७ वैशाख २०८१ शुक्रबार
खेल

सिटीको शतप्रतिशत नतिजामा निरन्तरता

पेरिस- साबिक विजेता रियाल मड्रिड टोटेनह्यामसँग बराबरीमा रोकिएको दिन मंगलबार च्याम्पियन्स लिग समूह चरणको खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई पराजित गरेको छ ।
युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न समूह ‘एच’ को खेलमा रियाल टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।
२८औं मिनेटमा रियालका राफेल भारानेले गरेको आत्मघाती गोलमा टोटेनह्यामले अग्रता लिएको थियो । तर ४३औं मिनेटमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि रियाल खेलमा फर्कियो ।
दोस्रो हाफमा रियालका गोलकिपर केलोर नाभासले ह्यारी केन र क्रिस्टियन इरिक्सन तथा टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले रोनाल्डो र करिम बेन्जेमाका उत्कृष्ट प्रहार बचाउ गर्दा दुवै टोली अंक बाँड्न बाध्य भएका थिए ।
‘यस खेलमा गरेको प्रदर्शनले हामी जुनसुकै प्रतिद्वन्द्वीलाई पनि बलियो चुनौती दिन सक्छौं भन्ने प्रमाणित गरेको छ,’ टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने ।
यस बराबरीपछि तीन खेलको समाप्तिमा समान ७÷७ अंक जोडेका रियाल मड्रिड र टोटनह्याम  क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान खेलमा समान १÷१ अंक जोडेका बोरुसिया डर्टमन्ड र एपोइल निकोसिया क्रमशः तेस्रो र चोैथो स्थानमा छन् ।
समुह ‘एच’ को अर्को खेलमा डर्टमन्ड र एपोइलले पनि १–१ को बराबरी खेलेका थिए ।
६२औं मिनेटमा मिचेल पोटेले गरेको गोलमा एपोइलले अग्रता लिएको थियो । तर त्यसको पाँच मिनेटपछि सोक्रेटस् पापास्थेपुलासले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काएका थिए ।
समूह ‘एफ’ मा म्यानचेस्टर सिटीले शतप्रतिशत नतिजाको यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिने क्रममा नेपोलीको चुनौती २–१ ले पाखा लगायो ।
खेलको नवौं मिनेटमा रमिह स्टर्लिङले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि ग्याब्रियल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।
३८औं मिनेटमा नेपोलीले गोलअन्तर कम गर्ने सुनौलो अवसर पाएको थियो । तर द्रिइस मार्टिन्सको पेनाल्टी सिटीका गोलकिपर इडरसन मोराइसले रोकेपछि नेपोली निराश बनेको थियो । सिटीका रक्षक काइले वाल्करले राउल एलबियोललाई लडाएपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो ।
७३औं मिनेटमा अमाडोउ डिबाराले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । सिटीका फर्नान्डिन्होले फौजी गुलामलाई लडाएपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो ।
यस जितपछि तीन खेलको समाप्तिमा ९ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत् छ । समान खेलमा ६ अंक जोडेको साख्तर डोनेस्क दोस्रो र ३ अंक जोडेको नेपोली तेस्रो स्थानमा छन् । खाता खोल्न नसकेको फेयनुर्ड पुछारमा छ ।
मंगलबारै सम्पन्न समूह ‘एफ’ को अर्को खेलमा साख्तर डोनेस्कले फेयनुर्डलाई २–१ ले पराजित गरेको थियो ।
यता रोबर्ट फिर्मिन्हो र मोहम्मद सालाहको दुई–दुई गोलप्रेरित लिभरपुलले समुह ‘इ’ मा मारिबोरमाथि ७–० को सानदार जित दर्ता गराएको छ ।
चौथो मिनेटमा फिर्मिन्होले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । १३औं  मिनेटमा फिलिप कौटिन्होले गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
१९ र ४०औं मिनेटमा सालाहले गोल गर्दै एन्फिल्डको टोलीलाई मध्यान्तरअघि ४–० को अग्रता दिलाए । ५४औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता बढाएका थिए ।
८६औं मिनेटमा एलेक्स ओक्सलाडे चेम्बरलिन र ९०औं मिनेटमा टे«न्ट एलेक्जेन्डर आर्नोल्डले गरेको गोलमा लिभरपुलले सानदार जित पक्का गरेको थियो ।
यस जितपछि तीन खेलको समाप्तिमा ५ अंक जोडको लिभरपुल समुह ‘इ’ को शीर्ष स्थानमा छ । समान खेलमा समान ५ अंक जोडेको स्पार्टक मस्को दोस्रो तथा ४ अंक जोडेको सेभिया तेस्रो स्थानमा छन् । मस्कोले मंगलबारै समूहको अर्को खेलमा सेभियामाथि ५–१ को जित हात पारेको थियो ।
त्यस्तै समूह ‘जी’ अन्तर्गतको खेलमा बेसिक्टासले मोनाकोमाथि २–१ को जित दर्ता गर्दा आरबी लिपजिगले एफसी पोर्टोलाई ३–२ ले पराजित गरेको छ ।
मंगलबारका नतिजापछि तीन खेलको समाप्तिमा ९ अंक जोडेको बेसिक्टास शीर्ष स्थामा यथावत् छ भने समान खेलमा ४ अंक जोडेको लिपजिग दोस्रो स्थानमा उक्लिएको छ । ३ अंक जोडेको पोर्टो तेस्रो र १ अंकमा सीमित मोनाको अन्तिम स्थानमा छन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App