४ वैशाख २०८१ मंगलबार
राजनीति

महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन गाह्रो

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभामा चुनावबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन कठिन हुने देखिएको छ । मंसिर १० मा हुने चुनावका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि १७ जना र प्रदेशसभाका लागि २४ जना महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् । समानुपातिक र प्रत्यक्षतर्फबाट गरी संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधान छ । प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पु¥याउन निकै हम्मे पर्ने देखिन्छ ।

ठूला भनिएका दलबाट प्रतिनिधिसभाका लागि जम्मा ३ जना महिला प्रत्यक्षतर्फ चुनावी मैदानमा आएका छन् । स्थानीय चुनावमा पहिलो ठूलो दल बनेको नेकपा एमालेले प्रतिनिधिसभामा एकजना पनि महिलालाई उम्मेदवार बनाएको छैन । नेपाली कांग्रेसका तर्फबाट खोटाङकी सरस्वती बजिमय र बागलुङ क्षेत्र नम्बर १ बाट चम्पा खड्का तथा नेकपा माओवादी केन्द्रका तर्फबाट रुकुममा कमला रोकाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभामा तीन पार्टीका ७ जना महिला उम्मेदवार छन् । प्रदेशसभामा कांग्रेसको तर्फबाट ताप्लेजुङमा लीलादेवी बोखिम, सिन्धुपाल्चोकमा निमा तामाङ र बझाङमा चन्द्रादेवी जोशीलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी म्याग्दीमा एमालेकी नरदेवी पुन र मनाङमा खन्डा लामा गुरुङ प्रदेशसभाका लागि उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रले प्रदेशसभामा नुवाकोटबाट राधिका तामाङ र बझाङमा देवकी मल्ललाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभातर्फ ३७ वटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि ८ सय ७ जनाको उम्मेदवारी परेको छ । तीमध्ये ४१ जना महिला छन् । यो कुल उम्मेदवारको ५ प्रतिशतमात्र हो । यीमध्ये धेरैजना ठुला दलतर्फबाट उम्मेदवार नभएकाले निर्वाचन जित्नै कठिन हुने देखिएको छ ।
मंसिर १० मा पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदैछ । ती जिल्लाका ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाताले भोट दिन पाउनेछन् । दुवै सभाका लागि गरी १ सय ११ जना प्रतिनिधि छनोट हुँदैछन् ।
प्रतिनिधिसभाका लागि ३ सय २३ र प्रदेशसभाका लागि ४ सय ८४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट प्रदेशसभामा ७० जना र प्रतिनिधिसभामा ३७ जनाको उम्मेदवारी परेको छ ।
चुनाव हुने पहाडी ३२ जिल्लाको तुलनामा सबैभन्दा कम उम्मेदवारी मनाङबाट परेको छ । त्यहाँ प्रतिनिधिसभाका लागि २ र प्रदेशका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी मुस्ताङमा प्रतिनिधिसभामा २ जना र प्रदेशमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै उम्मेदवारी दोलखामा परेको छ । त्यहाँ केन्द्रका लागि १६ जना र प्रदेशका लागि २४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रत्यक्ष तर्फका उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबारका लागि तोकिएको थियो । मंगलबार उम्मेदवारका विरुद्ध परेका उजुरीउपर जाँचबुझ गरी आयोगले अन्तिम नामवली प्रकाशन गर्ने जनाएको छ । बुधबार उम्मेदवारी फिर्ता लिने काम सकिएपछि निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का पूर्वी रूकुम र रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडीमा चुनाव हुँदैछ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App