८ वैशाख २०८१ शनिबार
कला

कल्पना जयन्ती, तथ्य स्मृति

विमल आचार्य
आज धार्मिकहरूका लागि लक्ष्मीपूजा मात्र होइन, साहित्यिकहरूका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो । वर्षाैंदेखि हामी देवकोटालाई आजका दिन विशेष सम्झिरहेका छौँ तर आजको यही दिन नेपाली तथ्य इतिहासका पर्याय नयराज पन्तको पनि स्मृति दिवस हो । आज देवकोटाको १०९ औँ जन्मजयन्ती हो भने पन्तको १६ औँ स्मृति दिवस ।
लगभग सँगसँगैजसो अर्थात् चार वर्षले जेठा–कान्छा देवकोेटा र पन्तको सार्वजनिक बौद्धिक व्यक्तित्व पनि सँगैसँगैजसो निर्माण भएको हो । नब्बेको दशकदेखि दुवै लेखनमा उत्रिए । तर यी दुईको बाटो भने फरक छ । देवकोटा साहित्यमा अर्थात् भावुकता र काल्पनिकतामा केन्द्रित  भए भने पन्त चाहिँ खोज अनुसन्धानमा दत्तचित्त भई लागे ।
१९६६ सालको लक्ष्मीपूजाका दिन जन्मेका देवकोटा २०१६ मा दिवंगत भए । देवकोटाभन्दा चार वर्ष कान्छा पन्तको देवकोटा जन्मेकै दिन २०५९ मा निधन भयो । नेपाली साहित्यमा देवकोटाको जस्तो योगदान र स्थान छ, नेपाली इतिहास लेखन र शुद्ध्याइँमा पन्तको पनि उस्तै उल्लेखनीय योगदान छ । तर, देवकोटालाई साहित्यइतरको क्षेत्रमा समेत जसरी ‘सेलिबे्रट’ गरिन्छ, पन्तलाई चाहिँ इतिहास विधा÷विषयमै पनि कमै चिनिन्छ । यस्तो किन हुन्छ, सांस्कृतिक इतिहासकार प्रत्यूष वन्त भन्छन्, ‘यो नेपालको मात्र विशिष्ट समस्या होइन । संसारभर नै साहित्यकारको बढी वाहवाही हुन्छ र समाजविज्ञानका क्षेत्रमा काम गर्नेहरूको चर्चा निकै कम हुन्छ ।’
नेपालका विद्यालय–विश्वविद्यालयमा जसरी देवकोटालाई पढियो, उसै गरी इतिहास विषयमै पन्त र उनको काम पढिएन । इतिहासकारबीच पनि सत्यतथ्यमा ध्यान दिनेभन्दा पनि सत्ताकै पक्षपोषण गरी लेख्ने इतिहासकार बढी पढियो । ‘राज्यले केही ठूलै उपाधि दिएको भए कमसेकम मान्छेले लोकसेवा पास गर्न भए पनि नयराज पन्तको नाउँसम्म कण्ठ गर्ने थिए,’ काम भन्दा उपाधिलाई बढ्दा भाउ दिने समाजबारे वन्त थप्छन्, ‘इतिहास शिरोमणि भन्नाले बाबुराम आचार्यलाई चिनिन्छ भन्नेबाहेक उनकै कामबारे पनि कतिलाई चासो होला, थाहा होला ?’
छ सयभन्दा बढी कविता, दुई दर्जन खण्डकाव्य, आधा दर्जन महाकाव्य, एक अनुवादसहित तीन निबन्ध संग्रह, दुई नाटक, एक उपन्यास, एक कथा संग्रह गरी साहित्यमा संख्यात्मक र गुणात्मक दुवै योगदान गरेका देवकोटा आधुनिक नेपालका एक निर्माता हुन् । उसै गरी प्रचलित इतिहास लेखनमा प्रश्न उठाउँदै पाठशालासमेत चलाएका संशोधन मण्डलका हर्ताकर्ता नयराज पन्त पनि प्राचीन–मध्यकालिक नेपालका आधुनिक ऐतिहासिक व्यक्तित्व हुन् । अध्येता तथा प्राध्यापक कृष्ण गौतम भन्छन्, ‘पन्त र देवकोटा दुवै ‘आधुनिक नेपाल’ भनिने बारी जोत्न उभिएका हल गोरु हुन्, एकै जुवामा नारिएका । तथ्य र कल्पना नाम गरेका यी गोरुले नै महँगो फसल उमारेका छन्, आआफ्ना क्षेत्रमा ।’
देवकोटाको सम्झना र सम्मान बढी भएको होइन । उनले आफूलाई महाकवि भनियोस्, पूजियोस् भनेर भनेका पनि होइनन् । तर, नयराज पन्तलाई समाजविज्ञानको इतिहास विधिका प्रतिनिधि पात्र मान्ने हो भने यहाँ कल्पनाको जति वाहवाही हुन्छ, त्यसका तुलनामा तथ्यको निकै कम । देवकोटा (कल्पना)–जयन्ती मात्र होइन, पन्त (तथ्य)–स्मृति दिवस पनि हो, आज ।

प्रकाशित: २ कार्तिक २०७४ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App