७ वैशाख २०८१ शुक्रबार
खेल

कराते प्रतियोगितालाई सम्झनाको साथ

काठमाडौं- राष्ट्रिय कराते प्रतियोगिताको ५०औं संस्करणलाई ललितपुरको सम्झना ल्याबोरेटरी क्लिनिकले मुख्य प्रायोजकका रूपमा सघाउने भएको छ । नेपाली करातेको इतिहासमा पहिलो पटक प्रतियोगिताका लागि सोमबार नेपाल कराते महासंघ र सम्झना ल्याबोरेटरीबीच मुख्य प्रायोजन सम्झौता भयो ।
प्रायोजन सम्झौतापत्रमा कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना ल्याबोरेटरीका अध्यक्ष उर्दीप जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार ल्याबोरेटरीले कराते महासंघलाई ८ लाख ५० हजार रुपैयाँ नगद तथा अन्य सहयोग गरी १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । त्यसबापत प्रतियोगिताको नाम सम्झना ल्याब राष्ट्रिय कराते प्रतियोगिता हुनेछ ।
सम्झौताअनुसार यही कात्तिक २३ देखि २५ सम्म हुने प्रतियोगिता दौरान ल्याबले उपचार टोली र एम्बुलेन्सको व्यवस्था गर्नेछ । यसका साथै प्रतियोगिताबाट छनोट भई राष्ट्रिय टोलीमा पर्ने २३ खेलाडीलाई अर्को वर्ष इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदसम्म निशुल्क ल्याब परीक्षण गराउने तथा दुई सेट खेल सामग्री उपलब्ध गराउने सोमबार सम्झौता कार्यक्रममा जानकारी गराइयो ।
प्रतियोगिठतामा पुरुषतर्फ ८ तथा महिलामा ७ तौल समूह तथा दुवैतर्फ एकल र टिम काताका साथै टिम फाइटसहित कुल २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । स्वर्ण पदक जित्ने सबै २३ खेलाडीलाई समावेश गरेर एसियाली खेलकुद, नेपालमै २०१९ मा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) तथा २०२० को टोकियो ओलम्पिकका लागि राष्ट्रिय टोली निर्माण गरिने प्रतियोगिताका संयोजक एवं राष्ट्रिय कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।
करातेबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ठूलो अपेक्षा गरिए पनि त्यो अनुसार लगानी नभएको श्रेष्ठले गुनासो गरे । ‘हामी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा करातेबाट ठूलो आशा गरिएको हुन्छ । तर शून्य लगानीका कारण हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा आवश्यक खेलपोसाकसमेत पाएका हुँदैनन्, त्यहाँ अरूसँग मागेर लगाउनुपर्छ,’ श्रेष्ठले भने, ‘खेलाडीको मिहिनेतका भरमा टिकेको करातेलाई यस्तो प्रायोजनले हौसला प्रदान गर्छ । हामी यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा गर्ने प्रयास गर्नेछौं ।’
मुख्य प्रायोजक सम्झना ल्याबका अध्यक्ष जोशीले करातेको इतिहास गौरवशाली रहेको बताउँदै त्यसलाई कायम राख्न आफ्नो प्रायोजनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
कराते महासंघका अध्यक्ष गुरुङले प्रतियोगिता राष्ट्रिय टोली छनोटको आधार भए पनि प्रत्येक तीन महिनामा यस्तो प्रतियोगिता गरिरहने बताए । ‘एसियाली खेलकुद, साग तथा ओलम्पिकसम्मक राष्ट्रिय टोली निर्माणका लागि यो छनोट प्रतियोगिता हो । तर हामी प्रत्येक तीन महिनामा छनोटका  विभिन्न प्रतियोगिता गरिरहन्छौं,’ गुरुङले भने, ‘करातेलाई राष्ट्रिय गौरवको मुख्य खेलका रूपमा निरन्तर राख्न टोकियो ओलम्पिक नसकिएसम्म राष्ट्रिय टोलीको प्रशिक्षण निरन्तर भइरहनेछ ।’
यसै गरी राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष तथा करातेका अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले ‘नेपाली करातेको इतिहासमै पहिलो पटक प्रायोजकका रूपमा आएको’ भन्दै सम्झना ल्याबलाई धन्यवाद दिए ।
प्रतियोगितामा महिलातर्फ ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६१ केजीमुनि, ६८ केजीमुनि र ६८ केजीमाथिका प्रतिस्पर्धा समावेश छन् । पुरुषतर्फ ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६७ केजीमुनि, ७५ केजीमुनि, ८४ केजीमुनि र ८४ केजीमाथिका इभेन्ट्समा प्रतिस्पर्धा हुनेछन् । यसै गरी महिला र पुरुष दुवैतर्फ एकल र टिम काता तथा दुवैतर्फ टिम फाइटका प्रतिस्पर्धा समावेश गरिएका छन् ।

प्रकाशित: ७ कार्तिक २०७४ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App