coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सुन्दर घरको रहस्य

पुष्पा थपलिया
सबैलाई सुन्दर घरको चाह हुन्छ । कारण घरभित्र पस्नासाथै बाहिरका तनाव व्यवस्थापन होस् भन्ने घरधनीको चाह हुन्छ । पहिले घरको अर्थ घामपानीबाट ओत लाग्ने ठाउँ मात्रै हुन्थ्यो तर हिजोआज तनाव बिसर्जन गर्ने थलोका रुपमा पनि लिन थालिएको छ ।
झट्ट हेर्दा सफा र सजिएकोे घरमा सबैको मन बस्छ, मन लोभिन्छ पनि । त्यसमाथि अहिले चाडपर्वको माहोल छ । चाडपर्वमा त्यसै पनि मानिसहरू सुन्दर घरलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेका हुन्छन् । त्यस्तै सोचाइमा छन्, कलंकी मालपोतनजिकै नयाँ घर बनाएका अशोकमान कसजू । उनी उपत्यकाकै बासिन्दा हुन् तर दाजुभाइ छुट्टिएपछि उनले कलंकीतिरको पुख्र्यौली जग्गामा घर बनाए । निजामती कर्मचारी उनी कामबाट फर्केपछि सबै थकान मेटियोस् भन्ने चाहन्छन् । त्यसैले कसरी घरलाई सुन्दर बनाउने भन्नेबारे सोचिरहेका हुन् ।
त्यस्तै कीर्तिपुर ट्याङ्लाफाँटकी शोभा पन्त र उनका पतिको सम्बन्ध विच्छेद भएपछि उनका पूर्व पतिबाट शोभाले दुई तले घर पाइन् । ब्युटिसियन शोभा मानिस मात्रै सुन्दर भएर हुँदैन घर पनि सुन्दर हुनुपर्छ भन्नेमा जोड दिन्छिन् । गएको वर्ष एउटै कलरको पेन्ट गरेको घरका वालहरूमा यस वर्ष भने इन्टेरियर डिजाइनरसँग परामर्श लिएर २ वटा कलरको कम्बिनेसन राखेकी छन् । वाल पेन्ट गर्न कम्तीमा २० देखि २५ हजार खर्च भइहाल्छ, चाडपर्व सकिएपछि अर्को कलर परिवर्तन गरिहाल्न पनि सम्भव हुँदैन । बरु अलि बढी नै खर्च गरेर २–३ वर्षसम्म रहने गरी इन्टेरियर डिजाइनरकै परामर्श लिएर वाल पेन्टिङ गरेको उनको भनाइ छ ।
निजी कम्पनीमा कार्यरत बानेश्वरकी सुस्मिता सिंह भने यसपालिको चाडपर्वमा आएको बोनसले भान्सा सिँगार्ने तयारीमा छिन् । उनले भनिन्, ‘यस वर्ष घरको बाहिरी डेकुरेसनका लागि सामान्यबाहेक खर्च गर्ने बजेट छुट्याएकी छैन । त्यसैले घरमा भएका सामान स्थान परिवर्तन र सोफाको कभर परिवर्तन गरेर कोठालाई नयाँ लुक्समा परिवर्तन गर्ने सोचमा छु तर यस पटक मोडुलर किचेन जोड्ने योजना छ ।’
चाडपर्वमा मात्रै होइन जुनसुकै समयमा पनि सुन्दर घरलाई अझ सुन्दर बनाउने चाहना सबैको हुन्छ । नेपालमा विगत केही वर्षदेखि ठूला चाडपर्व सुरु भएसँगै घर सजावट गर्ने क्रम बढ्दै गएको छ । चाडपर्वको बेला घरको भित्री र बाहिरी भाग सजावट गर्ने कार्यले विशेष प्राथमिकता पाएको हुन्छ भने घर निर्माण गर्नुपूर्व नै इन्टेरियर डेकुरेसनका लागि विभिन्न ठाउँ चाहर्नेहरुको पनि लामै लर्को छ, यहाँ ।
कोठा कस्तो बनाउने, त्यसमा के–के प्रयोग गर्ने, रङ कस्तो लगाउने, आर्टहरु कहाँ कसरी राख्ने भन्ने मात्रै होइन, वैज्ञानिक तरिकाले वास्तु हेराउनेसम्मको सल्लाह लिन आफूकहाँ आइपुग्ने बताउँछन्, एभरेस्ट इन्टेरियरका सिइओ लोचन केसी । उनले भने, ‘जग खन्नेदेखि कुन कुनामा के राख्ने भन्नेसम्मको सेवा इन्टेरियर डिजाइनरले दिन्छ । त्यसैले हिजोआज घर मात्रै होइन अफिस, रेस्टुराँ, पार्टी प्यालेस सबैजसोमा डिजाइनरसँग परामर्श लिएर तयार पार्ने चलन बढेको छ ।’
