७ वैशाख २०८१ शुक्रबार
खेल

धनुष्कामाथिको प्रतिबन्ध घट्यो

कोलम्बो- श्रीलंका क्रिकेट बोर्डले मंगलबार अलराउन्डर धनुष्का गुणथिलकामाथि लगाएको प्रतिबन्ध घटाएको छ । अन्य केही खेलाडीले पाकिस्तानविरुद्धको अन्तिम ट्वान्टी–२० खेलका लागि टोलीबाट नाम फिर्ता लिने खबर सार्वजनिक भएपछि बोर्डले उनीमाथि लगाएको प्रतिबन्ध तीन खेलमा झारेको हो ।
यसअघि बोर्डले खेलभावनाविपरीत कार्य गरेको भन्दै गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाएको थियो ।
साथै बोर्डले गुणथिलकालाई पाकिस्तानविरुद्ध अक्टोबर २६ बाट आबुधाबीमा सुरु हुने तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा सहभागी हुन अनुमतिसमेत दिएको छ । अन्तिम खेल २९ अक्टोबरमा लाहोरमा हुनेछ ।
सन् २००९ मा लाहोरमा श्रीलंकाली खेलाडी चढेको बसमा आतंककारी हमला भएको थियो । सन् २०१५ मा जिम्बाब्वेले गरेको भ्रमणबाहेक उक्त हमलापछि कुनै पनि शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका छैनन । त्यसयता पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु शृंखला खेल्दै आएको छ ।
गत अगस्टमा श्रीलंका क्रिकेट बोर्डका प्रमुख थिलंगा सुमाथिपालाले पाकिस्तान भ्रमण गर्ने निर्णय गरेका थिए ।
‘श्रीलंका क्रिकेट बोर्डको कार्यसमिति बैठकले गुणथिलकामाथि लगाएको प्रतिबन्धमाथि पुनर्विचार गर्ने निर्णय गरेको छ,’ बोर्डले जारी गरको विज्ञप्तिमा भनिएको छ ।
बोर्डले घरेलु मैदानमा भारतसँगको शृंखला दौरान खेलभावनाविपरीत कार्य गरेको भन्दै गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाउनुका साथै उनको वार्षिक पारिश्रमिकमा २० प्रतिशत जरिवानाको सजाय सुनाएको थियो । तर प्रतिबन्ध घटाए पनि उनीमाथि लगाइएको जरिवानाको सजाय यथावत् राखिएको छ ।
गत महिना विश्व–११ ले तीन ट्वान्टी–२० शृृंखलाका लागि पाकिस्तान भ्रमण गरेको थियो ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App