coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

काठमाडौँका सडक विस्तार र समस्या

काठमाडौँलाई आधुनिक सुविधा सम्पन्न सहर बनाउने तपाईँ हामीले नै हो । यसको इतिहास, प्राकृतिक सम्पदा र संस्कृतिलाई जोगाएर तिनको संरक्षण र सम्वर्धन गरेर यो सहरलाई व्यवस्थित र सम्मानजनक तरिकाले बस्न योग्य सहर बनाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ । घना बस्ती, अव्यवस्थित सहरीकरण र विकासप्रति हाम्रो सोचका कारण काठमाडौँ उपत्यकामा विकास निर्माणका काम सम्पादन गर्न कठिन छ । काठमाडौँको सडक बिस्तारको मात्र प्रगतिको कुरा गर्ने हो भने पनि पटक्कै सन्तोष गर्ने ठाउँ देखिँदैन, समस्याका चाङ छन् र ती समस्या दिन÷प्रतिदिन थपिँदै जाँदा आमनागरिकले अनेकन सास्ती खेप्नुपरेको छ । यस्तो अवस्थामा काठमाडौँ उपत्यकाको विकासको गतिमा सुधार आउने विषय ज्यादै चुनौतीपूर्ण हुँदै गएको छ ।

सहरलाई गहनाले झैँ शृंगार गर्ने सहरी सडक आज कुरूप देखिएका छन् । सडक यतिखेर इतिहासमै अस्तव्यस्त र धुलोधुवाँको प्रकोपबाट आक्रान्त छन् ।

१)    अनगिन्ति योजना
आज चौधौँ योजना अवधिसम्म आइपुग्दा काठमाडौँ उपत्यकाको विकासमा धेरै आयोजना कार्यान्वयन भए र अझ धेरै आयोजना कार्यान्वयन हुन बाँकी छन् । सहरलाई गहनाले झैं शृंगार गर्ने सहरी सडक आज कुरूप देखिएका छन् । सडक यतिखेर इतिहासमै अस्तव्यस्त र धुलोधुवाँको प्रकोपबाट आक्रान्त छन् । सडक प्रयोगकर्ताको स्वास्थ्य स्थिति दिन÷प्रतिदिन कमजोर बन्दै गएको छ । सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा छन् । यस्तो भद्रगोल अवस्थामा काठमाडौँमा सञ्चालित विकास निर्माणका योजनाको गति हेर्दा  सम्पन्न हुन कठिन अवस्थामा देखिएका, समस्यै समस्याको जालोमा जेलिएका र अनगिन्ति योजना अत्यन्त सुस्त गतिमा हुँदै गरेको देखिरहेका छौं । उदाहरणका लागि, काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट सडक सीमा चिह्न लगाउने, काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाबाट सडक विस्तार गर्ने, मेलम्ची खानेपानी विकास समितिबाट सडकमा पाइप बिछ्याउने, सडकका चोक र ठाउँठाउँमा भल्ब च्याम्बर बनाउने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट पानी वितरणको बेलामा चुहिने पाइपहरू पटकपटक मर्मत गर्ने, डिभिजन सडक कार्यालयहरूबाट पानीको चुहावटबाट पटकपटक सडकमा परेका खाल्डाखुल्डी टाल्ने, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबाट पोल तथा तार स्थानान्तरण गर्ने, केबल र इन्टरनेट सेवाप्रदायकहरूका पोल तथा तार सार्ने, सडकछेउमा आकाशे पानी बग्ने ढल बनाउने, घरबाट निस्कने ढलको निर्माण गर्ने, साँघुरा सडक पेटीहरूमा सोलार बत्तीका पोलहरू गाड्ने, काठमाडौँ दिगो सहरी यातायात आयोजनाबाट मुख्य मुख्य चोकमा सडक बत्ती राख्ने र कालोपत्रे गर्ने, वाग्मती, विष्णुमती र धोबी खोला करिडोर बिस्तारको काम अधिकार सम्पन्न वाग्मती आयोजना र काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट अगाडि बढाउने, नेपाल विद्युत् प्राधिकरणबाट बिजुलीका तार जमिनमुनि बिछ्याउने, सडकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने, सडक विभाग र महानगरबाट भित्री सडकहरूमा गरिने बिस्तार तथा मर्मत आदि काम यतिखेर काठमाडाँै उपत्यकाको विकास र समृद्धिका लागि हामीसँग उपलब्ध साँघुरा सडकको चौडाइभित्र सञ्चालन भइराखेका प्रतिनिधि योजना हुन् । यी र यस्ता अनेक आयोजना सञ्चालन गर्ने निकाय धेरै, व्यक्ति धेरै, सोच धेरै र काम गर्ने शैली धेरै भएको अवस्थामा निर्माण व्यवसायी थोरै, तिनको क्षमता थोरै, दक्षता थोरै, अन्तरनिकाय समन्वय थोरै, ती तत् तत् निकायसँग जनशक्ति थोरै देखिएको वर्तमान अवस्थामा छिट्टै प्रतिफल हासिल गर्न कठिन देखिन्छ ।

