८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक सञ्जालले जुटायो सहयोग

विशन क्षेत्री

कास्की- पर्वतको रानीपानीका जन्मजात अपाङ्ग दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा हेरेपछि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्। जिल्लाको विहादी गाउँपालिका ३ विहादी रानीपानीका एकै घरका पाँच जना जन्मजात अपाङ्ग दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा हेरेका लमजुङका कृष्ण कुमार श्रेष्ठले उनीहरुको उपचारको लागि घरमै पुगेर नगद सहयोग गरेका हुन्।

औषधीको भरमा जीवन धानेका उनीहरुलाई श्रेष्ठ सहित उनका साथी कोपिला थापा (कृष्ण) र दीपक केसीले २० हजार नगद सहयोग गरेका हुन्। लमजुङको बेसीसहर नगरपालिका ११ स्थायी ठेगाना भएका श्रेष्ठ हाल अष्ट्रियामा बस्दै आईरहेका छन्।

‘सामाजिक सञ्जालमा भाईरल भएको भिडियो हेरेपछि अपाङ्ग दिदीबहिनीलाई भेट्न घरमै आएका हौँ’, उनले भने, ‘उपचारमा सहजता होस् भन्ने हेतुले थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’

सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै श्रेष्ठले विदेश फर्केपछि पनि सहयोगको लागि अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे । ‘हाल व्यक्तिगत रुपमा थोरै मात्र सहयोग गर्‍यौं,’ उनले थपे, ‘विदेश फर्केपछि हामीले थप रकम जुटाउन सहयोग गर्नेछौं।’

घरको आर्थिक अवस्था कमजोर भएका कारण छोरीहरुलाई बचाईदिन अपाङ्ग दिदीबहिनीका पिता बलबहादुर दर्जीले आग्रह गरे । ‘घरायसी आम्दानी केही छैन्, छोरीहरुले वडाबाट मासिक दुई हजारका दरले भत्ता पाउँछन्,’ दर्जीले भने, ‘औषधीमा मात्र मासिक २० देखि ३० हजार खर्च हुने गरेको छ, बाह्य स्रोत नभएका कारण औषधी किन्न नै धौ धौ पर्ने गरेको छ ।’

परियारका आठ जना छोराछोरी मध्ये पाँच जना छोरीहरु जन्मिदै अपाङ्ग थिए । ती मध्ये मञ्जु परियारको १८ वर्षको उमेरमा २०६८ सालमा निधन भएको छ भने २०७२ सालमा १६ वर्षकी जमुना परियारको पनि निधन भएको थियो ।

समयमा नै उपचार गर्ने खर्च नजुट्दा छोरीहरुको जीवन दोसाँधमा परेको उनी सुनाउँछन् । हाल २४ वर्षकी मिठु परियार, १६ वर्षकी गंगा परियार र १४ वर्षकी अनिता परियार जीवित रहेका छन्।

प्रकाशित: ६ कार्तिक २०७४ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App