अनुशासित बनाउने मात्र नभई, पार्टीले गरेका काम कसरी जनतासँग लैजाने भन्नेबारे प्रशिक्षित गर्न आवश्यक छ ।
वास्तविक राष्ट्रवादी पार्टी एमाले होइन, कांग्रेस नै हो । बिपी कोइराला राजासँग मिलेर भए पनि नेपाल जोगाउनुपर्छ भनी भारतबाट स्वदेश फर्कनुभएको हो । त्यतिखेर नेपाल फर्कनु भनेको आफ्नो जीवन फाँसीमा चढाउनसमेत तयार हुनु थियो । त्यो जोखिम मोलेर उहाँ नेपाल फर्कनुभयो । नेपालले दुवै छिमेकी देश भारत र चीनसँग समान सम्बन्ध राखेपछि मात्र नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने मान्यता थियो, बिपीको । कांग्रेस सबैभन्दा बढी राष्ट्रबादी पार्टी हो । राष्ट्रलाई घाटा हुने काम कांग्रेसले कहिल्यै गरेको छैन ।
कांग्रेसका कार्यकर्ताहरूमा अहिले एकअर्को समाप्त भएपछि मात्र आफू नेतृत्वमा जान सकिन्छ भन्ने सोच विकास भएको देखिन्छ । यो सोचले पार्टीभित्र गुट–उपगुट सिर्जना गर्ने र एकले अर्कोको राजनीतिक जीवन समाप्त गर्न खोज्ने मानसिकताको विकास हुन्छ । पार्टीभित्र आफूूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने प्रवृत्तिले निश्चय नै पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा जन्माउँछ ।  त्यसैले पार्टीमा अनुशासनको डन्डा चलाउन आवश्यक छ । नेतृत्वले पार्टी हित विपरीत जानेलाई अनुशासनको कारबाही गर्न हिचकिचाउने हो भने यसको क्षति कांग्रेसले आगामी चुनावमा पनि व्यहोर्नुपर्छ ।
कांग्रेसलाई अनुशासित र मर्यादित पार्टी बनाउन सके आगामी चुनावमा कांग्रेस पहिलो पार्टी हुने निश्चित छ । मुलुकमा अब आर्थिक क्रान्ति आवश्यक छ । कांग्रेसले लिएको आर्थिक नीतिबाट नै यो सम्भव छ । कम्युनिज्म सिद्धान्तले देशमा आर्थिक प्रगति ल्याउँदैन । जसरी राजनीतिक क्रान्तिको नेतृत्व कांग्रेसले ग¥यो, त्यसरी नै आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ ।
देशमा आर्थिक कायापलट ल्याउन अझै पनि सशक्त र प्रभावकारी नेतृत्व मुलुकलाई आवश्यक छ, त्यो काम कांग्रेसले गर्न सक्छ । त्यसका लागि पनि आगामी चुनावमा कांग्रेस पहिलो पार्टी हुन आवश्यक छ ।
सांसद, नेपाली कांग्रेस

 

प्रकाशित: ३१ आश्विन २०७४ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App