८ वैशाख २०८१ शनिबार
अर्थ

आम्दानीको १३ प्रतिशत खानामा खर्च

काठमाडौं- प्रत्येक नेपालीले आफ्नो दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च गर्ने गरेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले तयार पारेको ताजा विश्व सूचकांकअनुसार नेपालीले खानामा गर्ने खर्च दक्षिण एसियाली देशमध्ये दोस्रो सबैभन्दा बढी हो । एक नेपालीको वार्षिक आम्दानी औसत ६ सय ८२ अमेरिकी डलर (८८ हजार ७ सय ८६ रुपैयाँ) बराबर छ । यो हिसाबले प्रत्येक नेपालीको दैनिक औसत आम्दानी २ सय ४३ रुपैयाँबराबर हुन्छ । यसको १३ प्रतिशत भनेको ३१ रुपैयाँ हुन आउँछ ।
प्रत्येक नेपालीको दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च हुने डब्लुएफपीको प्रतिवेदनबारे केन्द्रीय तथ्यांक विभागले नेपालको अधिकांश भागमा खाद्यान्नको भाउ असाध्यै महँगो भएका कारण दैनिक खानामा नेपालीले करिब २० प्रतिशतसम्म खर्च गरिरहेको प्रतिक्रिया दिएको छ ।
‘डब्लुएफपीको प्रतिवेदनअनुसार प्रत्येक नेपालीले दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च गर्छन् भन्ने तथ्यांक हाम्रो अनुभवमा कम हो,’ विभागका निर्देशक ज्ञानेन्द्र वज्राचार्यले नागरिकसँग भने, ‘श्रमिकको ज्याला गत पाँच वर्षयताको दाँजोमा बढेको छ । त्यसमाथि ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुक गइरहेका कारण श्रमिक अभाव हुनाले ज्याला बढेको हो । ज्याला बढेपछि खानामा खर्च बढ्नु स्वाभाविक हो ।’
विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार घरमा रंगरोगन गर्ने कामदारको ज्याला पछिल्लो चार वर्षको दाँजोमा अधिकतम ६८ प्रतिशतसम्म वृद्धि भएको छ । जबकि अन्य कामदारको ज्यालामा त्यही अवधिमा ३९ प्रतिशतले मात्र बढेको छ ।  

डब्लुएफपीका अनुसार प्रत्येक भारतीय र फिलिपिनोले दैनिक आम्दानीको ४.५ प्रतिशत खानामा खर्च गर्छन् । त्यस्तै इन्डोनेसियालीले २.७ प्रतिशत, बंगलादेशीले ५.४ प्रतिशत, पाकिस्तानीले ७.६ र  म्यानमारका नागरिकले ७ प्रतिशत आम्दानी प्रत्येक दिनको खानामा खर्च गर्ने गरेका छन् ।
त्यसैगरी लाओसका नागरिकले प्रतिदिनको खानाका लागि दैनिक आम्दानीको ८.८ प्रतिशत खर्च गर्ने गरेका छन् भने अमेरिकाको न्युयोर्कका बासिन्दाले आफ्नो दैनिक ज्यालाको ०.६ प्रतिशत खर्च गर्ने गरेका छन् ।
डब्लुएफपीले एक दिनको खानाको मूल्य स्थानीय बजार भाउअनुसार मूल्यांकन गरी त्यसलाई प्रत्येक दिनको औसत आम्दानीसँग दाजेर प्रतिवेदन तयार गरेको हो । यसमा अफ्रिकी देशका नागरिकले बढी खर्च गरिरहेका छन् । मालावीका नागरिकले आफ्नो दैनिक आम्दानीको ४५ प्रतिशत हिस्सा खानामा खर्च गर्नुपरेको छ भने गणतन्त्र कंगोका बासिन्दाले ४० प्रतिशत र दक्षिण सुडानका नागरिकले दैनिक कूल आम्दानीको १ सय ५५ प्रतिशत खानमै खर्च गर्नुपरेको डब्लुएफीले जनाएको छ ।
डब्लुएफपीको उक्त प्रतिवेदनअनुसार ताजिकिस्तानको बासिन्दाले दैैनिक आम्दानीको १५ प्रतिशत खानामा खर्च गरिरहेका छन् । त्यसैगरी आर्मेनियाका बासिन्दाले ४.३ प्रतिशत, इरानीले ३.९, यमनका बासिन्दाले २२, सोमालियालीले २०, केन्या ७, तान्जानियालीले १३,  मोजाम्बिकले ३०, युगान्डाका बासिन्दाले १४, जिबोटीका नागरिकले ६.७, जोर्डनीले २.३, इजिप्टका बासिन्दाले ४.४ र प्यालेस्टाइनीले ५।९ प्रतिशत खर्च गरिरहेका छन् ।

प्रकाशित: ६ कार्तिक २०७४ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App