१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विप्लवको ‘अभिजित’

काठमाडौं- कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११ गते बजारमा आउनेछ । सोमबार ललितपुरको झम्सिखेलमा नयाँ पुस्ताका आख्यानकार बुद्धिसागर र प्रकाशक बुकहिलका भूपेन्द्र खड्कासँग गफिँदै प्रतीकले उपन्यासको रचनागर्भ र विषयवस्तुको बारेमा जानकारी गराए ।
‘मैले कहिलै पनि छाप्छु भनेर उपन्यास लेख्न थालेको थिइँन । केही यस्ता कुरा थिए जसलाई म कवितामा अभिव्यक्त गर्न सक्दिनथे । त्यसैले यो उपन्यास लेखें,’ प्रतीकले भने । दीप श्रेष्ठको आवाजमा सजिएको कालजयी गीत ‘हर रात सपनीमा ऐंठन हुन्छ’का गीतकार विप्लवले अभय सुब्बा एन्ड स्टिभ इन्जिन्सका लागि पनि केही गीत लेखेका छन् । प्रतीकले बुद्धिसागरको प्रयासले उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी गराए ।
‘मैले सन् २००८ देखि  लेख्न थालेको । ४ वर्षपछि सकियो । त्यतिबेला अमेरिकाम नै थिएँ । बुद्धिसागरसँग कुरा हुन्थ्यो । उसले एक दिन के गर्दै हुनुहन्छ भनेर सोध्यो । मैले उपन्यास लेख्दैछु भनेको थिएँ,’ प्रतीकले बुद्धिसागरसँग गफिने क्रममा भने, ‘ नेपाल आउँदासम्म  बिस्र्यो होला भनेको सम्झिरहेको रैछ । दाजु उपन्यास के भयो भनेर सोध्यो । मैले उपन्यास त तयार छ तर हाम्रो पुस्तक कसले छाप्छ र भनेको थिएँ, बुद्धिले नै भूपेन्द्रलाई भेटाइदियो । यसरी पुस्तक अहिलेको अवस्थामा आइपुग्यो ।’ उनले उपन्यासमा आफ्नो बुबाका स्मृतिहरू पनि प्रतिबिम्बित हुने जानकारी गराए । ४ वर्षमा सकिएको उपन्यास सम्पादनका लागि भने प्रतीक करिब ५ वर्ष खर्चिएका थिए ।
बुद्धिसागरले भाषाका हिसाबले पनि ‘अविजित’ धेरैको रोजाइमा पर्ने बताए । उनले भने, ‘विप्लव दाइ बोल्दा पनि बडा फारु गरेर बोल्नुहुन्छ । मैले उपन्यास पुरै पढ्न पाएको छैन । तर, २० पेजको पुस्तक अंश पढेको छु । यति पढ्दा पनि थाहा हुन्छ भाषिक प्रयोगका लागि अविजित प्रतिक्षित छ ।’
प्रकाशकको रुपमा बोल्दै भूपेन्द्रले उपन्यास प्रतीकले भागेको कालखण्डको काव्यिक प्रस्तुति रहेको बताए । ‘उपन्यासमा प्रतिक दाइले बाँचेको कालखण्डको फरक प्रस्तुति देख्न पाइन्छ । यसका लागि उहाँले जुन शैलीको भाषा प्रयोग गर्नु भएको छ त्यो उहाँले लेख्ने कविता जस्तै छ । काव्यिक र निजत्वले भरिएको,’ खड्काले भने । उपन्यास बुक हिल पब्लिकेसन्जले बजारमा ल्याउन लागेको हो ।

 

प्रकाशित: २ कार्तिक २०७४ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App