coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशसभाको एउटा क्षेत्र माओवादीलाई

इलाम – मंसिर २१ मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्द्र गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभाका ४ क्षेत्रमध्ये प्रदेशतर्फको एउटा सिट माओवादीको भागमा परेको हो। 

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ एमालेले माओवादी केन्द्रलाई छाडिदिने सहमति भएको छ । एमाले महासचिव ईश्वर पोख्रेल नेतृत्वमा बनेको दुवै दलका नेता सम्मिलित निर्वाचन क्षेत्र बाँडफाँट समितिले यस्तो सहमति जुटाएको स्रोतले जनाएको छ । तर, निर्णय भने सार्वजनिक भइसकेको छैन् । ‘जिल्लामा प्रतिनिधिसभातर्फ दुवै र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा माओवादीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने, प्रदेशसभाको एउटा क्षेत्रमा एमालेले माओवादीलाई समर्थन गर्ने निर्णय भएपनि बाहिर आएको छैन,’ स्रोतले भन्यो।

पोख्रेल नेतृत्वको समितिमा एमालेका शंकर पोख्रेल र सुरेन्द्र पाण्डे तथा माओवादीका नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालगायत सदस्य छन् । यसअघि जिल्लामा प्रदेशसभाका २ वटा क्षेत्र माओवादीले आफूलाई दिन माग गर्दै आएपनि एमालेले एउटा मात्रै दिन सकिने बताएको थियो । ‘जिल्लाको प्रदेशतर्फ एउटा सिटमा कुरा मिलेको भन्ने हल्ला सुनेपनि औपचारिक जानकारी चाहिँ आएको छैन,’ माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव जीवन शर्माले भने,’ क्षेत्र २ को २ माओवादीको भागमा आएको भन्ने सुनिएको छ।’ 

एमालेका कार्यालय सचिव नवराज शंकरले पनि शर्माकै भनाइमा सहमति जनाए । ‘केन्द्रमा कुरा मिल्यो होला तर औपचारिक चाहिँ जानकारी आएको छैन,’ शंकरले भने, ‘जिल्लामा एमाले–माओवादीबीच क्षेत्र बाँडफाँटमा ठूलो मतभिन्नता थिएन पनि।’

प्रतिनिधिसभामा एमाले–माओवादी गठबन्धनका तर्फबाट क्षेत्र १ मा प्रत्यक्षतर्फ एमालेका झलनाथ खनाल तथा २ मा एमालेकै सुवासचन्द्र नेम्बाङ उम्मेदवार बन्दैछन् । दुवै उम्मेदवारलाई दुवै दल सम्मिलित गठबन्धनको समर्थन रहेको दलहरूले जनाएका छन् । प्रदेशसभा प्रत्यक्षतर्फ क्षेत्र १ को १ मा एमाले जिल्ला उपाध्यक्ष भक्त केसीसहित ७ जनाले दाबी गरेपनि अहिलेसम्म कुरा मिल्न सकेको छैन । क्षेत्र १ को २ मा एमालेका काजीमान कागते पार्टीबाट निर्विरोध छन् । क्षेत्र १ को १ मा एमाले जिल्ला अध्यक्ष रामबहादुर राना पार्टीबाट निर्विरोध सिफारिसमा परेका छन्। 

माओवादीको भागबन्डामा परेको क्षेत्र २ को २ मा माओवादीका जिल्ला इन्चार्ज धिरेन शर्मा (रमण) र सहइन्चार्ज कान्छा लावती दुवैजनाले दाबी गरेको स्रोतले जनाएको छ । गठबन्धन हुनुअघि माओवादीले जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, गठबन्धनपछि आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न दुई शर्मा र लावती दुवै आकांक्षी देखिएको माओवादी स्रोतले जनाएको छ । ‘टिकटका लागि दुवैबीच रस्साकस्सी छ, कसको भागमा पर्ने हो यकिन छैन,’ स्रोतले भन्यो। 

प्रकाशित: ६ कार्तिक २०७४ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App