डेनमार्ककाे राजधानी काेपनहेगनमा एनअारएन युराेप क्षेत्रकाे बैठक जारी छ। एनअारएनका लगभग सबै केन्द्रीय पदाधिकारी सहभागी बैठकमा सहभागी हुन २७ वटा मुलुकबाट एनअारएन नेताहरू यहाँ अाइपुगेका छन्। नागरिकन्युजले उनीहरूसँग कुराकानी गरेर तयार पारेकाे सामग्री:
भवन भट्ट, उपाध्यक्ष
पर्यटन प्रवद्र्धन नेपाल भन्ने कमिटीले अतिथिदेवो भवः भन्ने अभियान छ। म पर्यटन प्रवरद्धन कमिटीमा रहेका कारण त्यसकाे समीक्षा गर्छु। तीन मनिंहनाअघि पर्यटन बोर्डसँग एमओयु भएको छ। पर्यटन भनेको नेपाललाई तत्काल आर्थिक रुपान्तरण गर्न सकिने सम्भावना भएको क्षेत्र हो भने यहाँ कुरा उठेको छ। जापानमा वर्षेनी ८० लाखमा रहेको पर्यटन आगमन अहिले प्रवद्र्धनका कारण वृद्धि भएर २ करोड पुगेको छ। कारोबार बढेर १० बिलियन पुगेको छ। झोले पर्यटक, यस्तो पर्यटक भनेर नभनौं आएका पर्यटकलाई राम्रो आतिथ्य दिन सकौं। मन्त्रालयबाट प्रत्येक देशबाट गुडविल एम्बेसडर तय गर्ने र उसले आफू बसेको देशबाट पर्यटन प्रवद्र्धनको सम्पर्क सेतुको काम गर्ने भन्ने कुरा उठेको छ।
नेपालमा २०१७ सालपछि १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सघाउन काम गर्ने विषय उठेको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीले तीन साथी घर पठाऊ अभियान चलाउने हो भने पर्यटन भित्र्याउने लक्ष्य सफल हुन सक्छ। पर्यटन बोर्डसँगै कुरा गरेर हामीले होम्ली नेपाली भन्ने नारा तय गरेका छौं।
कुमार पन्त, उपाध्यक्ष
क्षेत्रीय बैठकहरुमा मुख्यत क्षेत्रीय मुद्दामा छलफल हुने हो। यो पटकको युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीको क्षमता अभिवृद्धिको कुरा उठेको छ। कसरी यो कुरालाई व्यवहारमा लैजाने भनेर हामी छलफल गरिरहेका छौं। यो बैठक नेपाली नेपालीबीच चिनजान र सौहार्दता बढाउने अवसर पनि हो। बैठकमा मुख्य तीन विषय उठेका छन्ः भूकम्पपछिको पुनःनिर्माण, नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवद्र्धन। नेपालमा यी विषय नै अहिले सबैभन्दा महत्वपूर्ण पनि हुन्। त्यसैले हामी यहाँ यही विषय केन्द्रित रहेर के गर्न सकिन्छ भनेर गम्भीर छलफलमा छौं।
भूकम्पपछिको पुनःनिर्माणमा १ हजार घर हामीले निर्माण गर्ने भन्ने हो। सरकारले तोकेको मापदण्डमा घरहरु निर्माण गर्दा लागत केही बढ्ने स्थिति देखिएको छ। युरोप क्षेत्रका २७ एनसीसी छन्। उनीहरुले घर निर्माणमा कति योगदान पुर्याउन सक्छन् भनेर हामी छलफलमा छौं।
एकराज गिरी, आइसीसी स्पेन
