खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोतोचुङ (चुमाखु) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका स्थानीय देउसीभैलीसँगै अधिया नाचमा रमिरहेका छन् । तिहारमा खेलिने देउसीभैलीसँगै बाजेपुर्खाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेको अधिया नाचमा चुमाखु र कात्तिकेका स्थानीय रमाइरहेका हुन् ।
बोतोचुङ र कात्तिकेमा लक्ष्मीपुजा गरेपछि बिहिबार साँझदेखि देउसीभैलीसँगै अधिया नाच सुरु गरिएको हो । लक्ष्मी पुजा गरेको दिनदेखि दशमीका दिनसम्म मादल बजाउँदै गाइने र नाचिने अधिया पछिल्लो समय औपचारिकतामा मात्र सिमित हुन पुगेको बोटोचुङका स्थानीय युवा संघर्ष किरातीले बताए ।
तिहारका बेलामा आँगनमा आफन्तसँग भेला भएर मादल बजाउँदै अधिया गीत गाउँदै नाचेर रमाईलो गर्ने प्रचलन छ । सुरुमा दुई जना मारुनी राखेर पूजाआजा गरेर विधिवतरुपमा सरस्वती जगाए पछि अधिया सुरु गरिन्छ ।
हलेसीको कात्तिकेमा भने अधिया गाएपछि गाउँबाट टाढा गएर भालेको बलि दिएर फर्किएपछि मात्र अधिया समापन गर्ने प्रचलन छ । बली दिन गाउँबाट टाढा जानेक्रममा महिलालाई भने जान निषेध छ ।
प्रकाशित: ३ कार्तिक २०७४ ११:४६ शुक्रबार