१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

डा. केसीलाई मौन शिक्षितको चिन्ता छ

चिकित्सा शिक्षा ऐन, स्वास्थ्य सेवा र भ्रष्टाचारका ठूला खेलाडीहरूमाथि कारबाहीको माग गर्दै डा. गोविन्द केसीले तेह्राँै अनशन सुरु गरिरहँदा उनको हृदयको आवाजलाई उपेक्षा गर्दै संसद् अन्त्य गरियो । केपी, देउवा, प्रचण्डहरू आमनागरिकले सरोकार राख्ने मुद्दामा कति क्रुर छन् भन्ने कुरा डा. केसीलाई मरे मरून् भनेर संसद् भंग गरेको दृश्यले देखाउँछ ।

आवश्यक परेका बेला पढेलेखेकाहरू सडकमा आउन सकेनन् भने तिनीहरूको पढाइ, बुझाइ, लेखाइ अर्थहीन हुन्छ भन्ने डा. केसीको बुझाइ छ ।

मैले डा. केसीजस्तो जिद्दी मान्छे देखेको छैन । राम्रो कुराको पक्षमा जिद्दी छाड्दै नछाड्ने बानीले डा. केसीलाई तेह्रौँ अनशनसम्म पु¥यायो । उनी आफ्नो कुरामा यति अडिग र अविचलित छन् कि, मर्नु परोस् तर हल्लिँदैनन् ।
डा. केसी तेह्रौँ पटकसम्म आमरण अनशन बसे तर उनले के पाए ? उनी आफूलाई दुःख दिइरहन्छन्, किन ? डा. केसी आफ्नो मुद्दा लिएर किन जनताकोमा जाँदैनन् ? डा. केसी जति अनशन बसे पनि केही हुने होइन ? डा. गोविन्द केसीबारे यस्ता टिप्पणी हामी सुन्ने गर्छौं । जसले आफ्नो लागि केही मागेर अनशन बसेको छैन, उसले के पायो भनेर प्रश्न गर्नेहरू बेबकुफ हुन् । डा. केसीले राखेका मागको केन्द्रमा उनी आफू छैनन् । आफ्ना लागि उनी हुनु र नहुनुमा म केही फरक देख्दिनँ । भोक लागेको बेलामा १,२ घन्टा मात्र खान ढिला भयो भने हाम्रा मस्तिष्कका ग्रन्थिले काम गर्न छाड्छन् । एक दिन मात्र निद्रा पुगेन भने पनि अर्को दिन पूरै खल्लो हुन्छ । तर डा. केसी एक, दुई, तीनपटक होइन, तेह्रौँ पटकसम्म आमरण अनशनमा छन् । उनलाई भोक, निद्रासँग कुनै पर्वाह छैन । यस्तो मानवलाई चिन्न नसकेर उनलाई बिचरा डा. केसी भनिरहँदा उनको आत्माले हामीलाई कति करुणाभावले हेरिरहेको होला !
हामी
व्यक्तिगत तवरमा हे¥यो भने नेपाली समाजमा राम्रै विकास भएको हो कि जस्तो देखिन्छ । सडकमा गुड्ने गाडीहरूको संख्या, विदेश जानेहरूको संख्या अनि स्वदेशमै हवाई यात्रा गर्ने यात्रीहरूको संख्या हेर्दा परिवर्तनका धेरै संकेत देखिन्छन् । सडक र आकाश साँघुरो हँुदै जानु एक हिसाबले आर्थिक उन्नतिको संकेत मान्नुपर्छ । व्यक्तिगत तवरमा राम्रो गर्नेहरू अनि सफल जीवन बाँच्नेहरूको संख्या फराकिलो बन्दै गएको छ तर समाज र राजनीति विकृत बन्दै जाँदा पनि राम्रो गर्नेहरूको मौनताले हामीलाई बिचरा बनाइरहेको छ ।
डा. केसी हामी र हाम्रो पुस्ताका लागि लड्दा अलिकति पनि सहानुभूति नहुने, ऐक्यबद्धताका लागि सडकमा पनि उत्रन नसक्ने, राजनीतिमा गुण्डागर्दी, भ्रष्टाचारले छोपीसक्दा पनि मौनता साँधिरहने, लोकतन्त्रको आधारभूत मूल्य मान्यताका लागि नागरिक तवरबाट सानो भूमिका पनि खेल्न नसक्ने नेपाली समाजका सफल व्यक्तिहरूको काँतर चरित्रले आज हाम्रो सिंगो पुस्ता अनि देशलाई नै बिचरा बनाइरहेको छ ।
जब समाजमा राम्रा मान्छेहरू आफ्नो–आफ्नो साँघुरो स्वार्थको घेरामा बाँधिन्छन्, त्यो आफ्नो स्वार्थको घेरालाई केन्द्रमा राखेर देश, समाजलाई हेर्न थाल्छन्, देशमा झन् बेथिति र भ्रष्टाचार मौलाउने रहेछ । आज नेपालमा जे देख्दै छौँ, यसका लागि बिचरा पढेलेखेका हामी नै दोषी छौँ । जब हामी आफ्नै नाक अगाडिको सत्य देख्दैनौँ, अन्यायविरुद्ध बोल्दैनौँ, हामी बिचराहरूमा देश बिग्रियो भनेर बोल्ने कुनै नैतिक आधार बाँकी रहँदैन ।
आग्रह गरिने सत्य के हुन् ?
