coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

काठमाडाैं- नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ। धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

बुधबार बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।

पाँच दिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी पाँचै दिनलाई यमपञ्चक भनिएको हो। खासगरी बहुलदेवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले चाड मनाइन्छ।

सबै तस्बिरहरु: प्रबीन कोइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App