७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पपीडितलाई अनुदान किस्ता पाउन सकस

बनेपा- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानअन्तर्गत पहिलोदेखि तेस्रो किस्तासम्मको रकम वितरणका लागि साबिक रबिओपी गाविसलाई नमुना छनोट गरी कार्यक्रम सुरु गर्यो ।

पहिलो र दोस्रो किस्ता पनि ढिलोगरी पाएका यहाँका पीडितहरूले अझैसम्म तेस्रो किस्ता पाएका छैनन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्राप्त माग फारामअनुसार प्रत्येक लाभग्राहीको विवरण हेर्दै र रुजु गर्दै ‘म्यानुअल्ली इन्ट्री’ गर्नुपर्दा ढिलो हुने गरेको छ ।

केन्द्र र जिल्लाबाट भिआइपीहरू गाउँमै पुगेर सम्झौताका प्रतिहरू भूकम्पपीडितहरूलाई हस्तान्तरण गरे पनि । तर, पहिलो र दोस्रो किस्ता पनि ढिलोगरी पाएका यहाँका पीडितहरूले अझैसम्म तेस्रो किस्ता पाएका छैनन् ।
‘जिल्लामै पहिलो पटक आफ्नो गाविस छनोट भयो भनेर दंग परेका थियौं । पहिलो पटक सिस्टम मिलाउँदा ढिलो भयो होला भनेर चुप लाग्यौं । दोस्रो किस्ता पनि सम्झौता गरेको महिनौंपछि पायौं । घर बनाइसकेको जाँच भएर तेस्रो किस्ताका लागि असारमै सिफारिस भएर गएकोमा अहिलेसम्म रकम पाउन सकिएन’, साबिक रबिओपी–८ का प्रधुन थापाले गुनासो गरे ।
रबिओपी–२, कि सुशीला कोइरालाले असारमसान्तअगाडि घर तयार भएलगत्तै इन्जिनियरको सिफारिससहित तेस्रो किस्ताका लागि निवेदन गरेकी थिइन्, तर हालसम्म रकम निकासा नहुँदा तिरोतारो गर्न कठिनाइ भएको सुनाइन् ।
मण्डनदेउपुर नगरपालिका–८ (साबिक महादेवस्थान–१) का शरण भण्डारीले सरकारले तोकेको मापदण्ड पूरा गर्दै अघिल्लो फागुनमै घरको निर्माण सकेका छन् । यतिखेर तेस्रो तथा अन्तिम किस्ता रकम पाउनुपर्नेमा उनी दोस्रो किस्ता रकमका लागि कार्यालयहरू धाउँदैछन् ।
अहिले पनि दोस्रो र तेस्रो किस्ता अनुदान रकम पाउन सकिएन भन्दै जिल्लास्थित सहरी विकास तथा भवन डिभिजन, जिल्ला प्राविधिक कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयमा भूकम्पपीडितहरू दिनहुँ धाइरहेको भेटिन्छन् ।
‘घर बनाइसकियो । नियमानुसार तेस्रो किस्ता रकम पाउनुपर्ने हो । तर, दोस्रो किस्ताकै रकम नपाएर भवन र प्राविधिक कार्यालय त कत्ति धाएँ । कोषको हाकिमलाई समेत भेटेर अनुरोध गरेपछि तिहार अघि बल्ल रकम बैंकमा गएको छ’, महादेवस्थानका केशवराज पौडेलले भने, ‘गाउँबाट सिफारिस जिल्लामा गएपनि पीडितहरू पछि–पछि नलागीकन रकम पाउने अवस्था छैन । यसमा सम्बन्धित निकायले छानबिन गरिदिनुपर्छ’, उनले थपे ।
प्राधिकरणको कार्यविधि अनुसार प्रथम किस्ताजस्तो बाँकी दुई किस्ताहरू पाउने प्रणाली सजिलो छैन । गाउँमा रहेका इन्जिनियरले घर भूकम्प प्रतिरोधी बने÷नबनेको जाँच गरी सहरी विकास तथा भवन डिभिजनमा सिफारिस पठाउँछन् । त्यहाँ प्राप्त सिफारिसलाई भवनले ‘भेरिफाइ’ गरी जिल्ला प्राविधिक कार्यालयमातहतको जिल्ला कार्यान्वयन इकाइलाई रकम निकासाका लागि लेखिदिन्छ । इकाइबाट रकम मागसहित कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका¬) मा पुगेको फारामलाई इन्ट्रीपछि पीडितहरूको खातामा जम्मा गरिदिन बैंककै नाममा चेक बनाइने कार्यप्रणाली विद्यमान छ ।
