६ वैशाख २०८१ बिहीबार
विचार

समाज बुझौँ

सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकजस्ता विभिन्न समस्याबारे बेलाबखत विभिन्न सभा, गोष्ठी, छलफल, कार्यशालाहरू देशभित्र र बाहिर आयोजना गरिन्छन् । समाजका विभिन्न क्षेत्रका बौद्धिक वर्गले समेत आफ्ना विचार र विश्लेषण दिइरहेका हुन्छन् तर पनि समाज बुझ्नलाई यी आधार अपर्याप्त नै हुन्छन् किनकि लिखित इतिहास, उक्त समाजबारे लेखिएका पुस्तक, वर्तमान र भूतका सभा, गोष्ठी, छलफल वा बौद्धिक वर्गद्वारा लिखित लेख समाजका अत्यन्तै साना विषयलाई गहनतासाथ सामाजिक सिद्धान्तलाई आधार बनाई त्यसलाई अनुसरण गर्दै अनुसन्धानात्मक अध्ययन गरेको कमै पाइन्छ । जसको परिणामस्वरूप ती अध्ययनका आधारमा लिइने समाधान दीर्घगामी हुनसक्दैन र केही दिनका लागि ती समस्या हराएजस्तो देखिए पनि समस्याको पुनरावृत्ति भइरहन्छ ।

चूडामणि शर्मा, लोकमानसिंह कार्की, तीर्थ खनियाँ वा गोपाल खड्काजस्ता नामहरूका पछाडि कुन शक्तिले काम गरेको हो, सो बुझ्न समाजशास्त्र–सामाजिक सिद्धान्तले सहज बनाउँछ ।

समाजको वास्तविक बुझाइ त्यस समाजभित्रका एक सामान्य व्यक्तिको उक्त समाजमा अवस्थित सामाजिक संगठनहरूसँगको सम्बन्ध र तालमेल कतिको सहज वा गाह्रो छ ? सेवा दिने र लिने दुवै पक्षको सन्तुष्टि र व्यवहारगत चुनौती कत्तिको छ, त्यो सबै कुराले एउटा प्रस्टता व्यक्त गर्छ । सामाजिक कार्य गर्न खोलिएका संस्था होस् वा कृषकलाई लक्षित गरी खोलिएका कृषि वित्तीय संस्थाहरू, तिनमा वास्तविक लक्षित समूह त्यस संस्थाभित्र छिर्न कति सहज महसुस गर्छन् । सेवा र सुविधाको सहजता त त्यसपछिको अवस्था हुन्छ । हुन त कसैका लागि रोक लगाइएको हुँदैन भित्र छिर्न, तर पनि किन त्यही समाजभित्र अवस्थित ती संस्थाभित्र छिर्न समेत सहज महसुस गर्दैनन् लक्षित समूह ? यस्ता कुरा ती सम्बन्धित संस्थाको कुनै प्रतिवेदनमा उल्लेख हँुदैन ।
सम्बन्ध एकभन्दा बढी सामाजिक अवयवहरूसँग रहेको कुरा छर्लंग हुँदैन किनकि सम्बन्धित संगठनले त्यसलाई स्पष्ट रूपमा बाहिर ल्याउन चाहेका हँुदैनन् वा भनौँ लुकाउन खोजेका हुन्छन् । जस्तो कि, सडकमा रोकी राखेको शौचालयसहितको बस आफ्नो उपस्थिति पाँच मिटर वरिपरिसम्म दिइरहेको हुन्छ भने हवाइजहाजभित्रको शौचालय त्यही ढोका बाहिरसम्म पनि थाहा हुन्न । दुवै शौचालयको प्रयोग गर्ने उद्देश्य एउटै हो र पनि किन यस्तो त ? यसभित्र लुकेको तŒव प्रयोगकर्ताको आर्थिक हैसियत हो । तिनका हैसियतलाई आँकलन गरी दिइएको सुविधा जसको उद्देश्य समान भए पनि त्यसको सम्भार र सञ्चालन फरक किसिमले गरिन्छ । एकै समाजमा रहेका ती दुई थरी प्रयोगकर्ताको वास्तविकता सबैलाई थाहा हुन्छ र पनि कुनै महत्वपूर्ण स्थान लिन पाउँदैन, कुनै लेख, पुस्तक