एनआरएनमा ७३ सदस्य छन् ती मध्ये २७ आइसीसी युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। यो हिसाबले युरोप क्षेत्रीय बैठक समग्रमा एनआरएनकै लागि महत्वको छ। यो क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या, नेपालमा गर्न सकिने कामलाई लिएर छलफल भएका छन्। क्षेत्रीय बैठकले गर्ने भनेकै एनआरएन आन्दोलनलाई अघि बढाउने एउटा महत्वपूर्ण एकीकृत पहल गर्ने हो। क्षेत्रीय बैठकले उठाएका कतिपय विषय कार्यान्वयनमा जाँदा नेपालीहरु लाभान्वित भएका धेरै उदाहरण छन्। यो बैठक भनेको युरोपभरि छरिएर रहेका नेपालीलाई भेट गराउने एउटा साझा फोरम पनि हो।
सपिला राजभण्डारी, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला संयोजक
युरोप क्षेत्रीय बैठकसँगै महिला सम्मेलन पनि भइरहेको छ। यसको उद्देश्य के हो भने युरोप क्षेत्रका महिलाहरुको सहभागिता बढाउने, यहाँ बसोबास गर्ने महिलाहरुलाई आर्थिक रुपमा सवल पार्ने र नेपालका महिलाहरुलाई सहयोग गर्ने मार्ग खोज्ने रहेका छन्। युरोपमा बसोबास गर्ने महिलाहरु पनि सबै व्यवसायमा संलगन छैनन्। किन उनीहरु घरभित्रै सीमित भइरहेका छन्? उनीहरुलाई कसरी सशक्तिकरण गर्ने भन्ने विषय हामीले उठाइरहेका छौं। यो फोरम उनीहरुका लागि हो। उनीहरु बोल्न सकुन्। यहाँ आएर बोल्ने अरु महिलाबाट प्ररेरणा लिन सकुन् भन्ने हाम्रो धेय हो। युरोप आएका सबै महिलाको अवस्था गजबै छ भन्ने होइन त्यसैले उनीहरुलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषय निकै पेचिले बनेको छ। भाषामा समस्या छ। कानुनमा समस्या होला वा अन्य केही कारण हुनसक्छ तिनलाई हामी केलाउने प्रयत्न गर्दैछौं । योसँगै नेपालका महिलाहरुलाई के गर्न सक्छौं भनेर हामीले उद्देश्य सहित एजेन्डा तयार पार्दैछौं। अहिले हामीले वान युरोको प्रोजेक्ट चलाइरहेका छौं। यो सानो चिजले अरु मान्छेको अनुहारमा मुस्कान ल्याउन सकिन्छ भन्ने हो। मुख्य रुपमा अधिवेशन महिलाहरुको आर्थिक सम्वृद्धिमा केन्द्रित छ।
रजनी प्रधान, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला सहसंयोजक
ग्लोबल कन्फरेन्सपछिको यो पहिलो क्षेत्रीय बैठक हो। यसमा युरोप क्षेत्रमा रहेका सबै एनआरएनहरुको जमघट हो। अब के कार्यक्रम ल्याउने? एनआरएनलाई कसरी अघि बढाउने एवं के के काम भएको छ भनेर समीक्षा गर्ने, योजनाबारे छलफल गर्न हामी भेला भएका हौं । चिनजानको मौका पनि भयो। एक जुट भएर हामीले एकै एजेन्डा पारित गरेर हामी अघि बढ्छौं । युरोप क्षेत्रीय बैठकसँगै ७ औं महिला सम्मेलन पनि हो । यो सम्मेलनमा यो दुई वर्षमा काम गरेको प्रतिवेदन पेश हुँदैछ। आगामी एजेन्डा के छ भन्ने विषयमा छलफल गरेर तय गर्दैछौं । नेपालमा भएका महिलाहरुलाई कसरी आत्मनिर्भर बनाउन सहयोग गर्ने र युरोपकै महिलाहरुलाई कसरी आफ्नै खुट्टामा उभिने बनाउने विषयमाथि छलफल गर्दैछौं । खाडी मुलुकमा रहेका महिलाहरुका लागि सुरक्षित घरको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने कुरा उठेको छ।
मुक्षेत्र गुरुङ, अध्यक्ष, वेलायत
