coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

अस्पतालको प्रशासन कक्षमा ताला लगाउँदै कर्मचारीहरू । तस्बिर : डिबी बुढा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्। 

उनीहरूले सरकारले कर्मचारी समायोजन विधेयक ल्याएर तह निर्धारण गरेर सम्मान दिइएको भन्दै प्रतिष्ठान पदाधीकारीले कुनै चासो नदिइएको बताएका हुन्। सम्मानजनक तह मिलान नहुँदासम्म ताला नखुल्ने कर्मचारीले बताएका छन्। प्रतिष्ठान प्रशासनले अहिलेसम्म कर्मचारी सँग वार्ता गरेर ताला खुलाउने प्रयास गरेको छैन भने, स्थानीय प्रशासनले ताला खुलाएर अस्पतालका सेवा संञ्चालनमा कुनै पहल नगरेको स्थानीयले बताएका छन्। 

निरन्तर चार दिनसम्म ज्वरो आएर अस्पताल जेकजाँचका लागि पुगेकी घोडेमहादेवकी पानकली रोकाया उपचार नगराई फर्कदा निकै दुःख लागेको बताउँछिन् । एक त टाढाबाट उपचार गराउन आएका छाँै, त्यसैमा पनि कर्मचारी आन्दोलनका कारण सेवा लिन नपाउदा सास्ती खेप्नु परेको गुनासो उनको छ । उनले तत्काल अस्पतालमा लागेको ताला खुलाएर सेवा सञ्चालन गर्नको लागि सम्बन्धी पक्षलाई आग्रह गरिन। 

तुही गाउँका कर बहादुर बुढा अपांग परिचय पत्र लिनको लागि अस्पतालमा जाँदा सेवा लिन पाएनन् । उनले भने, आफ्नै कर्मचारीको चित्त बुझाउन नसक्ने प्रतिष्ठान प्रशासनले कसरी बिरामी निको पारेर सन्तुष्ट बनाउला । अस्पतालको ताला खुलाएर सहजै रुपमा उपचार गर्न पाउने अधिकारको ग्यारेण्टी गर्न बिरामीहरूले बताएका छन्। अहिले मौसमी रोगको संक्रमण भएका बिरामी आउने गरेका छन्। ओपिडी सेवा बन्द हुँदा दुर्गमबाट आएका बिरामी उपचार नगराई फर्कनु परेको छ ।

कर्मचारीले माग सम्बोधन गर्न पदाधीकारी टिमले वास्ता नगरेकोले भोलि देखि आकस्मीक कक्ष ठप्प गरेर अस्पतालका कुनैपनि काम सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् । तीन तहका कर्मचारीले चारौ तह मिलान गर्नु पर्ने माग गरेका छन् । कर्मचारीको काम, इमान्दारिता, अनुशासनका आधारमा तह मिलान गरेर न्याय दिलाउनको लागि माग गरेका छन । कर्मचारी आन्दोलनले हुने क्षतिको जिम्मा अस्पताल पदाधीकारीले लिनु पर्नेमा जोड दिएका छन । नियमालीमा बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । 

कर्मचारीको वृद्धि विकासमा प्रतिष्ठानका पदाधीकारी जिम्मेवार नदेखिएको भन्दै २४ घण्टे अल्टीमेटम दिएका थिए । तर कर्मचारीको माग प्रति कुनै प्रतिक्रिया नदिएपछि अस्पतालका सेवा ठप्प पार्नु परेको उनीहरुको भनाई छ । प्रतिष्ठान पदाधीकारीले कर्मचारीहरूको शैक्षिक योग्यता र कामका अपमान गरेको आरोप लगाएका छन्।  

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले उच्च स्तरीय कार्यदल गठन गरेर कर्मचारीको माग संबोधन गर्र्ने तयारी भईरहेको बताउँछन्। उनले भने, दुई वर्ष देखि सिनेट नबस्दा अन्योलमा परेको भन्दै कर्मचारी मिलेर अस्पतालका सेवा प्रभावकारी बनाउन सहयोग गर्नु पर्ने हो । सिनेट वैठकले कर्मचारीको बिदा बढाइयो, उपदान र बिमाको व्यवस्था गरेको प्रतिक्रिया दिए । स्थानीय प्रशासन कार्यालयसंग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको उनको भनाई छ। 

अस्पतालको सेवा ठप्प भएको बारेमा प्रतिष्ठान प्रशासनले कुनै जानकारी नदिइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेक वहादुर बुढ्थापाले जानकारी दिए । तर अस्पतालले ताला खुलाउनको लागि आग्रह गरे दुवै पक्षलाई बोलाएर छलफलका माध्यमबाट समस्या समाधान गर्न प्रशासन तयार रहेको बताए। 

 

प्रकाशित: १ कार्तिक २०७४ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App