वा छलफलमा । एक महत्वहीन कुराका रूपमा रहन्छ वा भनौँ लुकाइन्छ । यहाँ सेवा सुविधामाथि आर्थिक हैसियतको असर बुझ्न सकिन्छ र जसले यो तथ्य यो तहमा गएर बुझ्न सकेको हुन्छ, उसका लागि चूडामणि शर्मा, लोकमानसिंह कार्की, तीर्थ खनियाँ वा गोपाल खड्काजस्ता नामहरूले झस्काउँदैन । बरू यी नामहरूका पछाडि कुन शक्तिले काम गरेको हो, सो बुझ्न सहज बनाउँछ र समाजको वास्तविक अवस्था बुझिन्छ ।
केही अघि ललितपुरको एउटा निजी विद्यालयमा प्रधानाध्यापकद्वारा केही छात्राहरूसँग गर्दै आएको यौन दूराचारको विषय बाहिर आयो र त्यसपछि मात्रै सबैले चर्चा परिचर्चा गर्न थाले । त्यसभन्दा अगाडि त्यही कारणले गर्दा विद्यालय छोडेका र कति छात्राहरूलाई ती प्रधानाध्यापकसँग सचेत पनि रहन संकेत गरेको तथ्यसमेत बाहिर आयो । जबसम्म यो घटना बाहिर आएको थिएन, तबसम्म यो सबै लुकाइएको थियो । ता कि उक्त पीडक व्यक्ति र संस्थाको शक्ति यथावत रहिरहोस् । समाजमा अवस्थित हरेक संगठनले आफ्नो शक्तिमा कुनै किसिमको ह्रास नआओस् भनी आफ्ना गल्ती र कमजोरीहरूलाई भरमग्दुर कोसिस गरी लुकाएका हुन्छन् । यो घटनामा पीडित हुने कारण के–के होलान् त ? त्यो समाजमा सेक्ससँग सम्बन्धित कुरा खुलेर नगर्नु । ती छात्राहरू जो वर्षौंदेखि पीडा भोग्दै थिए तिनलाई कसैले पनि यसरी छुने, हेर्ने वा इसारासम्म गर्न पाउँदैनन् किनकि त्यो सेक्सुअल हरास्समेन्ट हुन्छ भनी आफ्नो अधिकारबारे केही जानकारी नहुनु । तिनीहरूले पाएको सामाजिकीकरणले तिनीहरूमा त्यति आत्मविश्वास भर्न नसक्नु । अथवा यस्तो गर्ने सजायको भागीदार हुन्छ, समाजमा बहिष्कृत हुन्छ जस्ता उदाहरण आफ्ना वरिपरि नदेख्नु ।
कतिपय यस्ता कार्यक्रम ठूला ठूला होटेलमा चलाइरहेका संस्थाहरू, प्रहरीका सम्पर्क नम्बर जसले विशेष गरी महिलासँग सम्बन्धित लैंगिक हिंसा हेर्छन्, किन ती किशोरीहरूसम्म पुग्न सकेन ? काठमाडौँभित्रै रहेका सामाजिक विविधता कस्ता छन् एकातिर तिनै उमेरका किशोरीहरू लैंगिक हिंसा अन्त्यका लागि विभिन्न सभा–गोष्ठीमा आमन्त्रित हुन्छन् र कार्यक्रमको सफलतामा जोडदार ताली पिट्छन् र अर्कोतिर त्यही उमेरका किशोरीहरू आफूमाथि वर्षौंदेखि हुँदै आएको यौनजन्य हिंसा चुपचाप सहेर बसेका हुन्छन् । यहाँ पनि समाजका विभिन्न सिद्धान्तहरू एकसाथ काम गरेका हुन्छन् ।
वास्तवमा भन्ने हो भने सामाजिक सिद्धान्तको जन्म परम्परागत समाज र आधुनिक समाजबीचको फरकलाई तार्किक रूपले व्याख्या गर्ने क्रममा भएको हो । म्याक्स वेबरले लेखेका छन्, परम्परागत समाज बढी भावनात्मक हुन्छ भने आधुनिक समाज भविष्यमुखी वा भनौँ फाइदामुखी हुन्छ । कार्ल माक्र्सले समेत यो सिद्धान्तको पक्षपोषण यो भनेर गरेका छन् कि हरेक किसिमका समाजमा विभेद त हुन्छ नै तर