८ वैशाख २०८१ शनिबार
राजनीति

सधैैका विजेता नै टिकटविहीन

झापा- निर्वाचन क्षेत्रमा भएको परिवर्तन र दलहरुबीच बन्दै गरेको गठबन्धनले धेरै नेतालाई आउँदो चुनावमा टिकटविहीन बनाइदिएको छ। केही क्षेत्रमा त विगतमा टिकट लिनका लागि दौडमा सामेल हुने नेताहरु यसपटक त्याग्नका लागि प्रतिष्पर्धा गर्ने अनौठो दृश्य पनि देखापरेको छ।

झापामा काँग्रेस र एमालेबाट उम्मेद्वार बनेर विगतका हरेक निर्वाचनमा जित्दै आएकाहरु नै यसटक चुनावी दौडबाट बाहिरिएका छन्। यही अवस्था  माओवादी केन्द्रमा पनि छ । २०६४ को पहिलो संविधानसभा चुनाव जितेका धेरै अनुहारले यसपटक टिकट नपाउने निश्चित भएको छ। वाम गठन्धनका क्रममा माओवादी केन्द्रले झापामा दुई सिट दाबी गरिरहेको छ । तर, एमाले एक सिट मात्रै दिने दाउमा छ । यस्तो बेलामा झापा ४ र २ मध्ये एउटा लिने माओवादी योजना छ । यदि २ नम्बर क्षेत्र पाए राम कार्की र पाँच पाए केन्द्रीय सदस्य झलकसिंह दर्लामीलाई उम्मेद्वार बनाउने माओवादी योजना छ।

यसपटकको चुनावदेखि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष भीडन्तबाट आराम लिने भएका छन्। काँग्रेस राजनीतिमा प्रभावशाली मानिने नेता सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा –३ राप्रपालाई छाड्ने निश्चित  भएको छ। काँग्रेस र राप्रपाबीच बनेको चुनावी गठबन्धनका क्रममा सिटौलाको पुरानो क्षेत्र राप्रपालाई दिने सहमति भएको ती दुवै दलका उच्च स्रोतले जनाएका छन्। यो क्षेत्रबाट यसपटक काँग्रेसले राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई समर्थन गर्दैछ।  सिटौला निकट काँग्रेस सांसद सुधिर शिवाकोटीले भने सिटौला प्रत्यक्ष चुनाव लड्न तयार रहेको बताए । तर, उनले पनि ‘गठबन्धनका क्रममा हुने सहमति पालना’ हुने भन्दै घुमाउरो रुपमा सहमति भइसकेको संकेत गरेका छन्।

२०४८ को आम निर्वाचनमा हारेर २०५० को  उपनिर्वाचन जितेका सिटौलाले २०५१ को मध्यावधि निर्वाचनमा पराजय व्यहोरेका थिए। त्यसपछि २०५६ मा जितेका उनी २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीसँग फेरि पराजित भए। २०७० को दोस्रो संविधानसभा चुनाव जितेका सिटौलालाई त्यसबेला राप्रपाका राजेन्द्र लिङदेनले कडा टक्कर दिएका थिए। यसपटकको स्थानीय चुनावमा सिटौलाको पकड क्षेत्रमा काँग्रेस नराम्ररी पराजित बनेको थियो । उनको आधार क्षेत्र भद्रपुरमा एमाले, कचनकवल र  हल्दिबारीमा राप्रपा विजेता बनेको थियो । अन्यत्र हार मात्रै हात परेका बेला वामपन्थी र काँग्रेस बाहुल्य झापाका तीन ठाउँमा पार्टीलाई  स्थानीय चुनाव जिताएर प्रशंसित राप्रपा नेता लिङदेनका लागि राप्रपाले काँग्रेससँग उनकै क्षेत्रलाई गठबन्धनको प्राथमिक बटमलाइन बनाएको थियो । ‘स्थानीय चुनावमा सहेको हार, वाम गठबन्धन तथा विगतदेखि नै आफ्नो क्षेत्रमा केही नगरेको आरोपका बीच सिटौलाले समानुपातिकतर्फको सुरक्षित बाटो रोजेका हुन्’ भद्रपुर काँग्रेसका एक नेताले भने।

