coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

चाडपर्व मनाउँदिन

- शोभा ज्ञवाली

भर्खरै दसैँ सिद्धियो । प्रायः सबै नेपालीले यो पर्वलाई हर्ष–उल्लासका साथ मनाए । समाजमा हरेक मानिसले हरेक कुरालाई आ–आफ्नो तरिकाले हेर्छ र सोच्छ । त्यो उसको अधिकार नै हो । र, मैले जहिले पनि यी सानातिना सोचाइको भिन्नतालाई छोटो रुपमा पस्किन चाहन्छु । साथै, समाजमा रहेको विभिन्न किसिमका मुद्दा, तिनमाथि भइरहेका कतिपय छलफललाई पाठकसमक्ष ध्यानार्कषण गराउन चाहन्छु ।

गत नौरथाको बेला थियो । म एउटा समूहमा थिएँ र त्यहाँ चाडपर्व किन मनाउने भन्ने विवाद चलिरहेको थियो । त्यहीँ एक जना वयस्क जोडीले चाडपर्वका बारेमा एकदमै हलुका टिप्पणी गरिरहेका थिए । उनीहरुको टिप्पणी र सतही विश्लेषणलाई त्यस बैठकमा प्रायः सबैले होमा हो मिलाइरहेका थिए ।
मलाई भने एकदमै आश्चर्य लाग्यो । चाडपर्वप्रतिको हाम्रो हलुका विश्लेषण र सतही टिप्पणीका कारण आउँदो पिँढीलाई हामी के सिकाइरहेका छौँ ? हाम्रो समाज, देशप्रति अनि आगामी पिँढीप्रति हाम्रा विशिष्ट परम्परा जोगाउने र जारी राख्ने सन्दर्भमा केही जिम्मेवारी छैन त ?
ती तर्कबहादुरले भन्दै थिए, ‘बाल्यकालदेखि अहिलेसम्म दसैँ मनाउँदै आएको ५०/५५ वर्ष भयो । उही टीकाको जमघट, त्यही चङ्गा उडाउने कार्यक्रम, आफन्तको आउजाउ कति गर्नु ? अब त वाक्क भइसकियो । म त चाडपर्वका बेला सुत्छु अनि किताब पढेर बस्छु ।’
किताब पढ्नु राम्रो हो । फुर्सदका बेला वा फुर्सद निकालेर किताब पढ्नु र किताबमार्फत् अर्को संसार चिहाउनु पक्कै पनि असल काम हो । किताब जत्तिको अभिन्न मित्र हाम्रालागि अरु केही हुन सक्तैन । मुडअनुसार किताब छनोट गरेर पढ्न सके घरैमा बसीबसी सारा संसार नियाल्न सक्छौँ । इतर समाज वा आफ्नै समाजका पनि मुद्दा, राजनीति, अर्थ आदिआदि सबै हामीले बसी बसी पाउँछौँ ।
तर उहाँले चाडपर्वबारे जुन हलुका विश्लेषण गर्नुभयो, त्यो मलाई अलि चित्त बुझेन । चाडपर्व किन मनाउने ? चाडपर्व कताबाट आयो ? कहिलेदेखि सुरु भयो र कहिलेसम्म मनाउने ? जस्ता प्रश्न उठ्न सक्छन् र उठ्नु स्वाभाविक पनि हो ।

चाडपर्व र संस्कृति भनेको समाज र व्यक्ति जोड्ने कडी हुन् । हरेक चाडले मानिस–मानिसबीच जोड्छ । मानिस जहिले पनि एक्लिन खोज्छ । समाजमा बस्न त ऊ चाहन्छ किनभने समाजको विकल्प छैन तर ऊ समाजभन्दा अलग्गै टापु पनि निर्माण गर्न खोज्छ । चाडपर्वले भने अलग्गै टापुमा मानिस नएक्लियोस् भनेर तिनलाई पुनः समाजसँग जोड्ने काम गर्छ ।
दसैँमा मान्यजनकहाँ टीका लगाउन जानु भनेको परिवार जोड्नु हो । समाज जोडिनु हो । एकअर्कासँगको सम्बन्ध नएक्ल्याउनु हो । समयक्रममा मानिसका विचार, आनीबानी, दायित्व, अधिकार सबै बद्लिँदै जान्छ । हामीले जहिले पनि सोच्दा आफ्नो लागि मात्र होइन समाज, परिवार, साथीभाइ आदि प्रति पनि सोच्नु पर्दछ । कुनै पनि विचार राख्दा आफ्नो हितका लागि मात्र राख्ने होइन, समाजप्रति मेरो जिम्मेवारी के हो भन्ने पनि सोच्नुपर्छ ।

दसैँ भन्नेबित्तिकै टाढाटाढाबाट आफन्तकहाँ आइपुग्ने चाडका रुपमा हामी बुझ्छौँ । आफन्त जोड्ने यस्तो पर्वको महŒव नदेख्नु पक्कै पनि हाम्रो विचारको ठूलो स्खलन हो । चाडपर्वले व्यस्त जीवनलाई जोडिरहन भूमिका खेल्छ । चाडपर्वले हाम्रा बाल्यस्मृतिले पनि झक्झक्याउने काम गर्छ । हरेक दुःख बिर्सेर पुनः  सुखमय जीवन अँगाल्न प्रेरित गर्छ ।
मानिस सामाजिक प्राणी हो । ऊ एक्लो जीवन बिताउन सक्दैन । बिताउने प्रयास ग¥यो भने पनि ऊ चाँडो डिप्रेसनको सिकार बन्न पुग्छ । अन्य रोगले पनि क्रमैसँग पछ्याउन थाल्छ । मानिस यस्तो प्राणी हो, जसले हरेक दुःख, सुख, घामछाया, उकाली–ओराली आदि सबै किसिमका उतारचढावलाई व्यवस्थित गर्दै त्यसैमा रमाउँदै जीवनयापन गर्न खोज्छ । त्यसरी गर्नु पनि पर्दछ । आफूले सिकेका कुराहरु जिम्मेवारीपूर्वक नयाँ पिँढीलाई हस्तान्तरण गर्न सक्नुपर्दछ । मानिसको मुख्य धर्म पनि यही नै हो ।

म को हुँ ! मेरो घर, परिवार र समाजप्रति कर्तव्य के हो ? मेरो संस्कृति के हो ? साथै यसको जर्गेना कसरी गर्ने भन्ने कुरामा गहन भएर सोच्नै पर्छ । हामीले सर्वोत्कृष्ट चिज अनुशरण गर्नुपर्छ । चाडपर्वका राम्रा कुरालाई प्रोत्साहन गर्नुपर्छ । संस्कृतिका राम्रा पक्षलाई अनुशरण गर्नुपर्छ । हामीले तिनै कुरालाई पछिल्ला पिँढीलाई सुम्पने हो । आज संसारका कैयौँ विकसित मुलुकले आफ्नो संस्कृति गुमाएका छन् र गुमाएपछि पछुताएका पनि छन् । चाडपर्व र संस्कृति भनेका हामीलाई जोड्ने अवसर हुन् । यस्तो अवसरको सदुपयोग गर्नुपर्छ । यसलाई हरेक व्यक्तिले आफ्नो गच्छेअनुसार अझ वृहद् बनाउनुपर्छ ।
यो दसैँ वा तिहारमा मात्र लागू हुँदैन, हाम्रो देशको हरेक चाडबाड, संस्कृति र परम्परामा लागू हुन्छ ।

 

प्रकाशित: ५ कार्तिक २०७४ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App