२)    कार्यान्वयनको वातावरण
विकास निरन्तर प्रक्रिया हो । जनताका आवश्यकता सम्बोधन गर्न योजनाहरू परिकल्पना गरिन्छन् । काठमाडौँ उपत्यकामा सञ्चालन भएका योजना पनि निश्चित समय, लागतमा गुणस्तरीय सेवा प्राप्त गर्ने उद्देश्यले थालनी गरिएका हुन् । आजका दिनसम्म गरिएको अनुभवबाट निर्माण, स्तरोन्नति तथा मर्मतका काम चालु भएका सडकमा पटक पटक गरिएको स्थलगत अनुगमनबाट हामीले निकालेको निचोड के हो भने प्रायः सबै योजनामा काम गर्न सहज वातावरण छैन । उदाहरणका लागि, १० किमि सडक बिस्तार गर्ने योजनाका लागि ५ किमि लम्बाइमा काम गर्न सकिने वातावरण देखिएमा ठेक्का व्यवस्थापन गर्न सकिने कार्यविधि छ । आधा लम्बाइमा काम गर्दै गर्दा बाँकी खण्ड पनि सहजै खुला हुन्छ र कामले गति लिन्छ भन्ने सोच राखेर खरिद प्रक्रिया अगाडि बढेका छन् । यो सोचमा काम अगाडि बढाउँदा काम सुरु गरेकै दिनदेखि अनेकन बखेडा आउने र काम गर्न तयार गरिएका मेसिन उपकरण, जनशक्ति बेकाममा बस्नुपर्ने बाध्यता आजका दिनमा सामान्य बन्दै गएको छ ।
सवारी साधनको चाप बढी हुने सडकमा चुनौतीपूर्ण ट्राफिक व्यवस्थापन, खपिनसक्नु धुलोधुँवा, पैदल यात्रीको सास्ती देख्दै गर्दा जब निर्माण व्यवसायी काम गर्न जान्छन् त्यो बेलामा स्थानीय जनताबाट संगठितरूपमा हुने अवरोध, राजमार्ग ऐन २०२१ र सडक ऐन २०३४ ले निर्दिष्ट गरेको सडक सीमा मिचेर गरिएको अतिक्रमण हटाउने काममा ढिलाइ, सडक छेउमा राखिने आकाशको पानी बग्ने ढलको व्यवस्थापन, मेलम्ची खानेपानीको पाइप र भल्ब च्याम्बरहरूका लागि खनिएका र अझै खन्न बाँकी खाल्डा पुनस्र्थापन, हाल सञ्चालनमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका वर्षौं पुराना पाइपबाट पटकपटक चुहिने पानीले बिगार्ने सडक र त्यसको मर्मत, बिजुली, टेलिफोन, केबलका तार र पोलहरूको स्थानान्तरण, चाहिने समयमा सधैंजसो भोग्नुपर्ने निर्माण सामग्री उपलब्धताको अनिश्चितता र यस्तो वातावरणमा जनताबाट अपेक्षा गरिने अन्तर्राष्ट्रिय स्तरको सडक आज कल्पनै गर्न नसकिने मोडमा आइपुगेको छ । आजका दिनमा काठमाडौँ उपत्यकामा निर्माणाधीन ९२ वटा सडक योजना सम्पन्न गर्न ३१८७ वटा बिजुलीका पोल र तार, १०३ वटा बिजुलीका ट्रान्सफरमर, १६५२ वटा टेलिफोनका पोल र तार, केबल तथा इन्टरनेटका तार, ३८२५ वटा घर टहरा तत्काल हटाउनुपर्ने छ । ५९ ठाउँमा देखिएको खानेपानीको समस्या समाधान गर्नुपर्ने देखिन्छ । त्यसैगरी सडकछेउका ८३३ वटा रूख पनि हटाउनु पर्नेछ ।