विगतका सबै चुनाव जित्दै आएका एमालेका तीन जना नेताहरु पनि यसपटक चुनावी दौडबाट बाहिर परेका छन्। पञ्चायतकालमै जनपक्षीय उम्मेद्वार बनेर गौरादहको अध्यक्ष बनेका, २०४९ र ५४ को स्थानीय चुनाव जितेका र २०६४ मा जिल्लाभरीमा एक मात्र सिट एमालेले जित्दाका विजेता दीपक कार्की २०७० का पनि विजेता हुन्। तर, निरन्तरका जनप्रतिनिधि उनी  यसपटक टिकटविहीन बनेका छन्। निर्वाचन क्षेत्रमा भएको अदलबदलले उनले चुनाव लड्दै आएको क्षेत्र पार्टी अध्यक्ष केपी ओलीकै क्षेत्रमा पर्यो। सात क्षेत्र भएको झापा पाँच क्षेत्रमा समेटिंदा कार्कीको झापा ६ ‘गायब’ भयो । ‘अध्यक्ष स्वयमले चुनाव लड्ने भएपछि उहाँ स्वाभाविक रुपमा दौडबाहिर रहनुभयो ’, एमाले कार्यकर्ता गोपाल सुवेदीले भने ‘त्यसैले केन्द्रीय संसदमा उहाँको नाम नै सिफारिश भएन ।’

२०५४ मा मेचीनगरको मेयर र २०७० मा काँग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई हराएर संविधानसभामा विजेता बनेका झापा १ का रबिन कोइराला पनि चुनावी दौडभन्दा बाहिरै रहे। उनको क्षेत्रबाट एमालेले गोपाल बुढाथोकीको नाम सिफारिश गरेको छ । स्थानीय चुनावमा मेचीनगरको प्रमुख पदमा एमालेका विष्णु प्रसाई्ले हारेपछि कोइरालालाई ओली समूहले अन्तरघात गरेको आरोप लगाउँदै आएको छ। माधव नेपाल पक्षका कोइराला उम्मेद्वार बने हराइदिने खुला घोषणा ओली पक्षका केही नेताले गरेकै कारण उनी पछि हटेको एमाले स्रोतले जनाएको छ। पहिला खुदुनाबारी गाविसको अध्यक्ष जितेर २०७० मा काँग्रेस झापा सभापति उद्धव थापालाई फराकिलो अन्तरले हराएका एमालेकै प्रेम गिरीले पनि यसपटक टिकट नपाउने भएका छन् । हाल झापा २ मा परेको उनको क्षेत्रबाट पवित्रा खरेलको  मात्रै नाम सिफारिश भएको छ ।

२०६४ को पहिलो संविधानसभा चुनावमा जिल्लामा काँग्रेसले एक मात्र क्षेत्रमा  जित्दाका विजेता केशवकुमार बुढाथोकी पनि चुनाव नलड्ने निश्चित जस्तै छ । यसपटक साविकको क्षेत्रभन्दा  बाहिरबाट उनको  नाम सिफारिश भएको छ । उनले चुनाव जित्दै आएको क्षेत्र ९हाल झापा ४० बाट काँग्रेसले देउकुमार थेवेको नाम सिफारिश गरेको छ । एमाले अध्यक्ष केपी ओलीको क्षेत्रबाट नाम सिफारिश भएका उनी चुनाव नलड्ने बताइरहेका छन् । त्यस्तै झापा २ बाट पछिल्लो चुनाव जितेका सुधिर शिवाकोटीले पनि चुनाव लड्ने–नलड्ने टुंगो छैन । झापा २ वामपन्थीहरुको बलियो किल्ला मानिँदै आएको छ । यसले सिफारिशमा परेका काँग्रेस उम्मेद्वारहरु आफूभन्दा अर्कोलाई उठन आग्रह गरिरहेको पार्टी स्रोतले बताएको छ । सांसद शिवाकोटीले पनि आत्मविश्वासपूर्वक आफू उम्मेद्वार बन्ने बताएनन् । ‘हामीमध्ये जो बने पनि सघाएर जाने हो’, उनले भने । तर, काँग्रेसभित्रैको बुझाई भने बेग्लै छ ।  ‘पहिला टिकट लिन मरिहत्ते हुन्थ्यो अहिले झापा २ मा काँग्रेसमा टिकट त्याग्न मरिहत्ते छ’ काँग्रेस झापाका एक पदाधिकारीले भने । यहाँबाट शिवाकोटीसहित जिल्ला सभापति उद्धव थापा, हाल कृषि राज्यमन्त्री रहेकी सरिता प्रसाई र शिक्षाकर्मी राजेश खड्काको नाम सिफारिशमा छ ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App