८ वैशाख २०८१ शनिबार
खेल

महिला बास्केटबल टोलीको बिदाइ

काठमाडौं- मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।
कार्तिक ५ देखि ११ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा सहभागी हुन जाने महिला बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले बुधबार शुभकामनासहित बिदाइ गरे ।
नेपालले बास्केटबल खेलमा देखाएको क्रियाकलाप र प्रतियोगिताको आधारमा नेपाली टोलीलाई यस प्रतियोगितामा सहभागी गराएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराए । नेपाली टोलीले पहिलो पटक एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको नेपाल बास्केटबल संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दुई ग्रुप रहेको च्याम्पियनसिपमा नेपाल रहेको ग्रुपमा भारत, श्रीलंका र इरान छन् भने अर्को ग्रुपमा मलेसिया चाइनिज ताइपेई र मालदिभ्स छन् ।
च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीमा श्रीयासी राना, निष्ठा राजभण्डारी, नीलम शेर्पा, ममता गुरुङ, छिरिङचोकी शेर्पा, अदीति सुन्दर चौधरी, सुषमा गौतम, प्रतीक्षा मगर, रोशनी श्रेष्ठ, इरिशा श्रेष्ठ, संस्कृति मास्के, अस्मिता थापा रहेका छन् । टिम व्यवस्थापकमा सरोजा श्रेष्ठ कोइराला, प्रशिक्षकमा विपिन कपाली, सहायक प्रशिक्षकमा सुशील गुरुङ र अफिसियलमा राजकुमार महर्जन रहेका छन् ।
बिदाइ कार्यक्रममा संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष होमदोङ, उपाध्यक्ष भीमसिंह गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App