डा. केसीको सत्याग्रह सामाजिक न्यायका लागि हो । गरिब भएकै कारण कसैले पनि शिक्षा, स्वास्थ्यजस्तो आधारभूत सेवाबाट वञ्चित हुन नपरोस । डा. केसीको सत्याग्रह यही आधारभूत न्यायलाई समाजमा स्थापित गराउन हो । आफ्नो राजनैतिक सुरुवातका दौरानमा अहिलेको एमाले, कांग्रेस, माओवादी सबैले शिक्षा, स्वास्थ्यलाई प्रमुख राजनैतिक मुद्दाका रूपमा उठाएका थिए तर अहिले प्रायः सबै राजनीतिक दल शिक्षा र स्वास्थ्यलाई व्यक्तिगत र पार्टीगत स्वार्थपूर्तिका लागि व्यापार बनाउन प्रतिस्पर्धा गर्दैछन् । डा. केसी भने शिक्षा र स्वास्थ्यलाई व्यापार बनाउन पाउँदैनौँ भनेर बारम्बार सत्याग्रहमा छन् ।    
सबै नेपाली नागरिकले देशको जुनसुकै भूभागमा बस्ने भए पनि निःशुल्क राम्रो स्वास्थ्य सेवा पाऊन्, जेहनदार नेपाली विद्यार्थीहरूले पैसा नभए पनि डाक्टर बन्नबाट वञ्चित हुन् नपरोस्, चिकित्सा शिक्षा र सेवालाई व्यापार बनाउनु हँुदैन, भ्रष्टाचारीहरूमाथि कारबाही होस् भन्ने माग राखेर डा. केसी तेह्रौँ पटकसम्म आमरण अनशन बसेका छन् ।
वार्ताको छलछाम
नेपाल सरकारले डा. केसीसँग वार्ताको छल गर्दै बाह्रौँ पटकसम्म झुक्याइसकेको छ । प्रमुख राजनीतिक दलहरूबीच कुरा नमिलेर अलपत्र परेको चिकित्सा शिक्षा विधेयक संसद्को अन्त्यसँगै नउठ्ने गरी थलिएको छ । भ्रष्टाचारका मुख्य आरोपितहरूमाथि कारबाही त कता हो कता, उल्टै अदालतबाटै स्याबासी पाइरहेका छन् । तेह्रौँ अनशनमा पनि यो नाटक दिग्दारलाग्दो छ । वार्ता टोलीमा सहभागी भएर पनि आफैँ केही निर्णय गर्न नसक्ने सरकारी सचिवहरूबाट डा. केसीले उठाएका मागको समाधान खोज्नु हुटिट्याउँले आकाश थाम्ने जस्तै हो । अब प्रस्ट बन्न जरुरी छ, डा. केसीले उठाएको आन्दोलन र उनका माग वार्ताबाट कुनै पनि हालतमा समाधान हँुदैन । उनका माग सम्बोधन हुने आशमा सरकारी टोलीसँग वार्ता गर्नु बेकार छ । तेह्रौँ अनशनभन्दा अगाडि गरिएका सम्झौता पूरा नगरेसम्म सरकारी पक्षसँग वार्ताको नाटक बन्द गरिदिए हुन्छ ।
सामाजिक न्याय र भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै डा. केसी तेह्रौँ अनशन बसिरहँदा, राजनीतिक दलहरू खुलेआम अपराध कर्ममा मस्त छन् । भ्रष्टाचार र अपराधमा सजाय पाएकाहरू उम्मेदवारका आकांक्षी बन्नेदेखि पार्टीको टिकट बाँड्ने भूमिकामा सक्रिय देखिन्छन् । प्रमुख भनिएका राजनीतिक दलहरूलाई डा. केसीको सत्याग्रहप्रति कुनै प्रवाह देखिँदैन । जबसम्म कुनै पनि सत्याग्रह वा सामाजिक आन्दोलनले भ्रष्टचारी र अपराधकर्मलाई संरक्षण गर्ने दल वा नेतालाई राजनीतिबाट विस्थापित गर्ने ताकत आर्जन गर्दैनन्, हाम्रा जस्ता निर्लज्ज नेतालाई केही पनि फरक नपर्ने देखियो ।
