coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश–४ : गठबन्धनविरुद्ध असन्तुष्टि

पोखरा- केन्द्रीय स्तरमा गरिएको गठबन्धनले जिल्लास्तरको राजनीतिमा व्यापक गुनासो निम्त्याएको छ । त्यसको प्रत्यक्ष प्रभाव प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा देखिएको छ । गठबन्धन गरेका दलबीच भागबन्डाका आधारमा उम्मेदवारी दर्ता हुँदा जिल्लास्तरका नेतामा व्यापक असन्तुष्टि देखिएको छ ।
उम्मेदवारीको विषयलाई लिएर एमाले बागलुङमा खैलाबैला मच्चिएको छ । निर्वाचनमा वाम गठबन्धनका आधारमा तालमेल हुँदा बागलुङ–१ मा मात्र एमालेले उम्मेदवारी पाएपछि बागलुङ–२ का नेताले असन्तुष्टि जनाएका हुन् । असन्तुष्ट समूहले क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचनका लागि बागी उम्मेदवारीसमेत दिएको छ । असन्तुष्ट समूहले दधिराम शर्मालाई प्रदेशसभाका सदस्यका लागि उम्मेदवार बनाएको हो । एमाले बागलुङमा जिल्लाको पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरुले दुई नम्बर क्षेत्रको एमाले जनमतलाई पार्टीले बेवास्ता गरेको भन्दै स्वतन्त्र उम्मेदवार उठाएका हुन् ।
 ‘जिल्ला नेतृत्व हामीप्रति सधैं अनुदार देखिएको छ,’ एमाले क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य चिन्तामणि शर्माले भने, ‘यहाँका नेतालाई जिताउन सधंै हामीले मात्रै कुर्वानी दिनुपर्छ भन्ने छैन । त्यसैले हामीले स्वतन्त्र उम्मेदवारी दिएका छौं ।’ उनले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन या बार्गेनिङ गर्न यस्तो नगरेको पनि बताए । ‘हामी हाम्रै उम्मेदवारलाई जिताउन लागिपर्नेछौं । यो क्षेत्रीय कमिटीको एकमतको निर्णय हो,’ उनले भने, ‘अरू दलसँग गठबन्धन हुँदैमा हामी हाम्रा उम्मेदवारलाई यत्तिकै फिर्ता गराउँदैनांै ।’
माओवादी केन्द्रका धनबहादुर विकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका छन् । उनले नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको विरुद्धमा उम्मेदवारी दिएका हुन् । उनले जिल्लाबाट उम्मेदवारी सिफारिस गर्दा आफ्नो नाम पहिलो नम्बरमा परे पनि केन्द्रले एकाएक जिल्लामा काम नै नगरेका मान्छेलाई उम्मेदवार बनाई पठाएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । ‘गठबन्धनभित्रका साथी पनि असन्तुष्ट हुनुहुन्छ । मैले पनि पार्टीलाई जानकारी गराएरै उम्मेदवारी दर्ता गराएको छु,’ उनले भने, ‘यो फिर्ता लिनका लागि होइन, हामी फिर्ता गर्दैनौं ।’ गठबन्धनका नाममा जनतामा नभिजेको व्यक्तिले चुनाव जित्न नसक्ने उनको भनाइ थियो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट पनि एकजनाले बागी उम्मेदवारी दिएका छन् । माओवादी र एमालेले आफ्नो कार्यकर्तालाई नियन्त्रणमा राख्न नसकेपछि त्यसका विरुद्ध आफूले बागी उम्मेदवारी दिएको राजमो समर्थित गंगा थापाले बताए । राजमोका तर्फबाट बागलुङ –१ बाट थापाले बागी उम्मेदवारी दिएका छन् ।
त्यस्तै म्याग्दीमा प्रदेशसभा (क) मा कांग्रेसका केबी भण्डारीले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका अर्का नेता नेत्र महतले पनि प्रदेश (क) बाटै बागी उम्मेदवारी दिएका छन् । राप्रपासँग गठबन्धन हुँदा राप्रपा केन्द्रीय सदस्य समेत रहेका भीमप्रसाद गौचनले उम्मेदवारी पाएपछि कांग्रेसका नेताले असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख तथा रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका प्रमुख र उपप्रमुख सहित धेरै वडामा कांग्रेसले जितेकोले पनि अहिले कांग्रेसले नै उम्मेदवारी पाउनुपर्ने महतको दाबी थियो । ‘कांग्रेसले जित्छ भन्ने थाहा हुँदाहुँदै पनि गठबन्धनलाई आधार मानेर राप्रपालाई भाग लगाइयो । त्यसमै हाम्रो असन्तुष्टि हो,’ महतले भने । बागी उम्मेदवारी दिएका भण्डारीले पनि राप्रपालाई दिएकोमा असन्तोष जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
त्यस्तै एमालेका केपी अधिकारीले पनि प्रदेश (क) मै बागी उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रसँग गठबन्धन हुँदा माओवादीका विनोद केसीले उम्मेदवारी पाएपछि असन्तुष्टि जनाउँदै अधिकारीले बागी उम्मेदवारी दिएका हुन् । राष्ट्रिय बहिरा महासंघका अध्यक्षसमेत रहेका अधिकारी द्वन्द्वपीडित पनि हुन् । उनका बुबा मणिलाल शर्मालाई माओवादीले द्वन्द्वकालमा हत्या गरेका थिए । ‘अन्यायविरुद्धमा मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘पार्टीले भनेर पनि फिर्ता हुँदैन । कुनै बेला अन्याय खेपेको मैले अहिले उनैलाई सबै सुम्पिन सकिनँ । त्यही भएर मैले उम्मेदवारी दिएको हुँ ।’

प्रकाशित: ७ कार्तिक २०७४ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App