विभेद गराइको तरिका मात्रै फरक हुन्छ । अहिलेको हाम्रो समाजमा ठग्न पाउनुपर्छ, भ्रष्टाचार गर्न पाउनुपर्छ र लुट्न पाउनुपर्छ भन्नेहरूको बढ्दै गएको भिडलाई यी माथिका सिद्धान्तहरूले बुझाउन मद्दत गर्छ । जब समाज सरलबाट जटिल हुँदै जान्छ त्यसभित्रका समस्या पनि सरलबाट जटिलतातर्फ जेलिँदै गएका हुन्छन् । परम्परागत समाज जहाँ सामाजिक प्रतिष्ठा नैतिक चरित्रद्वारा निर्धारित गरिन्छ भने आधुनिक समाजमा त्यसको परिभाषा बदलिएको हुन्छ । कालो चिल्लो गाडी, ठूला–ठूला पर्खालभित्र रहेका बंगलामा बस्ने समाजका प्रतिष्ठित व्यक्तित्वका रूपमा सभा–समारोह र सार्वजनिक स्थलहरूमा प्रतिष्ठित बनाइन्छन् जसले गर्दा ती प्रतिष्ठा बटुल्न मानिस भ्रष्टाचार गरेर भए पनि अकूत सम्पत्ति कमाउन उत्सुक हुन्छन् र साथै समाज नियन्त्रण गर्ने पहिला औपचारिकभन्दा अनौपचारिक निकाय बढी कार्यरत रहेका हुन्छन् जस्तो कि, लोकलाज, पापपुण्य, सामाजिक बहिष्कार आदि तर आधुनिक समाजमा सामाजिक नियन्त्रण गर्ने औपचारिक निकायहरूका संरचना नै स्वतन्त्र र विधिको शासनअनुरूप कार्य गर्न नसक्ने बनाइएको हँुदा  अराजकता र बेथितिले समाजलाई ढाकिदिन्छ । जसले गर्दा सामान्य व्यक्तिहरूलाई झन्झन् त्रस्त बनाइँदै लगिन्छ भने टाठाबाठालाई प्रोत्साहन हुने वातावरणको निर्माण हुन्छ ।
स्थापित राजनीतिक दलहरूका कार्य र व्यवहारले आसेपासेबाहेक आमजनता क्रुद्ध छन् र संरचनागत परिवर्तनको अपेक्षा सबैलाई छ तर पनि नयाँ स्वच्छ छवि लिएर पछिल्लो चुनावी मैदानमा उत्रेका केही राजनीतिक दललाई समाजले बहुमत दिएनन् र आउने चुनावमा समेत खासै फरक हुँदैन । यसको मतलब ती दलका सोच, विचार वा व्यक्ति उपयुक्त नभएर हो वा अन्य कुनै कारण छ ? जहाँ समाजमा कुनै फिरादपत्र दर्ता गर्न त पुरानै भ्रष्ट भनी चिनिएका नेतालाई गुहार्नुपर्छ भने न्याय पाउन झन् केके भोग्नुपर्ने अवस्था छ, यस्तोमा नयाँ अनुहार कहाँ काम लाग्यो त ? भन्ने बुझाइ र भोगाइ आमजनतासँग रहेसम्म तिनले कसरी परिवर्तन रोज्ने ? यसमा व्यवहार र प्रभावको सिद्धान्तले काम गरेको हुन्छ । ती स्वच्छ छवि भनाउन मन पराउने राजनीतिक दलहरू पनि समाजलाई वास्तवमा बुझ्न कोसिस गरेका देखिँदैनन् । सामाजिक सञ्जाल र होटेलभित्रका भिडका आधारमा आफ्नो लोकप्रियता आँकलन गरी आफ्ना कार्ययोजना बनाउँदा समाजको अधुरो अध्ययन हुन्छ ।
सामाजिक सिद्धान्त जुन होटेलका हलहरूमा भेटिँदैन । किताबका पानाहरू वा लेख रचनाहरूमा हुँदैन । वास्तविक समाजलाई बुझी त्यसको शक्ति आँकलन गर्नुका साथै कमजोरीसमेत जान्न जरुरी हुन्छ जुन क्षणिक प्रयासद्वारा सम्भव हँुदैन । परिवर्तन ल्याउने हो भने समाजलाई सूक्ष्मरूपमा बुझ्नुपर्छ ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App