सत्याग्रहपछिको नेपाल
मैले डा. गोविन्द केसीलाई सोधेको थिएँ— तपाईं अब बूढो हँुदै जानुभयो । बेथिति र भ्रष्टाचारका मुद्दामा सधैँभरि तपाईं अनशन बसिरहन सक्नुहुन्न । अपराधीहरूको राज्य छ । सत्याग्रहमै पनि तपाईंलाई तल–माथि हुन सक्छ । तपाईं यसरी हप्तौँसम्म बेडमा सुतिरहँदा के सोच्नुहुन्छ ? कस्तो अवस्थामा तपाईंले उठाएका माग पूरा हुन सक्छन् ?
खुलमखुला बेथिति र भ्रष्टाचारका क्रियाकलाप बढिरहँदा पनि यस्ता घटनालाई समाजमा पढेलेखेका मान्छेहरूले सामान्यजस्तै लिएको देख्दा डा. केसीलाई बढी चिन्ता लाग्दो रहेछ । जहिले पनि डा. केसीलाई खड्किने कुरा भनेको आफ्नो विवेकले चल्नसक्ने नागरिकहरूको खडेरी रहेछ । राजनीतिक दल र नेताहरूमाथि खबरदारी गर्न सक्ने स्वतन्त्र र निर्भीक नागरिक नहुँदा यो बेथिति र भ्रष्टाचार मौलाएको डा. केसीको बुझाइ छ ।
पढेलेखेका नागरिकहरू आफ्नो भूमिकामा चुकेर राजनीतिक दल र नेताहरूको भरिया बन्दा समाजले बाटो बिराएकामा डा. केसी चिन्तित छन् । सामाजिक सञ्जालमा एक दुई लाइन लेखेर, कहिलेकाहीँ पत्रपत्रिकामा लेख छपाएर आफ्नो सामाजिक जिम्मेवारी पूरा भएको सम्झनेहरू डा. केसीको नजरमा सबैभन्दा ठूला दोषी हुन् । आवश्यक परेको समयमा पढेलेखेकाहरूले सडकमा आएर ऐक्यबद्धता देखाउन सकेनन् भने तिनीहरूको पढाइ, बुझाइ, लेखाइ अर्थहीन हुन्छ भन्ने डा. केसीको बुझाइ बनेको छ । अन्यायविरुद्ध निर्भीकतापूर्वक बोल्न सक्ने जागरूक समाज बन्न सकेन भने सत्याग्रहपछिको नेपालमा पनि बेथितिले जरा गाडिरहनेमा डा. केसी शंका गर्दैनन् ।
डा. केसी प्रवृत्ति
शान्तिकामी तर विद्रोही डा. केसी प्रवृत्तिलाई गाउँ–गाउँ, टोल–टोलसम्म फैलाउनु अब अपरिहार्य भएको छ । समाजलाई राजनीतिक दलको आवरणमा विभाजन गरेर लुट्न पल्केकाहरूलाई विनापूर्वाग्रह औँला उठाउन सक्नु नै डा. केसी प्रवृत्ति हो । भिड होइन, आफ्नो हृदयको आवाज सुनेर सत्यको पक्षमा एक्लै उभिने हिम्मत डा. केसी प्रवृत्ति हो । कुनै पनि विषयवस्तुको उठान गरिसकेपछि त्यसको अन्त्यसम्म निरन्तर लागिरहनु डा. केसी प्रवृत्ति हो । अहिलेको चुनावमा हरेक गाउँ–टोलमा डा. केसी प्रवृत्ति पुनरावृत्त हुनुपर्छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App