coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुइटा चिनियाँ जहाजलाई एक क्याप्टेन

काठमाडौं – चिनियाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ती जहाज अब साँँच्चिकै घाँडो भएका छन् ।
निगमले १७ सिट क्षमताका दुईथान चिनियाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिएपछि जहाज थन्किने निश्चित भएको छ । त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिएका थिए भने अर्का एक वरिष्ठ क्याप्टेन नृपेन्द्र भट्टराईलाई निगम व्यवस्थापनले बर्खास्त गरेको थियो ।
निगमका एक उच्च अधिकारीका अनुसार वरिष्ठ क्याप्टेनहरू सञ्जयबादे श्रेष्ठ र अनिशमान शाक्यले ‘१७ सिटे चिनियाँ जहाज ‘वाई१२–ई’ को क्षमता चित्त नबुझेको र अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाज उडाउने बाटो पनि नखुलेको’ भन्दै राजीनामा दिएका छन् । उनीहरूले राजीनामापत्रमा अन्य कारण उल्लेख गरे पनि सहकर्मीहरूसँग जहाजको क्षमता (पर्फर्मेन्स) चित्त नबुझेको र ठूला जहाज उडाउने बाटो व्यवस्थापनले नखोलिदिएको बताउँदै आएका छन् ।
‘वरिष्ठ क्याप्टेन श्रेष्ठ र शाक्यले राजीनामा दिएका छन्,’ ती अधिकारीले सोमबार नागरिकसँग भने, ‘उनीहरूको राजीनामा स्वीकृत भने भइसकेको छैन । निगममा जति समय काम ग¥यो, त्यति नै समय र आम्दानी गुमिरहेको उनीहरूको भनाइ छ । ’
वरिष्ठ क्याप्टेन श्रेष्ठ २० वर्षदेखि जहाज उडाइरहेका छन् । उनले लुम्बिनी एयरवेजबाट जहाज उडाउन थालेका थिए । त्यसपछि बुद्ध एयर, अग्नि एयर, चिनियाँ लगानीको नेपाली वायुसेवा फ्लाइङ ड्रागन एयर हुँदै पछिल्लो पटक वायुसेवा निगम आइपुगेका थिए । निगममा चार वर्षदेखि जहाज उडाइरहेका थिए । अग्नि एयरबाट उडान सुरु गरेको अर्का क्याप्टेन शाक्यले सिम्रिक एयर हुँदै तीन वर्षदेखि निगममा जहाज उडाउँदै आएका थिए ।
अब ती दुई चिनियाँ जहाज उडाउन निगमसँग एकजना मात्र क्याप्टेन बाँकी छन्– उद्धव घिमिरे । एकमात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउन क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ । ती जहाज उडाउन ६ जना को–पाइलट छन् । क्याप्टेनले कमान्ड नगरी को–पाइलटले जहाज उडाउन पाउँदैनन् ।
‘अब क्याप्टेन घिमिरे एक्लैले दुई जहाज उडाउन सम्भव छैन,’ सम्बद्ध अधिकारीले भने, ‘अब एउटा जहाज उड्दा अर्को थन्किन्छ भने प्रत्येक साताको एक दिन दुइटै जहाज विमानस्थलमै थन्किन्छन् किनभने घिमिरे सातामा एक दिन बिदा बस्नैपर्ने नियम छ ।’
भएका पाइलटले धमाधम छाडिरहँदा निगम व्यवस्थापन भने बाँकी दुईथान वाई१२–ई जहाज चीनबाट ल्याउने तयारीमा जुटेको छ । केही दिनअघि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले चाँडै बाँकी दुइटा वाई१२–ई काठमाडौं ल्याउने सार्वजनिक गरिसकेका छन् ।
‘भएकै जहाज उडाउन पाइलट नभएका बेला फेरि दुइटा ल्याएपछि कसरी उडाउने भन्ने योजना निगमसँग छैन,’ सम्बद्ध अधिकारीले भने, ‘यसमा महाप्रबन्धक कंसाकारको कुनै चासो छैन । उहाँ ठूला जहाज थपेर बेलायत, जापान, अस्ट्रेलिया उडाउने ध्याउन्नमा हुनुहुन्छ तर आन्तरिक सेवा खर्लप्पै डुबेको देख्नुहुन्नँ ।’
निगम व्यवस्थापनले दुई वाई१२–ई जहाजबाट सातामा २८ उडान गर्ने तालिका बनाएको छ । तर, ती सबै उडान एउटा क्याप्टेनको भरमा उडाउनु असम्भव छ । यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन् । एउटा जहाजले दुई उडान गर्ने छ । अब एउटा क्याप्टेनले एकैचोटि चार उडान गर्ने असम्भव तालिका बनाइएको छ । एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एकथान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।


 

प्रकाशित: ३१ आश्विन २०७४ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App