७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीको बटमलाइन , खनियाँलाई उपकुलपतिबाट हटाउनुपर्ने

काठमाडौं- डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । चिकित्सा शिक्षा सुधार माग राखेर डा. केसी पछिल्लोपट १३ दिनदेखि आमरण अनशनमा छन्।

काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने, फिर्ता लिने, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा निहित अधिकार कटौतीलगायत विवादमा मुछिएका खनियाँलाई पदबाट नहटाएसम्म अनशन नतोड्ने अडान केसीले राखेपछि वार्ता टुंगोमा पुग्न सकेन।

चिकित्सा शिक्षा सुधार प्रक्रियामा पटकपटक अवरोध गरेका कारण खनियाँलाई कारबाही गर्नुपर्ने माग केसीको छ। ‘अब अति भयो, कारबाही हुँदैन भनेर मनलागी गर्ने ? प्राज्ञिक थलोमा बसेर मनपरी गर्ने उपकुलपतिलाई बर्खास्त गर्नैपर्छ’, उनले भने ।

चिकित्सा शिक्षा विधेयक प्रयास गर्दागर्दै संसद्बाट पारित हुन नसकेकाले अर्को संसद्बाट पारित गराउन पहले गर्ने वचन सरकारले दिएको छ । निर्वाचन आचारसंहिता वा अन्य कुराले नरोके सरकारले अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउने र नभए अगामी संसद्बाट पारित गर्ने जनाएको छ ।

ऐन नआउँदासम्म नयाँ मनसायपत्र जारी नगर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सरकारी वार्ताटोलीले पुरानै निर्णयअनुसार नयाँ सम्बन्धन, मनसायपत्र नवीकरण र नयाँ प्रतिष्ठान तथा विस्तारित कार्यक्रमलाई समेत स्वीकृत नगर्ने प्रतिबद्धता जनाएको छ ।

केसी माथेमा प्रतिवेदनअनुसारको विधेयक ल्याउनेगरी वातावण बनाउन अझै बृहत् लडाइँ गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय संयोजकत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच सिंहदरबारमा सोमबार करिब ७ घन्टा वार्ता भएको थियो । त्यसपछि केसी पक्षीय वार्ताटोली अनशनस्थल पुगेर सरकारी प्रस्ताव सुनाएको थियो । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा छानबिनपछि कारवाही गर्न सरकार सहमत भएको जानकारी पाएपछि केसीले  उपकुलपति खनियाँलाई पदबाट हटाएरमात्र छानबिन थाल्नुपर्ने अडान दोहो¥याएका थिए । त्यसपछि दुबै पक्षबीच औपचारिक छलफल रोकिएको छ ।

सरकारी टोलीले सम्बन्धन प्रक्रियाबारे छानबिन गर्न विशेष अदालतका पूर्वमुख्यन्यायधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगलाई लेखी पठाउने र सो आयोगको सिफारिसबमोजिम कारबाही गर्ने प्रस्ताव गरेको छ । ‘तर सर (केसी) मान्नुभएको छैन्, उहाँ त्रिवि उपकुलपतिको बर्खास्तगीमा अडिग हुनुहुन्छ’, वार्ताटोलीका सदस्य डा. अभिशेक सिंहले भने ।

त्यसैगरी निलम्बनमा परेर अदालतबाट पुनर्बहाली भएका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कामाथि पनि कारबाही गर्नुपर्ने अडान डा. केसीको छ ।

अन्य मागमा भने सरकार र केसीपक्ष सहमति नजिक पुगेका छन् । सरकारले मध्यम तथा निम्न मध्यमवर्गका सबै नेपाली लागि सम्पूर्ण स्वास्थ्यउपचार र सम्पूर्ण विद्यार्थीका लागि शिक्षा  निःशुल्क दिनेलगायत विधेयकमा छुटेका विषय समावेश गरेर पारित गर्ने वचन दिएको छ ।

त्यसैगरी एमबिबिएस पढ्न सरकारले निर्धारण गरेभन्दा बढी शुल्क तोक्ने काठमाडौं विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न पत्राचार गर्ने र पुरानै शुल्क लागू गर्ने वचन पनि सरकारले दिएको छ । २०७२ भदौ ३१ को मन्त्रिपरिषद्को निर्णयअनुसार  चिकिात्सातर्फ स्नातकोत्तर (पिजी) तहको शुल्कसमेत २३ लाख रुपैयाँ तोक्ने र कलेजहरूले त्यसैबाट समुचित निर्वाह भत्तासमेत दिनुपर्ने विषयमा पनि केसी र सरकार पक्ष सहमत भएका छन् ।

सरकारले डा. केसीको मागअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्न तत्काल प्रक्रिया सुरु गर्ने, सातै प्रदेशमा एक÷एक मेडिकल कलेज खोल्न प्रक्रिया अघि बढाउनसमेत सरकार सहमत भइसकेको छ।

हाल सरकारी मेडिकल कलेज नभएकामध्ये २ नम्बर प्रदेशमा बर्दिवास (महोत्तरी) मा प्रस्तावित मेडिकल कलेज र ५ नम्बर प्रदेशको रुपन्देहीमा प्रस्तावित मेडिकल कलेजलाई त्रिविको आगिंक कलेज रुपमा विकास गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल सञ्चालनमा लैजाने र प्रदेश ७ मा गठन आदेशमार्फत् गेटा मेडिकल कलेज (कैलाली) निर्माणलाई गति दिने सहमति भएको छ । १ नम्बर प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । ३ नम्बर प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ४ नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  र ६ नम्बर प्रदेशमा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ ।

स्वास्थ्य जोखिममा

अनशनको १३ औं दिन डा. केसीलाई छातीमा असह्य  दुखाइ भएको छ । रगतमा अक्सिजनको मात्रा निकै  कम देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई सोमबारै आइसियुमा गएर अनशनलाई निरन्तरता दिन चिकित्सक टोलीले आग्रह गरे पनि उनले मानेनन् । ‘आइएम रेडी टु कम्प्रोमाइज माइ हेल्थ’, उनले भने, ‘सबै मागमा सहमति हैन कार्यान्वयन चाहिएको छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार सत्याग्रहको पाँचौं दिनदेखि छातीमा दुखाइ बढ्दै गएको छ । ‘सुरुमा बोल्दा र उठेर बस्दामात्रै दुःख्थ्यो, अहिले सुत्दा पनि असह्यै भयो भन्नुहुन्छ,’ केसीका विद्यार्थी विसद दाहालले भने ।

स्वास्थ्यका लागि आवश्यक तत्व क्याल्सियम पोटासियम, म्याग्नेसियमको मात्रा पनि निकै घटिसकेको छ ।

प्रकाशित: १ कार्तिक २०७४ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App