८ वैशाख २०८१ शनिबार
राजनीति

सहिद परिवार भन्छनः बलिदानीको राजनीति धेरै भयो

बेलायतको प्रेस्टनमा कार्यरत डा.सन्दिप ढुँगानाले नागरिकन्यूजमार्फत सप्तरीको मलेठ स्थित सहिद सञ्जन मेहता परिवारलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै संवाददाता मिथिलेश यादव। तस्बिर: नागरिक

मलेठ(सप्तरी)- गत फागुन २३ गते पाँच जनाको ज्यान जाने गरी भएको सप्तरीको मलेठ घटनाका सहिद सञ्जन मेहता परिवारका लागि मनकारीबाट प्राप्त आर्थिक सहयोग नागरिकन्यूजमार्फत सोमवार हस्तान्तरण गरिएको छ।

बेलायतको प्रेस्टनमा कार्यरत चिकित्सक डा. सन्दिप ढुँगानाले नागरिकन्यूजमा मेहता परिवारको बेहाल कथा पढेर २८ हजार नगद सहयोग गरेका हुन्।

मधेस अधिकारका नाममा भिडन्त गराएर छोरा ‘खोसे’ तर, राजनीतिक लाभको बखत मधेस केन्द्रित दलका नेताहरु सहिद परिवारलाई पन्छाएर अघि बढेको उनको गुनासो छ।

सोमवार मलेठ स्थित निवासमा सहयोग रकम ग्रहण गर्दै मेहता भावुक बने। आँखा रसाउँदै उनले भने,‘कमाउने हात(छोरा सञ्जन) गुमाएदेखि परिवारलाई सम्हाल्नै मुस्किल छ।’ गाउँमै चलाउँदै आएको किराना र पान पसलमा अडिएको छ मेहता परिवारको जिन्दगी। सम्पतीको नाममा बीच गाउँमा जस्तापाताले छाएको घर मात्र छ। तीन छोरा मध्ये जेठो रञ्जन किराना पसल चलाउँछन। लक्ष्मण आफैं पान पसल चलाउँछन्। कान्छो कलेज पढ्दै छन्।

मधेस अधिकार आन्दोलनमा सहिद भनेर सीमित पारिएकोमा अन्य सहिद परिवारजस्तै सञ्जनको परिवारमा पनि  असन्तुष्ट देखिन्छ। ‘छोरा मारिएपछि तत्कालिन मधेसी मोर्चाका नेताहरु झण्डा ओडाएर मोर्चाको कार्यकर्ताको नाम दिए लक्ष्मण भन्छन्,‘ त्यसपछि फर्केर हेर्न आएनन्।’      

मधेस अधिकारका नाममा भिडन्त गराएर छोरा ‘खोसे’ तर, राजनीतिक लाभको बखत मधेस केन्द्रित दलका नेताहरु सहिद परिवारलाई पन्छाएर अघि बढेको उनको गुनासो छ। ‘मधेस अधिकारको नाममा भिडन्त गराएर मधेसी नेताहरु हाम्रो परिवारको सहारा छोरा खोस्यो’, सोमवार भक्कानिँदै उनले सुनाए, ‘मधेस आन्दोलनले मेरो परिवार बर्बाद बनाइदियो।’

बलिदानी दिनेको परिवारलाई राजनीतिक स्थान दिनेभन्दा लाभदिनेलाई स्थान दिने प्रवृती बढ्दै गएको सहिद परिवारको गुनासो छ। तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिका ९ मलेठमा राजपाबाट सहिद सञ्जन मेहताका दाई रञ्जनले वडाअध्यक्षको टिकट माग गरे। रञ्जन टिकटका लागि काठमाडौं पुगेर राजपाका केन्द्रीय नेताहरु गुहारे। लक्ष्मण भन्छन्,‘केन्द्रीयनेताहरु टिकट पाउने आश्वासन दिएर पठाए तर, टिकट पाउनेबेला अर्कैले पाए।’

मधेस केन्द्रित दलका नेताहरुप्रती अक्रोसमिश्रित असन्तुष्टि पोखेपनि आश अझै जीवित राखेका छन सहिद परिवार। लक्ष्मण भन्छन्,‘प्रदेश र प्रतीनिधिसभामध्ये कुनै एकमा हामी सहिद परिवारलाई मनोनित गरिदिए राहत हुन्थ्यो।’

मेहता परिवारको विजोग

छोरा सञ्जन मारिएसँगै नवविहिता बुहारी घर छोडेर माइत गइन्। छोरालाई सरकारले सहिद घोषणा गरेर परिवारलाई दश लाख क्षतिपूर्ति दिने निर्णय गर्‍यो। तर सहिद सञ्जन मेहता परिवारले पाउने रकमको चेक आठ महिनासम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमै थन्क्यो। घर छोडेर गएकी बुहारीले क्षतिपूर्ति रकममा दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई चेक दिएन। सरकारले दिएको क्षतिपूर्ति रकमले मेहता परिवारमा चिरा पारिदिएको छ । आठ महिनादेखि जिप्रकामा थन्केको चेकको छिनोफानो तीन दिन अगाडि मात्र भएको छ। क्षतिपूर्ति रकमको दश लाखमध्ये तीन लाख लक्ष्मणलाई र सात लाख उनकी बुहारीलाई दिएर क्षतिपूर्ति रकमको झमेला सल्टेको छ। 

मधेस आन्दोलन, चुनाब र परिवारको स्थितिबारे सोधीखोजी गर्दा उनी थप भावुक बने । आँखाभरि आँसु पार्दै प्रश्न गरे, ‘निर्दोषको लास भजाएर कहिलेसम्म राजनीतिको दाउ लगाउने ? यती धेरै मधेसी युवाको बलिदानीले मधेसी समाजमा के परिवर्तन ल्यायो?’ अन्ततः सबै आन्दोलनकारी दल शान्तिपूर्ण रुपमा चुनावी प्रक्रियामै आएका छन् । जुन संविधानको विरोध गरेर यती धेरै मधेसी युवाको बलिदानी चढाए त्यही संविधान अन्तर्गत चुनाव लडे/लड्दैछन्।

‘मेरो छोराको राजनीतिसँग कुनै साइनो थिएन । मधेस अधिकारको नाममा भएका दशकलामो आन्दोलनमा मारिएका धेरै युवाको राजनीतिसँग साईनो थिएन । मधेसी नेताहरुले गरेको आन्दोलनले निम्त्याएको भिडन्तले मैले काबिल छोरा गुमाउन पुगेँ। यो अवधीमा म जस्ता करिब डेढ सय पिताले छोरा गुमाएका छन्। जे माग राखेर आन्दोलन गरिएको थियो त्यो पुरा त भएन’, उनी भन्छन् । कहिलेसम्म निर्दोषको बलि चढाएर राजनीतिक दाउ साँधिरहने? उनले आँशु चुहाउँदै भने,‘बलिदानीको राजनीति धेरै भयो।’

 

 

प्रकाशित: ६ कार्तिक २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App