coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सामाचकेवा पर्व शुरु

विराटनगर – मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजबाट विधिवत रुपमा शुरु भएको छ। 

कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो। 

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पुर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन्। 

काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ। 

भगवान कृष्णकी छोरीको नाम सामा थियो। आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाई साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो। 

यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ। ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केहि कमी आएको महशुस गर्न थालिएको छ। 

भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्। भगवान कृष्ण आवशेमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए। 

सामाको भाइ साम्बले जव यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गरे। 

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ। 

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङ्गमा रङ्गने कार्य गरिन्छ। 

यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ। सोही क्रममा आपूmलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् । जुन यस प्रकारका छन् । 
गामके अधिकारी तोहे बड्का भैंया हो। 
भैया, पोखरी खुनाइ दिह, चम्पा फूल लगाइ दिह हो.. 

अर्थात, गाउँको अधिकारी वा गाउपालिकामा निर्वाचित पदाधिकारीका रुपमा रहनु भएका दाजुलाई सम्बोधन गर्दै गाउँमा पोखरीको निर्माण गर्नु र फूल रोप्न अर्थात विकास निर्माणको कार्य गर्न गीतको माध्यबाट आग्रह गरिन्छ। 

यस पर्वमा विभिन्न प्रकारका सयौं लोकगीतहरु गाउने गरिन्छ। गीतको माध्यमबाट दिदीबहिनीले दाजुभाइलाई सुखदुःख सुनाउने र उपभोग्य वस्तुहरुको पनि माग गर्ने गरिन्छ। 

आ–आफ्ना आँगनमा त्यस्ता गीत गाएर सो पर्व समापनका लागि महिलाहरु बाँसको टोकरीमा माटाका निर्मित मूर्तिलगायत पुजा सामाग्री बोकेर गीत गाउँदै चौंवाटो, खुल्ला चौंर वा फुलबारीमा पुग्ने गर्छन्। सम्पूर्ण टोलकी महिलाहरु एक ठाउँमा भेला भएर पर्वको अन्तिमरुप दिने गर्छन्। 

सो अवसरमा सवैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ। एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ। 

यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाइका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ। प्रभाषचन्द्र झा /रासस

प्रकाशित: ४ कार्तिक २०७४ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App