५ वैशाख २०८१ बुधबार
राजनीति

७ नम्वर प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता थापा आकांक्षी

बाजुरा-  सात नम्बर प्रदेशको मुख्यमन्त्रीको दावी सहित एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिकमा बसेका छन्। एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापा प्रदेश तर्फको समानुपातिक कोटामा सिफारिस भएका छन्।

२०७० को चुनावमा बाजुराबाट प्रत्यक्ष तर्फ जितेका थापालाई पार्टीको नेतृत्व तहले मुख्यमन्त्रीका रुपमा अघि सार्ने संकेत गरेपछि प्रदेश सभामा बसेको बुझीएको छ। वाम गठबन्धनबाट पनि प्रदेश ७ को मुख्यमन्त्रीमा कर्ण बहादुर थापाको सम्भावना बलियो देखिएको छ।

मुख्यमन्त्रीका स्वभाविक दाबेदार एमाले उपाध्यक्ष भीम रावल प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् । भने यता माओवादी केन्द्रका नेता खगराज भट्ट र लेखराज भट्ट पनि प्रतिनिधि सभामा सिफारिस भएका छन्।

वाम गठबन्धन हुँदा पनि सात नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले नै पाउने सम्भावना रहेको छ। पूर्व उद्योगमन्त्री समेत रहेका थापा एमालेमा भीम रावल पछि सात नम्बर प्रदेशमा दोस्रो बरियतामा रहेका छन्।

थापा स्वयमले पनि मुख्यमन्त्रीमा आफ्नो दाबेदारी स्वीकारेका छन् । 'भीम रावलले चाहना राखे दाबी रहने थिएन, उहाँ प्रतिनिधि सभामा जानेभएपछि दाबी स्वभाविक हो', थापाले भने। नयाँ अनुहारलाई पालो दिन प्रत्यक्षमा उम्मेदवारी नदिएको उनले प्रष्ट्याए।

जिल्ला तहका माओवादी र एमाले दुबै दलका नेताहरुले पनि थापालाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा सम्वोधन गर्न थालेका छन्। माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटीले प्रदेशको मुख्यमन्त्रीको रुपमा थापा बलियो उम्मेदवार रहेको बताए ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेदवार प्रकाश शाहले पनि अभिभावकीय भूमिका निर्वाह गरेर नेतृत्व सम्हाल्न खोजेको प्रतिक्रिया दिएका छन् ।

बाम गठबन्धनले प्रदेश सभामा पनि बहुमत आउने संभावना रहेको नेताहरुको आंकलन छ । प्रदेशमा माओवादी केन्द्रलाई कमजोर ठानिएपनि संयुक्त जाँदा अधिकांश स्थानमा जित सुनिश्चित हुने नेताहरुको विश्लेषण छ।

२०७० सालको निर्वाचनमा काँग्रेस पहिलो र एमाले दोस्रो भएको थियो। भने माओवादीले कुनै कुनै निर्वाचन क्षेत्र पनि जितेको थिए । स्थानीय तह निर्वाचनमा भने एमाले पहिलो भएको छ । ८८ स्थानीय तहमध्ये एमालेले ३९ र काँग्रेसले ३८ स्थानीय तह जितेको छ।

प्रकाशित: ६ कार्तिक २०७४ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App