८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

टोटनह्यामविरुद्धको खेलमा बल अगाडि बढाउँदै रियलका रोनाल्डो ।

पेरिस – साविक विजेता रियाल मड्रिड टोटेनह्यामसँग बराबरीमा रोकिएको दिन मंगलबार च्याम्पियन्स लिग समूह चरणको खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई पराजित गरेको छ ।

युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न समूह ‘एच’ को खेलमा रियाल टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

२८औं मिनेटमा रियालका राफेल भारानेले गरेको आत्मघाती गोलमा टोटेनह्यामले अग्रता लिएको थियो । तर ४३औं मिनेटमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि रियाल खेलमा फर्कियो। 

दोस्रो हाफमा रियालका गोलकिपर केलोर नाभासले ह्यारी केन र क्रिस्टियन इरिक्सन तथा टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले रोनाल्डो र करिम बेन्जेमाका उत्कृष्ट प्रहार बचाउ गर्दा दुवै टोली अंक बाँड्न बाध्य भएका थिए।

‘यस खेलमा गरेको प्रदर्शनले हामी जुनसुकै प्रतिद्वन्द्वीलाई पनि बलियो चुनौती दिन सक्छौं भन्ने प्रमाणित गरेको छ,’ टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने।

यस बराबरीपछि तीन खेलको समाप्तिमा समान ७/७ अंक जोडेका रियाल मड्रिड र टोटनह्याम  क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान खेलमा समान १/१ अंक जोडेका बोरुसिया डर्टमन्ड र एपोइल निकोसिया क्रमशः तेस्रो र चोैथो स्थानमा छन्।

समूह ‘एच’ को अर्को खेलमा डर्टमन्ड र एपोइलले पनि १–१ को बराबरी खेलेका थिए।

६२औं मिनेटमा मिचेल पोटेले गरेको गोलमा एपोइलले अग्रता लिएको थियो । तर त्यसको पाँच मिनेटपछि सोक्रेटस् पापास्थेपुलासले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काएका थिए।

समूह ‘एफ’ मा म्यानचेस्टर सिटीले शतप्रतिशत नतिजाको यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिने क्रममा नेपोलीको चुनौती २–१ ले पाखा लगायो।

खेलको नवौं मिनेटमा रमिह स्टर्लिङले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि ग्याब्रियल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

३८औं मिनेटमा नेपोलीले गोलअन्तर कम गर्ने सुनौलो अवसर पाएको थियो । तर द्रिइस मार्टिन्सको पेनाल्टी सिटीका गोलकिपर इडरसन मोराइसले रोकेपछि नेपोली निराश बनेको थियो । सिटीका रक्षक काइले वाल्करले राउल एलबियोललाई लडाएपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो ।

७३औं मिनेटमा अमाडोउ डिबाराले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । सिटीका फर्नान्डिन्होले फौजी गुलामलाई लडाएपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितपछि तीन खेलको समाप्तिमा ९ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत् छ । समान खेलमा ६ अंक जोडेको साख्तर डोनेस्क दोस्रो र ३ अंक जोडेको नेपोली तेस्रो स्थानमा छन् । खाता खोल्न नसकेको फेयनुर्ड पुछारमा छ ।

मंगलबारै सम्पन्न समूह ‘एफ’ को अर्को खेलमा साख्तर डोनेस्कले फेयनुर्डलाई २–१ ले पराजित गरेको थियो ।

यता रोबर्ट फिर्मिन्हो र मोहम्मद सालाहको दुई–दुई गोलप्रेरित लिभरपुलले समुह ‘इ’ मा मारिबोरमाथि ७–० को सानदार जित दर्ता गराएको छ ।

चौथो मिनेटमा फिर्मिन्होले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । १३औं  मिनेटमा फिलिप कौटिन्होले गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

१९ र ४०औं मिनेटमा सालाहले गोल गर्दै एन्फिल्डको टोलीलाई मध्यान्तरअघि ४–० को अग्रता दिलाए । ५४औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता बढाएका थिए ।

८६औं मिनेटमा एलेक्स ओक्सलाडे चेम्बरलिन र ९०औं मिनेटमा टे«न्ट एलेक्जेन्डर आर्नोल्डले गरेको गोलमा लिभरपुलले सानदार जित पक्का गरेको थियो।

यस जितपछि तीन खेलको समाप्तिमा ५ अंक जोडको लिभरपुल समूह ‘इ’ को शीर्ष स्थानमा छ । समान खेलमा समान ५ अंक जोडेको स्पार्टक मस्को दोस्रो तथा ४ अंक जोडेको सेभिया तेस्रो स्थानमा छन् । मस्कोले मंगलबारै समूहको अर्को खेलमा सेभियामाथि ५–१ को जित हात पारेको थियो।

त्यस्तै समूह ‘जी’ अन्तर्गतको खेलमा बेसिक्टासले मोनाकोमाथि २–१ को जित दर्ता गर्दा आरबी लिपजिगले एफसी पोर्टोलाई ३–२ ले पराजित गरेको छ। 

मंगलबारका नतिजापछि तीन खेलको समाप्तिमा ९ अंक जोडेको बेसिक्टास शीर्ष स्थामा यथावत् छ भने समान खेलमा ४ अंक जोडेको लिपजिग दोस्रो स्थानमा उक्लिएको छ । ३ अंक जोडेको पोर्टो तेस्रो र १ अंकमा सीमित मोनाको अन्तिम स्थानमा छन् ।

रोबर्ट फिर्मिन्हो र मोहम्मद सालाहको २/२ गोलप्रेरित लिभरपुलले समूह ‘इ’ मा मारिबोरमाथि ७–० को सानदार जित दर्ता गराएको छ ।

 

प्रकाशित: १ कार्तिक २०७४ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App