‘हामीकहाँ प्राप्त माग फाराम र हामीसँग भएको लिस्टको नामावली भिडेपछि गाविस र नगरपालिकाअनुसार एकमुष्ट रकम चेकमार्फत तोकिएको बैंकलाई पठाउन गरिएको छ । यहाँ आएका माग फारामहरूलाई तत्कालै भुक्तानी दिने सिस्टम बनाइएको छ । अन्यत्र निकायमा ढिलो भएको होला, हामीले ढिलाई गरेका छैनौं’, प्रमुख कोष नियन्त्रक केदारसिंह देउजाले भने ।
तर, लाभग्राहीको सूचीअनुसार अनलाइनमै ‘इन्ट्री’ गर्न मिल्ने प्रणाली यस पटक कोलेनिकामा छैन । विगतको प्रणालीमा प्राधिकरणले उपलब्ध गराएको लाभग्राही सूची अनलाइनमै भएकाले प्रथम किस्ता रकम निकासामा सहज भएको थियो । तर, यस पटक कोलेनिकामा प्राप्त माग फारामहरूअनुसार प्रत्येक लाभग्राहीको विवरण हेर्दै र रुजु गर्दै ‘म्यानुअल्ली इन्ट्री’ गर्नुपर्दा ढिलो हुने गरेको त्यहाँका प्राविधिकको भनाई छ ।
यत्ति हुँदा हुँदै पनि कोलेनिकामा प्राप्त निकासा माग फारामहरूलाई चाँडो इन्ट्रीसहित चेक तयार गर्दै आएको जनाएको छ । हालसम्म कोलेनिकाबाट तेस्रो किस्ताबापत लाभग्राहीको विवरण भिडेका १ हजार १  सय ४३ जनाका लागि ११ करोड ४३ लाख रुपैयाँ विभिन्न बैंकहरूमा पठाइसकेको कार्यालयको रेकर्डमा उल्लेख छ ।
असोज मसान्तसम्ममा बैंकहरूका नाममा लेखिएका चेकहरू चलानी भइसकेको कोलेनिकामा देखिए पनि बैंकहरूले रकम नआएको भन्दै लाभग्राहीहरूलाई फर्काउने गरेका छन् ।
‘बैंकहरूले दसैंतिहार भनेर चेक लिन नआएको र आएकाहरूले पनि भीड हुने भन्दै भुक्तानी नदिएको कुरा सुनेको छु । यसबारेमा कार्यालय खुलेलगत्तै निर्णय लिनेछौं’, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर लोकनाथ रेग्मीले भने ।
आर्थिक वर्ष ०७३÷७४ मा भुम्लु गाउँपालिकाका १५ जना लाभग्राहीलाई तेस्रो किस्ता निकासा भएको थियो । चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा साबिकका ४५ गाविस र एक नगरपालिकाका १ हजार १ सय २८ लाभग्राहीका लागि तेस्रो तथा अन्तिम किस्ता रकम निकासा भएको हो । यसअघि कोलेनिकाले पहिलो र दोस्रो गरी जिल्लामा ४ अर्ब १६ करोड ३९ लाख ५० हजार रुपैयाँ लाभग्राहीहरूको बैंक खातामा पठाइसकेको छ ।
यसैबीच, सरकारसँग निजी आवास पुनर्निर्माण अनुदान वितरण गर्न स्वीकृति लिएको गैरसरकारी संस्था कारितास नेपालले साबिकको बल्थली र चण्डेनी मण्डन गाविसका ४ सय ३६ जनालाई दोस्रो किस्ताबापत जनही डेढ लाख रुपैयाँ वितरण गरिसकेको जनाएको छ । यस्तै, दुवै गाविसमा गरी अढाई सय जनालाई तेस्रो किस्ताबापतको एक लाख रुपैयाँसमेत वितरण गरिसकेको छ ।
‘दुइटै गाविसका लाभग्राही सूचीमा रहेका प्रायः सबैलाई पहिलो किस्ता दिइसकेका थियौं । पछिल्लो पटकको गुनासो सुनुवाइबाट लाभग्राही कायम भएका बल्थलीका थप ४० जनालाई हालै प्रथम किस्ता वितरण ग¥यौं’, संस्थाका प्रमुख इन्जिनियर सागर तिवारीले भने, ‘अनुदानको रकममात्रै नभई हामीले घर निर्माणमा प्राविधिक सहयोग गरेकै कारण यी गाविसहरूका अधिकांश भूकम्प प्रभावितले घर बनाइ सक्नु भएको छ भने बनाउँदै गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको छ,’ उनले थपे ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App