७ वैशाख २०८१ शुक्रबार
कला

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

मुम्बई- अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने भएको छ । सन् २०१२ मा फिल्म ‘इश्कजादे’बाट अर्जुन र परिणितीले एक साथ डेब्यु गरेका थिए । ५ वर्षपछि दुवैलाई सँगै पर्दामा देखाउन लागेका हुन्, दिवाकर बनर्जीले ।  ड्रामाटिक थ्रिलर श्रेणीको फिल्मको निर्माण यशराज फिल्मस्को व्यानरमा बन्नेछ ।
भारतका दुई भिन्न सहरमा बस्ने केटा र केटीको कथालाई फिल्ममा देखाइनेछ । उनीहरु एकअर्कालाई घृणा गरिरहे पनि केही समय पछि प्रेममा परेर विवाह गर्न नेपाल आएको दृश्यलाई फिल्ममा समेटिने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नेपाललाई फिल्मको छायांकन स्थलका रुपमा रोजिएको छ ।
नेपालको बैतडीस्थित झुलालघाटमा फिल्म छायांकनका लागि बैतडी जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ । नेपाल र भारतको सीमानामा पर्ने भएकैले झुलालघाटलाई सुटिङस्थल रोजिएको जनाइएको छ । ‘नेपाल आफैमा सुन्दर देश हो । त्यहाँको राम्रो लोकेशनमा दिवाकरको फिल्म खिच्नु पनि एउटा अवसर हो ’यशराज फिल्मस्ले भनेको छ । यता अर्जुन र परिणितीले ५ वर्षपछि सँगै स्क्रिन सेयर गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । पहिलो फिल्म हिट दिए पनि दुबैको अभिनय यात्रा ठिकठाक मात्र चलिरहेको छ । अर्जुनको पछिल्लो फिल्म ‘मुबारका’ औसत रहेका थियो भने परिणितीको ‘मेरी प्यारी बिन्दु’ फ्लप भएको थियो ।

 

प्रकाशित: ६ कार्तिक २०७४ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App