लोचनका अनुसार सामान्य तरिकाले दुई तले घरको डेकुरेसन गर्न करिब तीन लाखले पुग्छ । जसमा सम्पूर्ण सामान र १० वर्षको ग्यारेन्टीसमेत हुने उनको भनाइ छ । नयाँ घर बनाएर सम्पूर्ण सामान किन्नुभन्दा इन्टेरियर डिजाइनरसँग परामर्श लिँदा धेरै फाइदा हुने लोचनको सुझाव छ । कतिपय ग्राहक भने डिजाइनरसँग परामर्श लिने तर खर्च कम गर्न आफैँ बजारबाट सस्तो सामान किनेर ल्याउने गर्छन्, अनि एक वर्षमै काठ मक्कियो, किराले खायो लगायतका समस्या बोकेर पैसा फिर्ता माग्न आउने गरेको गुनासो छ उनको ।
समयको विकास क्रमसँगै बजारमा घरको आन्तरिक तथा वाह्य सजावटका लागि आवश्यक नयाँ–नयाँ सामग्रीहरू प्रशस्त पाइन्छन् । चाहे डेकुरेसनका सामग्री हुन्, चाहे फनिर्चर वा फ्लोरिङ लगायतका सामग्रीहरू, ती विभिन्न रङ र साइजमा उपलब्ध हुन्छन् । अझ तिहारमा लाइट, झुमर फनिर्चर, पर्दाजस्ता सामग्रीहरू खरिदका लागि बजारमा निकै भीड देखिन्छ । यस्ता सजावटका सामग्रीका कारण व्यापारीहरू चाडपर्वको समय व्यापारको पिक आवर भएको बताउँछन् । त्यसैले टेकुमा रहेको दीप इन्टरप्राइजेजका प्रोपाइटर दिवाकर सिलाकारलाई यतिखेर भ्याई नभ्याई छ । उनले भने, ‘अन्य समयमा खासै व्यापार हुँदैन, त्यसैले यही चाडपर्व ढुकेर बसेका हुन्छौँ । दसैँमा खासै व्यापार हुँदैन तर सुरुवात भने हुन्छ, सबैभन्दा बढी व्यापार हुने भनेको तिहारमै हो ।’
चाडपर्व भनेको वर्षभरिको धुलो हिलोका काम सकेर सफा चट्ट भएर परिवार आफन्तसँग बिताउने समयको रुपमा लिइन्छ । यस्ता पर्वलाई नै फोकस गरेर रङरोगन गर्ने, घरलाई नयाँ स्वरुप दिने र घर चिटिक्क पारेर सजाउनेको ठूलो जमात उपत्यकामा मात्रै होइन देशभर भएको लोचनको ठहर छ, जसका कारण एभरेस्ट इन्टेरियर प्रालिले सुलभ ठाउँमा मात्रै होइन, दुर्गम ठाउँमा समेत सेवा दिइरहेको छ ।
उपत्यकामा इन्टेरियर डेकुरेसन गर्नका लागि हजारभन्दा बढी कार्यालयहरु खुलिसकेका छन् । प्रतिस्पर्धा बढेकाले कतिपय कार्यालयहरुले सस्तोमा समेत सेवा दिने गरेका छन् । जसका कारण सस्तो फर्निचर, आर्टहरु राखिदिनाले लामो समय नटिक्ने र त्यसले इन्टेरियर डिजाइनरहरुबारे नकारात्मक असर पर्ने सम्भावना बढेको लोचन बताउँछन् । उनले भने, ‘अचेल केही इन्टेरियर कम्पनीहरुले सस्तोमा सेवा दिइरहेका छन्, यसले मानिसहरु इन्टेरियर डेकुरेसनतर्फ त आकर्षित भइरहेका छन् नै हामीजस्तो महँगो सामान राखेर डेकुरेसन गर्नेहरुलाई भने समस्या देखिन थालेको छ । सस्तो मूल्यमा सस्तै सामग्री प्रयोग गरेर डेकुरेसन गरिदिन्छन्, त्यो लामो समय टिक्दैन र सबैमा नकारात्मक असर पर्छ ।’
सुरुका वर्ष इन्टेरियर डेकुरेसनका लागि डिजाइनर नपाइनाले निकै समस्या झेल्नु पथ्र्यो । दक्ष जनशक्तिको अभाव भएकाले विदेशबाटै डिजाइनर ल्याउनुपर्ने बाध्यता थियो । जसकारण इन्टेरियर डिजाइन महँगो पर्न जान्थ्यो । हिजोआज भने नेपालकै केही कलेजमा पढाइ सुरु हुन थालेको र दक्ष जनशक्तिसमेत पाइन थालेको बताउँछन् लोचन । उनले भने, ‘नेपालकै केही कलेज तथा इस्टिच्युटहरुमा अहिले इन्टेरियर डिजाइन कसरी गर्ने, कस्तो डिजाइन राम्रो लगायतका कोर्सहरु पढ्न पाइन्छ । त्यसैले विदेशबाटै डिजाइनर ल्याउनु पर्दैन र खर्च पनि कम लाग्ने गरेको छ ।’
सुन्दरता सेन्स बढेसँगै इन्टेरियर डेकुरेसनको माग अझै बढ्नेमा दुई मत छैन । त्यसैले यस किसिमको व्यवसाय आउँदा दिनमा अझै फस्टाउँदै जाने लोचनको ठहर छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App