६ वैशाख २०८१ बिहीबार
समाज

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख

काठमाडौं- जिल्ला शिक्षा कार्यालय काठमाडौंले जिल्लाका ११ नगरपालिकाहरूमा रहेका न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक विद्यालयलाई प्रतिविद्यालय १० लाख दिने नयाँ कार्यक्रम तय गरेको छ।

मंगलबार कार्यालयले गरेको वार्षिक कार्यक्रम तथा बजेट २०७४–०७५  जिल्लस्तरीय अभिमुखीकरण कार्यक्रममा शाखा अधिकृत सुकदेव नेपालले सो जानकारी दिएका हुन् । उनले न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक विद्यालयलाई १० लाख र उत्कृष्ट सिकाइ उपलब्धी भएका विद्यालयलाई समेत १०–१० लाख रकम उपलब्ध गराइने व्यवस्था जिल्लाले गरेको छ ।

तर यो प्रावधानलाई सरोकारवालाहरूले नराम्रो र राम्रो गर्ने दुवै खाले स्कुललाई एउटै वर्गमा राख्दा उपलब्धि नहुने उनीहरूको तर्क छ ।

शिक्षा मन्त्रालयका उप–सचिव प्रल्हाद अर्यालले राम्रो नतिजा ल्याउने र नराम्रो नतिजा ल्याउने दुवै खाले स्कुललाई एउटै वर्गमा राखेर बजेट निकासा गर्दा गलत नतिजा आउने औल्याएँ । जिल्ला शिक्षा कार्यालयले पहिलो चरणको कार्यक्रममा ११ वटा नगरपालिकाको सिकाइ उपलब्धी न्यून भएको १० सार्वजनिक विद्यालयलाई प्रति विद्यालय १०–१० लाख रकम उपलब्ध गराउने र उत्कृष्ट सिकाइ उपलब्धि भएको पनि १० विद्यालयलाई प्रोत्साहन स्वरुप १०–१० लाख रकम उपलब्ध गराइने कार्यक्रम तय गरेको हो ।

यो वर्ष जिल्लाको यो नयाँ कार्यक्रमले विद्यालय शिक्षा सुधारको साटो विकृति ल्याउने उप–सचिव अर्यालले चेताए । ‘सिकाइ उपलब्धी न्यून भएका विद्यालयलाई १०–१० लाख रकम दिँदा यसको औचित्य नै हँुदैन । किनभने यसले त झन् स्कुललाई नराम्रो गर्दा पनि १० लाख पाइने भन्ने सन्देश दिन्छ,’ उपसचिव आर्यालले भने ।

जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाका अनुसार यस वर्ष काठमाडौं जिल्लाले ११ नगरपालिकाहरूमा भएका २ सय ७५ सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारको लागि कुल २ अर्ब बढी रकम छुटाएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको बजेट छ । यो महानगरपालिकामा ४८ करोड ८२ लाख ३२ हजार रकम उपलब्ध भएको छ भने सबैभन्दा कम टोखा नगरपालिकाको बजेट रहेको छ । यो नगरपालिकामा शैक्षिक व्यवस्थापनका लागि ३ करोड २१ लाख ९३ हजार रकम उपलब्ध गराइएको छ ।

जसमध्ये ८० प्रतिशत रकम शिक्षक तलब भत्तामा र २० प्रतिशत रकमबाट शैक्षिक सुधारको कार्यक्रम तय गरिएको जनाए । उनले न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक स्कुलहरूको सिकाइ उपलब्धी सुधार गर्न १०–१० लाख रकम उपलब्ध गराइने नयाँ कार्यक्रम तय गरिएको दाबी गरे ।

‘जिल्ला शिक्षा कार्यालयले निश्चित मापदन्ड बनाएर मात्र रकम निकासा गर्ने छ,’ शिक्षा अधिकारी सापकोटा भन्छन्, ‘बजेट कार्यन्वयन निर्देशिका ०७४ ले तोके अनुसार न्यून सिकाई उपलब्धि भएका विद्यालयमा रकम निकासा गर्ने गरिन्छ ।’ उनले सार्वजनिक विद्यालयमा विद्यार्थी तथा शिक्षकको अध्ययन प्रवृत्ति विकास गर्न लाइब्रेरी व्यवस्थापन फिक्सिंग र सामग्री खरिद अनुदान स्वरुप यस वर्ष ६१ स्कुललाई प्रतिस्कुल ६ लाख ५० हजारको दरले ३९ करोड ६५ लाख रकम छुटाएको बताए ।

यसैगरी काठमाडौं जिल्लाका सार्वजनिक विद्यालयहरूको सूचना तथा प्रविधिसँग विद्यार्थी तथा शिक्षकलाई शिक्षण सिकाइका लागि पहिलो चरणमा ८० सार्वजनिक विद्यालयका लागि प्रतिविद्यालय ६ लाख ५० हजारको दरले रकम उपलब्ध गराउने कार्यक्रम तय भएको अधिकृत नेपालले जनाए । ‘आइसिटि माध्यमबाट शिक्षण सिकाइका लागि कम्प्युटर सामग्री तथा किटहरू खरिद गर्न अनुदान स्वरुप कुल ५ करोड २० लाख रकम निश्चित गरिएको छ,’ अधिकृत नेपालले भने, ‘पछि महानगरको समन्वयमा थप गरी अगाडि बढ्ने नीति तय भएको छ ।’ काठमाडौं जिल्लामा भूकम्पबाट प्रभावित भएका विद्यालय भवन निर्माण गर्न प्रतिविद्यालय ३६ लाख रकम उपलब्ध गराइएको छ ।

                               

 

प्रकाशित: १ कार्तिक २०७४ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App