६ वैशाख २०८१ बिहीबार
अन्य

भुइँचालो

सरुभक्त
१८९० भदौ १२ गते । १९९० माघ २ गते । २०४६ भदौ ५ गते । २०७२ वैशाख १२ गते । देशमा ठूल्ठूला भुकम्प गए । उसले जानकारी लियो–१२१८ मा अनुमानित ७.७ म्याग्नेच्यूडको भूकम्प गएको रहेछ जसले काठमाडौँ उपत्यकाको एक तिहाई आवादी सखाप पारेछ । राजा अभय मल्ल पनि त्यही भूकम्पको शिकार बनेछन् । त्यसपछि १४६५, १३५५, १७३७ मा पनि भूकम्पहरु गएछन् । उसलाई ज्ञान थियो । भूकम्प त प्रत्येक दिन जान्छन् तर साना भूकम्प गएको हामी चाल पाउँदैनौं । आखिर पृथ्वीमा यसरी भूकम्प गइरहनु किन आवश्यक छ ?
उसले आफैँलाई प्रश्न गर्यो । उत्तर भेटेन । ऊ पराकम्पनहरुको डरले वाग्मती किनारमा सुत्यो । ऊ सानो छँदा हजुरआमाले सुनाउँथिन्, ‘मेरी बाबै ! नब्बे सालको भुइँचालो त कस्तो डरलाग्दो ! हाम्रो टोलमा त बाटोमा दुईपट्टीका घरका छानाहरु जोडिन आइपुगेका । कति मान्छे मरे मरे । हामी त कति दिनसम्म बारीमा कटेरो बनाई सुतेका ।
 कथाजस्तो लाग्थ्यो । रमाइलो लाग्थ्यो ।  महसुुस हुन्थ्यो– आहा ! यस्तो भुइँचालो देख्न पाए । २०७२, वैशाख १२ गते, नेपाली समयअनुसार बिहानको ११ः५६ बजे उसले देखिहाल्यो ७.८ म्याग्नेच्युडको भुइँचालो । ऊ कीर्तिपुर क्याम्पसको नेपाली विभागको प्राध्यापक एवं कवि, नगरबसमा सवार भएर क्याम्पस जाँदै थियो ।
‘धररररर.........! अचानक एक असामान्य आवाज आयो । ‘ए , के भयो ?’ बसभित्र सबैजसो कराए ।
‘पाङ्ग्रा पञ्चर भएजस्तो छ !’ बस चालकले भने अनि हतारमा घ्याच्च बस रोके । बस रोकिएपछि थाहा भयो, भुइँचालो आएको रहेछ । भूइँचालोले बसलाई जोडले हल्लाएपछि सबै आत्तिएर बसबाहिर निस्के ।
भुइँचालो लामो समयसम्म गइरह्यो । सर्वत्र हाहाकार मच्चियो । उसको सातो गयो । उसले हल्लिएको जमिनमा उभिदै मोबाइलबाट घरमा सम्पर्क गर्ने कोसिस ग¥यो । बारम्बार कोसिस गर्दा पनि सम्पर्क भएन । हल्ला आयो – ए ! धरहरा ढल्यो रे ! काष्ठमण्डप ढल्यो रे !
कलङ्की, गोंगबु, भक्तपुर सखाप परे रे !
कन्त्रासका लहरहरु उसको दिलदिमागमा कुदिरहे ।
कति दिनसम्म पराकम्पनहरुको लामो श्रृङ्खला सुरुभयो ।
दिशा बस्दाबस्दै पराकम्पन । पिसाब फेर्दाफेर्दै पराकम्पन । क्याम्पसमा पढाउँदापढाउँदै पराकम्पन । चियापसलमा चिया पिउँदापिउँदै पराकम्पन । राति सुत्दासुत्दै पराकम्पन ।
उसलाई जिन्दगीदेखि दिग्दार लाग्यो तर दिन हो कवि भएर पनि कविता लेखिहाल्न मन लागेन । ऊ भुँइचालोको त्रासले भूँइचालोमाथि चिन्तनशील भइरह्यो ।
एकैछिनमा सबै सखाप पार्ने यो कस्तो कम्पन ? कस्तो ऊर्जा विसर्जन ?
