७ वैशाख २०८१ शुक्रबार
अर्थ

मेलम्चीमा १२ करोडको ग्रिन सिटी पार्क

मेलम्चीमा निर्माणाधीन ग्रिन सिटी पार्क । तस्बिर सौजन्य : मानकाजी पाख्रिन

काठमाडौं – सिन्धुपाल्चोकको सिम्ले बगर (शिखरपुर) स्थित पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण हुने भएको छ । नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माण गर्न लागेको हो । 

मेलम्ची नगरपालिकाको इन्जिनियर राजेश शर्माले ग्रिन सिटी पार्क निर्माणका लागि केबी एन्ड स्याङबो निर्माण सेवा जेभी र श्री खाम्पाचे शेर्पा निर्माण सेवासँग ०७४ जेठ ११ गते दुईपक्षीय सम्झौता भएको बताए । ‘काठमाडौंबाट मेलम्ची भौगोलिक रुपमा एकदमै नजिक छ । सवारी साधनमा दुई घन्टाको यात्रापछि पुग्ने भएका कारण हामीले फरक शैलीमा यो पार्क निर्माण गर्न लागेका हौं,’ उनले भने, ‘इन्द्रावती खोलाको किनारमा रहेको खालि जग्गामा ग्रिन सिटी बनाउन पाँचवर्षे योजना बनाएका छौं । यसका लागि नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै जान्छ ।’ 

उनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा एक करोड ५८ लाख रूपैयाँ विनियोजन गरेको थियो । ‘अहिले पार्कको प्रथम चरणमा काम भइरहेको छ,’ उनले भने, ‘पार्कको डिजाइन भइसकेको छ । डिजाइन अनुसार निर्माण अगाडि बढाउने हो भने तोकिएकै समयमा सम्पन्न हुन्छ।’ 

केबी एन्ड स्याङबो निर्माण सेवा जेभीका अध्यक्ष अनिलकुमार तामाङले (बुद्ध) पार्कको सम्झौता अनुसार काम भइरहेको नागरिकलाई बताए । ‘पहिलो चरणको काम सकिसकेका छौं । मन्दिरको भवन बनाउने काम अन्तिम चरणमा पुगेको छ । नदी किनारमा पार्क हुँदा वर्षाका बेला बाढीबाट जागाउने नदी नियन्त्रण कार्य सम्पन्न भएको छ,’ बुद्धले भने, ‘ब्लक, ब्लक बनाउने काम सकिएसँगै सार्वजनिक शौचालय समेत निर्माण गरिसकेका छौं।’ 

उनका अनुसार मेलम्ची नगरपालिकाको पार्क नमूना बनाउने योजना छ । ‘ठेक्काभन्दा पनि व्यवस्थित ग्रिन सिटी पार्क बनाउने मेरो पनि जिम्मेवारी हो । पाँचवर्षे योजना भएका कारण यो पार्क आफैंमा उदाहरणीय हुनेछ,’ उनले भने । 
स्थानीय मानकाजी पाख्रिनले मेलम्ची क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो पार्क नयाँ हुने बताए । ‘मेलम्ची आफैंमा प्रसिद्ध ठाउँ हो । राजधानीबाट टाढा नभएका कारण पार्कले सिन्धुपाल्चोकमा स्वदेशी तथा विदेशी पर्यटक भिœयाउने छ,’ पाख्रिनले भने, ‘पार्क निर्माणपछि स्थानीयले रोजगारी पाउनुका साथै नगरपालिकाको राजस्व समेत वृद्धि हुन्छ ।’

पार्कमा स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्ने गरी बगैंचा निर्माण गरिनेछ । बालबालिकाका लागि चिल्डेर्न पार्क, पिकनिक स्पट, शिवको मन्दिर समेत निर्माण गरिने छ । पार्कमा फुटबल ग्राउन्ड, भलिबल, बास्केटबल, स्विमिङ पुल समेत हुनेछ । मेलम्ची नगरपालिकाको वडा १० मा निर्माण हुन लागेको पार्कमा पहिलो चरण अन्तर्गत वृक्षारोपण समेत गरिएको छ। 

ग्रिन सिटी पार्क निर्माण सम्पन्न भएपछि नगरपालिकाले निश्चित शुल्कमा प्रवेशाज्ञा दिने योजना बनाएको छ । यसबाट करिब सयजनाले रोजगार पाउने नगरपालिकाले जनाएको छ। 

 

प्रकाशित: ६ कार्तिक २०७४ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App