७ वैशाख २०८१ शुक्रबार
अर्थ

कालीगण्डकी करिडोरलाई ६० करोड माग

काठमाडौं- नेपाली सेनाले ट्र्याक खोलेको कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव भएको छ । ट्र्याक खोलेर सवारी सञ्चालनमा आए पनि बजेट नहुँदा स्तरोन्नतिमा कठिनाइ भएको हो ।
यो वर्ष ट्र्याक खोलेर सञ्चालनमा आए पनि करिडोरको बागलुङ खण्डका विभिन्न ठाउँमा गाडी फस्न थालेका छन् । बागलुङको अर्जेवा, जैदी लगायत ठाउँमा समस्या देखिएको हो ।
नयाँ ट्र्यायका विभिन्न ठाउँमा सडक साँघुरो, खोलामा डाइभर्सन, सडकमा पानी जमेकोले गाडी फस्ने गरेको सो रुटमा सवारी गुडाउने रमेश नेपालीले बताए । ‘ट्र्याक खोलेरमात्र हुँदैन । ठाउँठाउँमा जोखिमपूर्ण हुँदा सवारी सञ्चालनमा कठिनाइ भएको छ,’ नेपालीले भने ।
सवारी साधन फसेको ठाउँमा सुधार विस्तारको प्रयास भइरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । दुई छिमेकी मुलुक जोड्ने व्यापारिक तथा पारवहनको लागि करिडोर लाइफलाइन मानिन्छ । सवारी सञ्चालनमा आए पनि बर्खामा सञ्चालन गर्न नाली काट्नुपर्ने नेपाली सेना कालीण्डकी करिडोर निर्माण कार्यदलका संयोजक रेश्मीराज भट्टराईले बताए । ‘बर्खा सुरु भएपछि अझ समस्या आउन सक्छ,’ उनले भने, ‘बजेटको व्यवस्था भए थप व्यवस्थित गर्छौं ।’ ट्र्याक खोले पनि रिटेनिङ वाल, ग्राभेल लगायत काम बाँकी रहेको सेनाले जनाएको छ ।
करिडोर स्तरोन्नतिको लागि ६० करोड रुपैयाँ आवश्यक रहेको भट्टराईले बताए । बागलुङ खण्डको लागि २५ करोड र गुल्मी खण्डको लागि ३५ करोड रुपैयाँ आवश्यक रहेको सेनाले जनाएको छ । ‘थप बजेट माग गरेका छौं,’ भट्टराईले भने, ‘बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ ।’ करिडोरलाई १० मिटर चौडा गर्न र स्तरोन्नति गर्न बजेट माग गरिएको उनले बताए ।
गुल्मी खण्डको लागि बजेट प्रस्तावको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । ट्र्याक खोल्ने काम सम्पन्न भए पनि बागलुङको लमाय खोलामा पुल निर्माण गर्ने नेपाली सेनाको निर्माण कार्यदलका उपरथी उद्धब विष्टले बताए । ‘ठूला भिर–पहरा भए पनि जोखिम मोलेर ट्र्याक खोलेको हो,’ विष्टले भने, ‘सरकारले जिम्मेवारी दिए सडकको सुधार, विस्तार गर्छौं ।’
कोरलादेखि सुनौलीसम्मको करिब तीन सय ४५ किलोमिटर सडक ट्र्याक खुलिसकेको छ । भारतसँग जोडिएको सुनौली नाकाबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै चीनसँग जोडिएको कोरालासम्म सिधा सवारी सञ्चालन गर्न भने केही समय लाग्नेछ ।
बागलुङका दुर्गम जैदी, छिस्ती सडक सञ्जालबाट जोडिएपछि त्यहाँका स्थानीय उत्साहित छन् । बागलुङको मालढुंगाबाट नारायणस्थान टाकुरी, जैमुनीघाट, बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्तीबाट गुल्मीको पालुङ खोला जोडिएको छ । गुल्मी खण्डमा सेनाले गत वर्ष नै ट्र्याक खोलेपछि सुनौली, पाल्पा, गुल्मी हुँदै बागलुङको छिस्तीसम्म गाडी गुडिरहेका छन् । अहिले बागलुङबाट गुल्मी, पाल्पाको राम्दी पुलबाट बुटवल हुँदै भैरहवा सुनौली नाकासम्म सवारी गुडाउन थालेका छन् ।
भूपरिवेष्ठित मुलुकका लागि दुई मुलुक जोड्ने सडकले व्यापारका साथै पारवहनमा धेरै महŒव राख्छ । करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्र्याक खोलिएको हो । सेनाले करिडोरका विभिन्न ठाउँमा बेलिब्रिज पनि बनाएको छ । करिडोरको गुल्मीमा गौदी खोला, गुल्मी र बागलुङको सीमा पालुङ खोला, बागलुङको छिस्ती, जैदीमा पर्ने बेलबगरको चौरी खोला, जैमुनीघाट लगायत स्थानमा बेलिब्रिज निर्माण गरेको छ । करिब १२ करोडको लागतमा निर्माण पुल निर्माण गरिएको हो । सोही करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पुल निर्माणसँगै स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App