  उसले प्रत्येक शताब्दी वरपर समयमा एउटा महाभूकम्प आउने, अर्धशताब्दी वरपर मध्यम भुँइचालो आउने वैज्ञानिक अध्ययन सम्झ्यो । उसले गुटेनवर्ग–रिचरको नियम सम्झ्यो जुन नियमले प्रत्येक वर्ष ४.६ म्याग्नेच्युड मुनिको, प्रत्येक दस वर्षमा ५.५ म्याग्नेच्यूड मुनिको, प्रत्येक सय वर्षमा ५.६ म्याग्नेच्युड माथिको भुइँचालो जान्छ भन्ने मान्यता राख्छ ।
वैशाख १२ को भुइँचालोमा नौ हजार मानिसले ज्यान गुमाए, बाइस हजार मानिसहरु घायल भए । सौभाग्य भन्नु कि के– मर्ने नौ हजारमा म परिनँ– उसले छातीभर मानवीय पीडा अनुभव ग¥यो । उसलाई आफू बाँच्न सफल भएकोमा खास खुसी लागेन ।
ब्रह्माण्डको रचना प्रक्रिया– उसले सम्झयो । अर्बौं मन्दाकिनीहरुको रचनाप्रक्रिया–उसले सम्झ्यो । आकाशगङ्गा, सौर्यपरिवार, पृथ्वी र पृथ्वीको रचनाप्रक्रिया उसले सम्झ्यो ।
महामहादेश (सुपर कन्टिनेन्ट)– पान्जिया । महामहासागर (सुपर ओसन)–पान्थालाशा । गोण्डवानाल्यान्ड । भौगर्भिक प्रक्रियाले– महामहादेशहरु टुक्रिने क्रम । अहिलेका महादेशहरुको निर्माण ।
पृथ्वीको बाहिरी भूभाग लिटोस्फेर, त्यसमुनिको आस्टेनोस्फेर, त्यसमुनिको इनर कोरका प्रक्रियामा ऊर्जाहरुको सतत् विसर्जन ।
चालीस हजार किलोमिटर लामो घोडाको टाप आकारको प्यासेफिक प्लेट र प्यासेफिक रिङ अफ फायर र चौबीस सय किलोमिटर लामो हिमालय पर्वत श्रृङ्खलामा किन यति विघ्न ऊर्जा सञ्चय र ऊर्जा निष्काशनका प्रक्रियाहरु ?
किन पि– वेभ, यस– वेभ र लभ– वेभका नर्तनहरु ? उसले सम्झ्यो– कुनै बेला लाउरेशिमा र गोन्डावानाबीच, जहाँ हाम्रो देश र हिमालहरु पर्छन् — टेथिस सागर थियो रे । समय  क्रममा युरेशिया प्लेट र इन्डियन टेक्टोनिक प्लेटका जुधाईका परिणामस्वरुप हिमालय पर्वत श्रृङ्खला र तिब्बतको पठार निर्माण भए । अहिले पनि इन्डियन टेक्टोनिक प्लेट प्रत्येक वर्ष पाँच सेन्टिमिटरका दरले उत्तरपूर्वतिर गतिमान भइरहेछ । युरोसियन प्लेट प्रत्येक वर्ष दुई सेन्टिमिटरका दरले उत्तरतिर गतिमान भइरहेछ ।
यसको अर्थ— गतिमान इन्डियन र युरोसियन टेक्टोनिक प्लेटहरुबीच धर्तीको कमजोर सतहमा हामी थाहा छैन कुन कारण— जन्मेका छौं । इतिहास र सभ्यता निर्माण गरिरहका छौं ।
बेलाबेला ज्वालामुखी विस्फोट हुन्छ, बेलाबेला बाढी र पहिरो आउँछन्, बेलाबेला सामुद्रिक आँधीहरु आउँछन्, भुइँचालो र सुनामीहरु आउँछन् । मान्छेहरु मार्छन्, तिनका भौतिक संरचना र सपनाहरु ध्वस्त पार्छन् ।
तर बाँचेकाहरुले सपना देख्न छाड्दैनन् ।
इतिहास र सभ्यता निर्माण गर्न छोड्दैनन् ।
उसले सम्झयो— सन् १९५६ मा चीनको शाङ्सीमा गएको भुइँचालोमा आठ लाख तीस हजार मान्छे मरेका थिए । चीनकै टाङसाङमा सन् १९७६ मा गएको भुइँचालोले दुई लाख पचपन्न हजार मानिस मरेका थिए । उसले सम्झ्यो— सुमात्रामा सन् २००४ मा गएको भुइँचालोले दुई लाख सत्ताइस हजार आठ सय अन्ठानब्बे मान्छे मरेका थिए । सिरिया र हाइटीमा गएको भुइँचालोहरुमा पनि दुई लाखभन्दा बढी मान्छे मरेका थिए ।
वैशाख १२ गतेकोे भुइँचालोबाट भएको मानवीय क्षति तिनका तुलनामा धेरै कम हो, जुन हामीलाई धेरै लागेको छ । भविष्यमा साँच्चै नै लाखौं मानिसहरुको जीवन लिने महाभूकम्प गयो भने के गर्ने?