युरोप क्षेत्रका मुद्दा र तिनका समाधान खोज्नका लागि यो बैठक महत्वपूर्ण छ। गत साल भूकम्पका कारण हुन नसकेपछि अलिक ग्याप जस्तो भयो। यो बीचमा देखिएका समस्या र मुलुकमा कसरी आर्थिक लगानी लैजाने भन्ने विषय उठेको छ। पुनःनिर्माणको विषय पनि उठेको छ। ग्लोबल तहमा मुद्दा पुग्नुभन्दा अगाडि युरोपभित्रै एकले अर्कोलाई गर्न सक्ने के छ भन्ने कुरा उठाउने यो फोरम हो। यहाँ पोर्चुगलको समस्या उठेको छ। अब निर्णयमा जाँदा पोर्चुगलको कुरा समेटिएला। मानवीय काम कसरी गर्ने, कसरी लगानी नेपाल लैजाने भन्ने विषयमा छलफल भइरहेको छ। परोपकारी कामका लागि कानुनी रुपमा एउटा अलग निकाय बनाउने कुरा उठेको छ। वान एनसीसी वान प्रोजेक्टको परोपकारी कामको कुरा पनि उठेको छ। युरोपेली देशहरुमा अलग अलग च्यारिटी रजिष्टर गर्ने, त्यसले कानुनी च्यानलबाट पैसा उठाउने कुरा उठेको छ। यसलाई निश्चित मापदण्ड तय गरेर अघि बढाउने कुराहरु आएका छन्।
जंगम खड्का, स्वीजरल्याण्ड
यो बैठक युरोप क्षेत्रका आइसीसी, एनसीसी जमघट गर्ने नियमित कार्यक्रम हो । तर अध्यक्ष सहित सबै पदाधिकारी सहभागी हुने हुनाले क्षेत्रीय बैठक भए पनि यसको महत्व बढी नै छ। यो बैठकमा स्पेन र पोर्चुगलमा नेपाली दूतावास खोल्न आग्रह गर्ने काम भएको छ। भूकम्पपछिको पुनःनिर्माण काममा गैरआवासीय नेपालीले घर बनाइदिने भन्ने विषयमा युरोप क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुको योगदान के रहने भन्ने विषय पनि आएको छ। सामुहिक लगानीका कुराहरु उठेका छन्। यो बैठकमा युरोपमा बस्ने नेपालीहरुका आफ्नै समस्याका बारेमा पनि छलफल हुनेछ।
घनश्याम गौतम, डेनमार्क
एनआरएनका क्षेत्रीय समस्या केलाउने र समाधान खोज्न यो बैठक हुने हो। अहिले भइरहेको बैठकका पनि निश्चित त्यस्ता एजेन्डाहरु छन्। समस्या उठाउने, समाधान खोज्ने र नेपालीबीच सौहार्दता फैलाउन यो राम्रो फोरम हो। भूकम्पपछिको पुनःनिर्माणका क्रममा एनआरएनले १ हजार घर बनाउने भन्ने कुरा भएको थियो। त्यो ढिलो भइरहेको विषय यहाँ उठेको छ। किन ढिलो भयो? कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। सबैको माग त्यो काम छिटो हुनुपर्छ भन्ने छ। यहाँ उठेका विषय अमेरिका सम्मेलनमा पेश हुनेछन् र त्यहाँबाट पारित भएपछि ती मुद्दा सबै एनआरएनका हुनेछन्। त्यही भएर पनि अहिले भइरहेको युरोप क्षेत्रको बैठकले ठूलो महत्व राख्छ। एनआरएनमा आएर कोही एक्लो हिरो हुनेभन्दा पनि सबैलाई फाइदा हुने काम होस् भन्ने विषय बैठकमा उठेको छ। एनआरएनले एउटा ठोस योजना अघि सारेर ५—१० वर्षसम्म त्यही योजनालाई कार्यान्वयन गर्न सके त्यो बढी प्रभावकारी हुने थियो।
प्रस्तुति: कृष्ण ढुंगाना, चिरन शर्मा, शशि ढकाल
प्रकाशित: १६ श्रावण २०७३ ११:१४ आइतबार