७ वैशाख २०८१ शुक्रबार
कला

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

काठमाडौं- तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन गर्ने क्रम पछिल्लो समयमा बढिरहँदा यसपटकको तिहारमा यी दुई फिल्म प्रदर्शन हुन लागेका हुन् ।
नायिका रेखा थापाको रेखा फिल्मस्ले नायक आर्यन सिग्देलको आर्यन सिग्देल इन्टरटेनमेन्टसँग सहकार्य गर्दै निर्माण गरेको फिल्म ‘रुद्रप्रिया’मा रेखा र आर्यनको अनस्क्रिन जोडी दर्शकले हेर्न पाउनेछन् । फिल्ममा गायक तथा संगीतकार राजन इसानको पनि अभिनय छ ।
सात वर्ष अघि फिल्म ‘कसले चो¥यो मेरो मन’ मा अभिनय गरेपछि अलग्गिएका आर्यन र रेखाको जोडी ७ वर्षपछि ‘रुद्रप्रिया’मार्फत् पुनरागमन गर्न लागेका हुन् । एसिड आक्रमणमा परेपछि  युवतीले भोग्ने विषयलाई प्रस्तुत गरिएको फिल्म ‘रुद्रप्रिया’को लेखन तथा निर्देशन सुदीप बबी भुपाल सिंहले गरेका हुन् । फिल्मले गत सोमबार राजधानीमा प्रिमियर सो गरेको थियो । प्रिमियरमा फिल्म हेर्नेले फिल्मको विषय र कलाकारको अभिनय राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
एमके पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत छ । त्यस्तै त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रानी’को निर्देशन दयाराम दाहालले गरेका हुन् । फिल्ममा मलिना जोशी, अनुपविक्रम शाही, सारुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
भानु महर्जनको प्रस्तुतिमा विमल गुभाजुले निर्माण गरेको फिल्ममा सुशन खड्काको पनि अभिनय रहेको छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, अर्जुन जिसीको सम्पादन, बब्बु थापाको नृत्य, यम थापाको लेखन र पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायांकन छ । फिल्मबाट मनिष सुन्दर श्रेष्ठ र शारुक ताम्राकारले डेब्यु गर्दैछन् । मनिष अभिनेता शिव श्रेष्ठका भतिजा हुन् भने शारुक चरित्र अभिनेता सानु ताम्रकारका छोरा हुन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App