के यसका लागि पूर्वतयारी आवश्यक छैन ?
वैज्ञानिकहरुले  चेताइरहेकै  छन्— हिमालय पर्वतमुनि ठूलो ऊर्जा सञ्चय भइरहेको छ, त्यसैले कुनै पनि बेला आठ म्याग्नेच्युड माथिको महाभूकम्प आउन सक्छ ।
उसको चिन्ता सोचाइहरुले झन्झन् गहिँरिदै गयो । उनले यस्तो अस्थिर र चलायमान पृथ्वीमा ठोस जीवन बाँच्न चाहने मान्छेको कुनै भाग्यनियन्ता भगवान वा प्रकृतिको बारेका कुनै हताशायुक्त प्रतिक्रिया जनाउनु आवश्यक सम्झेन ।
भगवानलाई गाली गरेर के हुन्छ ? प्रकृतिको निन्दा गरेर के हुन्छ ? दिमाग मात्र खराब हुन्छ । रक्तचाप मात्र बढ्छ । अन्ततोगत्वा आफैँलाई मात्र हानि गर्छ ।
उसले सोच्यो— भुइँचालोबाट डराएर मात्र बाँच्ने कि मुक्तिको उपाय खोज्ने ? बुद्घले दुःखबाट मुक्तिको उपाय खोजेका थिए, के हामी भुइँचालोबाट मुक्तिको उपाय खोज्न सक्दैनौँ ?
उसलाई लाग्यो, मुक्तिको उपाय खोज्न सकिन्छ । भुइँचालो रोक्न सक्दैनौँ तर त्यसको क्षतिबाट हामी बच्न सक्छौँ । यदि हामीले उपाय खोज्न सक्यौं भने भविष्यमा भुइँचालो आउँदा हामी साँच्चै नै हजुरआमाको मुखबाट कथा सुन्दाझैं रमाउन र रोमाञ्चित हुनसक्ने छौं ।
पराकम्पनहरुबीच ऊ आशावादी भयो । धेरै दिनपछि उसको मुख हँसिलो भयो । क्याम्पसबाट प्राध्यापन गरी फर्कंदा बाटोमा उसले उत्साहपूर्वक एकजना घनिष्ठ साथीलाई मोबाइलबाट सम्पर्क ग¥यो जो पेसाले इञ्जिनियर थियो ।
‘के छ कविजी ! भुइँचालोमाथि कविता धेरैले लेखे तिमीले लेखेनौ ?’ इञ्जिनियर साथीले रेस्टुरेन्टमा भेट्नासाथ अति जरुरी कुराझैं सोध्यो ।
‘अहिलेसम्म लेखेको छैन । यो भुइँचालोको कविता लेख्ने समय होइन, भुइँचालोबाट बच्ने उपाय पत्ता लाउने समय हो,’ उसले गम्भीरतापूर्वक भन्यो ।
‘कसरी?’ इञ्जिनियरले साश्चर्य सोध्यो ।
‘तिमी  घरको प्रारुप वा डिजाइन निर्माण गर्ने इञ्जिनियर । अबदेखि तिमी घरको नक्सा कोर्दा यस्तो परिकल्पना गर सामान्यभन्दा माथिल्लो म्याग्नेच्युडको भुइँचालो आउँदा स्वचालित रुपले घर आफैँ जमिनबाट केही इञ्चमाथि उचालियोस् ! यदि भविष्यमा यस्ता घरहरु निर्माण भए भने हामी धेरै हदसम्म सुरक्षित मात्र हुनेछैनौँ, भुइँचालो आउँदा रमाउन पनि सक्नेछौं । एउटा कुरामा ध्यान दिनू– ‘भुइँचालोमा स्वचालित रुपले उचालिने यी घरहरु आँधीहुरीमा टिक्न सक्ने हुनुपर्छ ।’ टेबिलमा भर्खरै आइपुगेको चियाको कपलाई समात्दै उसले कुरा टुङ्ग्यायो ।इञ्जिनियरले प्राध्यापक एवं कविको उत्साहपूर्ण परिकल्पनालाई कवितालाईझैं सुन्यो अनि महसुस गर्यो– कतै यो उसको इञ्जिनियरिङमा नयाँ आँखीझ्याल खुलेको त हैन ?
लेखक नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का कुलपति हुन् ।

प्रकाशित: ६ कार्तिक २०७४ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App