४ वैशाख २०८१ मंगलबार
राजनीति

गोरखा २ मा भट्टराई र श्रेष्ठ भिड्दै

गोरखा- गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ दुवैले जित्ने दाबी गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफ्नो जित सुनिश्चित रहेको बताए ।
‘वामपन्थी एकता, संगठन र उच्च मनोबल हाम्रो जित्ने आधार हो’ मनोनय दर्ता गराएपछि पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘जित पक्का छ ।’ गोरखा २ उनको गृह क्षेत्र हो । श्रेष्ठ गोरखाबाट निर्वाचनमा पहिलोपटक चुनावी प्रतिपर्धा गर्दैछन् । भट्टराई भने संविधानसभा निर्वाचनमा गोरखा २ बाट एकपटक र क्षेत्र १ बाट पनि एकपटक बिजयी भइसकेका छन् । गोरखामा पहिलो पटक उम्मेदवार भए पनि जित्ने आधार प्रष्ट रहेकाले संविधान कार्यान्वयनमा जोड दिन आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए ।
भट्टराई नेपाली कांग्रेसको सहयोगमा गोरखा २ बाट निर्वाचनमा प्रतिस्प्रर्धा गर्ने भएका हुन् भने श्रेष्ठ एमालेको समर्थनमा चुनावी मैदानमा उत्रिएका हुन् । मनोनयन दर्ता गराउँदै भट्टराईले भने, ‘मेरो जन्मठाउँ हो, राजनीतिक धार र परिवेस परिवर्तन भएका बेला छ, मलाई जनताले जिताउँछन भन्नेमा ढुक्क छु ।’ कांग्रेसको साथ पाएका उनले एक भएर चुनावी अभियानमा जुट्ने बताउँदै भने ‘कांग्रेसको साथ मिलेको छ, यसअघिको विरासत कायम हुन्छ ।’
माओवादी र एमाले नेताकार्यकर्ताको साथमा श्रेष्ठ उम्मेदावरी दर्ता गराउन पुगेका थिए । उनको प्रस्तावक विकास वाग्ले र समर्थक एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ छन् । यस्तै भट्टराई आफ्ना र कांग्रेसका नेताकार्यकर्ताको जुलुस लिएर मनोनय दर्ता गराउन पुगेका थिए । उनको प्रस्तावक रमेश पोखरेल छन भने सर्मथक नेपाली कांग्रेस जिल्ला सभापति हरिबहादुर घले छन् ।
यस्तै गोरखा १ मा नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठ नयाँ शक्तिको समर्थनमा चुनाव लड्दैछन् । कांग्रेसका जीवनप्रेम श्रेष्ठ प्रस्तावक र नयाँ शक्तिका लक्ष्मण गुरुङको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा बाम गठबन्धबाट माओवादी प्रदेश नम्बर ४ का इन्चार्जसमेत रहेका हरि अधिकारीले उम्मेदवारी दिएका छन् । लोकप्रसाद बञ्जारा प्रस्तावक र एमाले जिल्ला उपाध्यक्ष यादव बस्नेत समर्थनमा अधिकारीले उम्मेदवारी दर्ता गराए ।
त्यसैगरी प्रदेशसभाका लागि नेपाली कांग्रेसबाट गोरखा १ (क) मा  क्षेत्रीय सभापति धिरन थापा र (ख) मा महासमिति सदस्य राजेन्द्र बजगाई र गोरखा २ (क) मा नयाँ शक्तिका हरिशरण आचार्य र (ख) मा नेपाली कांग्रेस महासमिति सदस्य प्रकाशचन्द्र दुवाडीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बाम गठबन्धबाट गोरखा १ को (क) मा लेखबहादुर थापा र (ख) मा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत तथा २ को (क) बाट कमला नहर्की र (ख) बाट  अमर तमुले उम्मेदावरी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन बाजागाजासहित गाउँगाउँबाट बस रिजर्भ गरेर नेता कार्यकर्तालाई सदरमुकाम भेला गराइएको थियो । दलका नेता कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना उम्मेदवारलाई मनोनय दर्ता गराउन लगेका थिए ।

प्रकाशित: ६ कार्तिक २०७४ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App