३)    निर्माण सामग्री उपलब्धता
काठमाडौँ उपत्यकालाई एउटा आधुनिक सहरका रूपमा निर्माण गर्न र त्यसपछि लगातार गरिने मर्मत संभारको व्यवस्थापन गर्न निर्माण सामग्रीको ठूलो महत्व छ । योजनाको गुणस्तर प्राप्तिमा पनि निर्माण सामग्रीको भूमिका अहं छ । हामीकहाँ प्राप्त हुने ढुंगा, गिटी, बालुवाको उत्पादन र आपूर्तिका लागि भरपर्दो स्रोत देखिँदैन भने निर्माणका लागि स्वदेशमा उत्पादित तथा विदेशबाट आयातित अरू सामग्रीको गुणस्तर पनि ढुक्क हुनेखालको छैन । यसै आर्थिक वर्ष २०७४।७५ का लागिमात्र केही निकायलाई आवश्यक हुने निर्माण सामग्रीको तथ्यांक हेर्ने हो भने काठमाडौँ उपत्यकाका सडक विस्तार तथा मर्मत र मेलम्ची खानेपानी आयोजनालाई मात्र ढुंगा २,१४,५५३ घमी, गिट्टी १,४६,४२३ घमी, बालुवा १,९४,७१७ घमी, सबबेस ३,५९,६८४ घमी र बेस २,९३,१८१ घमी आवश्यक पर्ने अनुमान छ । उदाहरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३०० मिटर धावनमार्ग बढाउने कामको लागि करिब ३५ लाख घनमिटर माटो आवश्यक पर्ने अनुमान गरी ठेक्का भएकामा त्यति माटो उपलब्ध हुने उपयुक्त ठाउँ यकिन गर्न नसक्दा काम ढिलो भयो र अन्ततः काम सम्पन्न गर्न ढिलो भएको कारण ठेक्कै तोडियो ।
४)    गुणस्तरको अवस्था
हामीकहाँ सञ्चालित सबै विकास निर्माणका काममा गुणस्तरसँग गाँसिएका विषय अध्ययन गर्दा योजनाको परिकल्पना, सम्भाव्यता अध्ययन, निर्माण सामग्रीका स्रोतहरूको यकिन, योजना प्राथमिकीकरण, योजना छनोट, गुणस्तर प्रत्याभूति गर्ने आधारहरू, मापनका सूचकहरू, योजना सञ्चालन तथा निर्माणका लागि सशक्त टिम, टिमको कार्यक्षमता र इमान्दारिता, अत्याधुनिक प्रयोगशाला, समय र प्रगतिसँग आबद्ध गरिएको अनुगमनबाट मात्र हामीले खोजेको, जनताले चाहेको प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ । हचुवाको तालमा छनोट गरिएका योजनाहरू, छोटो अवधिमा तयार गरिएका विस्तृत परियोजना प्रतिवेदनहरू, हतारमा गरिने ठेक्कापट्टा व्यवस्थापन, थोरै बजेट विनियोजन तथा ढिलो निकासा प्रणालीबाट भुक्तानी समस्याले थपिँदै जाने योजना अवधि, राम्रो निर्माण सामग्रीको अभाव, व्यवस्थित प्रयोगशाला र दक्ष जनशक्तिको सधैँ अभाव, काम सुरु गर्ने बेलादेखि संगठितरूपमा आउने अवरोध, चन्दा आतङ्क, सडक सीमा अतिक्रमणबाट बिग्रेको सडकको ज्यामिती, राजनीतिक पहुँचको आधारमा गरिने अव्यवस्थित सरुवा प्रणाली, काममा समर्पित हुने कर्मचारीलाई थन्क्याउने प्रवृत्तिले मनोबलमा आउने ह्रास, बजारमा अत्यधिक नक्कली सामानको बिगबिगी, दण्डहीनताको पराकाष्टा जस्ता कारणले आज गुणस्तरमा प्रश्नचिह्न खडा भएको छ ।
५)    जनताअपेक्षा
सर्वसाधारण जनताको आवश्यकता सम्बोधन नै गर्न नसकिनेखालको देखिँदैन । सडकमा राम्रोसँग हिँड्न सकियोस्, सुरक्षाको प्रत्याभूति राम्रो होस्, धारामा खानेपानी आओस्, घरमा बिजुली बलोस्, सडकमा यातायात सहज होस्, भाडा सस्तो होस्, विकास निर्माणका काम समयमै सम्पन्न होउन्, भ्रष्टाचार कम होस्, विकास छिटो होस् भन्नेमात्र हुन् । टेलिभिजन तथा इन्टरनेट प्रविधिबाट साँघुरो भएको यो दुनियामा संसारभरि भएको चामत्कारिक विकास चाहेको बेलामा हेर्न सकिने, खुला र सफा चौडा सडक जहाँसुकै देख्न सकिने, सडक छेउमै चिया पसल नराखेका, सटर सडकमै सटाएर व्यापार नगरेका, बिजुली टेलिफोनका पोलबाट अतिक्रमण नभएका सडक देखेर हामीकहाँ पनि त्यस्तै सडकको कल्पना गर्नु किमार्थ गलत हैन । यस्तो स्थितिमा जनताको अपेक्षाबमोजिमको स्तरीय सडक सञ्जाल विकास गर्नु चुनौतीपूर्ण छ ।

क्षेत्रीय निर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय

प्रकाशित: ६ कार्तिक २०७४ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App