६ वैशाख २०८१ बिहीबार
समाज

बारामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

प्रहरीले कुटेको देखाउँदै बकुलियाका स्थानीय महिला । तस्बिर : उपेन्द्र यादव

बारा – जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलियामा प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको विषयमा बिहीबार राती प्रहरी र गाउँले बीच झडप हुँदा दुबै तर्फ गरी आधा दर्जन घाइते भएका छन्। 

झडपलाई नियन्त्रणमा लिनको लागि छ राउण्ड हवाई फायर समेत गरेको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक भुवनेश्वर साहले बकुलियाका कमल सहनीको घरमा जुवा भइरहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिन पुगेको प्रहरी माथि नै जुवाडे र गाउँलेहरुले ढुंगा मुढा गरेको बताएका छन्। 

जुवाको खालबाट नगदसहित पक्राउ परेका एक दर्जन जुवाडेलाई ल्याउने क्रममा प्रहरीमाथि ढुंगा मुढा गरेर जुवाडेलाई गाउँलेहरूले छुटाएको र घटनालाई तनावमय बनाइएको साहले आरोप लगाए।  

घटना उग्र रुप लिएकोले त्यसलाई साम्य बनाउनको लागि प्रहरीले बाध्य भएर ६ राउण्ड हवाई फायर गरेको उनले बताए। 

गाउँलेहरूको अवरोध पछि अन्य जुवाडे भाग्न सफल भएपनि शंकर चौधरी १५ हजार नगद सहित पक्राउ परेको साहले जानकारी गराएका छन्। 

जुवाडेलाई नियन्त्रण लिने क्रममा गाउँले र प्रहरी बीच विवाद भएपछि निर्दोष गाउँलेलाई समेत प्रहरीले कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन्। 

प्रहरीले रातीको समयमा घरमा प्रवेश गरेर सुतिरहेको अवस्थामा विनाकारण कुटपिट गरी घाइते बनाएको स्थानीय लक्ष्मी देवी सहनीले आरोप लगाएकी छिन्। 

उनले जुवा अर्कै टोलमा भएको र हाम्रो घर अर्कै टोलमा भएपनि प्रहरीले रिस साध्नका लागि कुटपिट गरेको आरोप सहनीले लगाइन। 

प्रहरी नायब उपरीक्षक साहले प्रहरीले कुनै निर्दोषलाई कुटपिट नगरेको तर्क गर्दै गाउँलेहरूकै ढुंगा मुढाबाट धेरै प्रहरी सहित निर्दोष स्थानीयहरू पनि घाइते भएको बताए। 

घटनालाई उत्तेजित बनाउने समूहहरूलाई पहिचान गर्ने कार्य समेत शुरु भएकोले केही दिनमै यसको सत्य कुराहरू बाहिर आउने साहले बताए । 

 

प्रकाशित: ३ कार्तिक २०७४ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App