७ वैशाख २०८१ शुक्रबार
विचार

सैद्धान्तिक द्वन्द्वमा विचलन

अमेरिकी समालोचक स्यामुयल पि हन्टिङटनले पोस्ट कोल्ड वारदेखिको विश्वमा द्वन्द्व राजनीतिक द्वन्द्व नभएर सभ्यताको द्वन्द्वतिर गएको छ भनेका छन् । राष्ट्रबीचको भिन्नता, विचार, राजनीति र राजनीतिक अर्थतन्त्रको आधारमा होइन, संस्कृति र सभ्यताका आधारमा हुने भयो भनेका थिए । हन्टिङटनका अनुसार संस्कृति  र सभ्यताले बृहत् सान्दर्भिक अर्थ समेटेको छ । यद्यपि मान्छेमा उत्पन्न कुभावना, पद, पैसा र पावरको लडाइँ पनि एकखालको संस्कृतिमा राख्न सकिन्छ । मानिसले आफूलाई व्याख्या गर्ने र चिनाउने पुख्र्यौली, धर्म, भाषा, इतिहास, मूल्य, मान्यता, रीतिरिवाज, जात–जाति, जनजातिलगायत संस्थागत र अन्य सभ्यतागत आधारमा हो भन्ने उनको भनाइ अबको विश्वमा सार्थक बन्दै गएको देखिन्छ ।
नेपालमै पनि राजनीतिक द्वन्द्व आ–आफ्नो पार्टीका दार्शनिक–वैचारिक सिद्धान्तको आधारमा हुनुपर्नेमा अब राजनीतिक सैद्धान्तिक द्वन्द्वले ठाउँ छाड्दै गएको देखिन्छ । अब त्यसको ठाउँ हन्टिङटनले उठाएका यिनै माथि उल्लिखित आधारमा अकुपाइ हुँदै गयो । संस्कृति यस्तो हो जो विभाजित र एकीकरण गर्न भूमिका खेल्दो रहेछ । अब हरेक पार्टीमा सिद्धान्तको कुरा प्रधान नभई गौण भएको देखिन्छ । पार्टी वा राजनीतिक दल जसको पहिचान सिद्धान्त, विचार र दर्शनले हुनुपर्नेमा त्यो हराउँदै गएको अवस्था छ । राजनीतिक सिद्धान्तको नामधारी दल भए पनि गैरराजनीतिक संगठनको काम हुन थालेको छ ।
नेपालमा उपलब्ध धेरै दल छन् । तीमध्ये कैयौं दलको राजनीतिक दर्शन, सिद्धान्त र विचारको आधार छैन । त्यही खुद्राखाद्री मिसिलेनस सभ्यता, स्वार्थ, प्रतिष्ठा र पहिचानको आधार नै पार्टी संगठनको आधार भएको छ । त्यही राजनीतिक सैद्धान्तिक आधारहीनताकै कारण क्षेत्रीय पार्टी खुलेका हुन् । मधेसकेन्द्रित दलहरू त्यसैका उपज हुन् । मधेसको नाममा व्यक्तिगत वा समूहमा राज्यसँग बार्गेनिङ गरी स्वार्थ लुट्ने, सरकारमा जाने, धन–सम्पत्ति कमाउने र तथाकथित हाइप्रोफाइल देखाउने अनि मधेसी जनताको सम्मान लिने उद्देश्य देखिन्छ । यदि पक्कै पनि मधेसकै निम्ति थियो भने एउटै मधेसको नाममा दर्जनौं पार्टी किन खोल्नुपथ्र्यो ? अलि बोलबाला रहेका व्यक्तिपिच्छे पार्टी दर्ता किन गर्नुपथ्र्यो ? केही न केही भने पनि सिद्धान्तको नामले चलेका राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रकै दलबाट छुट्टिएर किन आ–आफ्नै नेतृत्वमा पार्टी गठन गरे ? अहिलेका मधेसकेन्द्रित दलका नेता भनेका सबै ती तीन प्रमुख दलकै हिजोका नेता वा कार्यकर्ता हुन् । बिरालोले बच्चा सोहोरेझैँ स्वार्थलाई केन्द्रमा राखेर पार्टी वा मोर्चाको नाम सार्ने काममात्रै भएको छ । पार्टीको नाम नै व्यक्तीकरण हुनुको कारण सैद्धान्तिक विचलनकै असर हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कैयौं पटक फुटे, कैयौं पटक जुटे तर असफल प्रयास भयो । नेपाली कांग्रेसजस्तो पुरानो पार्टी औपचारिक नफुटे पनि अनौपचारिकरूपमा फुटेकैसरह छ । कम्युनिस्ट पार्टीहरू त झन् सयौं चिरामा छन् । कम्युनिस्ट सिद्धान्त त एउटै न हो केका लागि फुटे प्रस्टै छ । संघीय समाजवादी फोरमभित्रकै पार्टीमा पनि यही स्थानीय चुनावमा एकमत भएन । एनेकपा माओवादीबाट फुटेर गएको मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुटेर दुई भए । डा. बाबुराम भट्टराई फुटेर नयाँ शक्ति नेपाल गठन गरे । फेरि एमाले र माकेसँग घोलित भए । केही दिनपछि फेरि कांग्रेससँग मिल्न पुगे । यी सबै यस्ता दृष्टान्त हुन् जसले सैद्धान्तिक द्वन्द्वको पुष्टि गर्दैन ।
राजनीतिक दर्शन तथा सैद्धान्तिक विचलनको कारण हरेक दलमा नैतिक पतन, सांस्कृतिक–राजनीतिक आत्महत्या र तितर–वितरको समस्या प्रवलरूपमा खडा भएर गएको छ । पद, शक्ति र पैसासँग पार्टी, सिद्धान्त र संगठन साटिएको छ । सरकार गठनमा विचित्र व्यापार चल्छ । सांसद खरिद–बिक्री हुन्छन्, करोडौंको मूल्यमा किनिन्छन्–बेचिन्छन् । जसले गर्दा विपक्षी दलकालाई प्रधानमन्त्री, मन्त्री बनाउँछन् । स्वार्थको पराकाष्ठाले पार्टी नै बदल्छन् । सिद्धान्तलाई गोली मार्छन् र अन्ततः जातिको नाममा, क्षेत्रको नाममा, लिंगको नाममा, पेशाको नाममा वा आर्थिक लोभमा आफ्नो पार्टी र सिद्धान्तकै खिलाफमा उत्रन्छन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App