७ वैशाख २०८१ शुक्रबार
अर्थ

पल्स अवधि १ सेकेन्ड हुन सकेन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक १ देखि सम्पूर्ण दूरसञ्चार प्रदायकलाई मोबाइल पल्स अवधि एक सेकेन्ड बनाउन निर्देशन दिए पनि हाल उक्त सेवा सुरु नहुने भएको छ । दूरसञ्चार सेवा प्रदायकहरूले पल्स अवधि घटाउन प्राविधिक तयारी नपुगेको भन्दै प्राधिकरणसँग थप समय मागेपछि उक्त सेवा हालका लागि स्थगित भएको हो ।
प्राधिकरणले दिएको निर्देशन अनुसार २० सेकेन्डको पल्स अवधिलाई सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकले वैशाखदेखि १० सेकेन्ड बनाइसकेका छन् । प्राधिकरणले दुई चरणमा गरेर वैशाख १ देखि मोबाइल कलमा १० सेकेन्ड र कात्तिक १ देखि एक सेकेन्डको एक पल्स बनाउन निर्देशन दिएको थियो । पल्स भनेको ग्राहकले कुरा गरेको समयको अवधि हो ।
दूरसञ्चार कम्पनीहरूले प्रावधिक रुपमा तयारी नपुगेकोले थप केही समय दिन माग गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘नेपाल टेलिकम, एनसेल दुवैले एक पल्स बनाउनलाई प्राविधिक तयारी नभएको भन्दै थप समय मागेका छन्,’ अर्यालले आइतबार नागरिकसँग भने, ‘कात्तिक १ देखि लागू गर्ने भनिएको एक सेकेन्डको पल्स निर्णय केही समयको लागि स्थगित गरिएको छ ।’ केही समयपछि उक्त निर्णय लागू गरिने उनले जनकारी गराए ।
अर्यालका अनुसार दूरसञ्चार कम्पनीहरूले एक सेकेन्डको एक पल्स बनाउन ‘बिलिङ सिस्टम मेसिन’ परिवर्तन र अपग्रेड गर्नुपर्ने, साथै हार्डवेयर थप गर्न समय समय लाग्ने भन्दै थप केही समय मागेका छन् ।   
प्राधिकरणका अुनसार अहिले सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकले वैशाख महिनादेखि मोबाइल कलमा १० सेकेन्डको एक पल्स बनाइसकेका छन् । त्यसअघि मोबाइलमा २० सेकेन्डको एक पल्स अवधि थियो ।
पल्स भनेको ग्राहकले कुरा गरेको समयको अवधि हो । एक सेकेन्डको पल्स बनाउँदा सेवाग्राहीलाई फाइदा हुन्छ भने सेवा प्रदायक कम्पनीहरूको आम्दानी केही असर गर्छ । वैशाखसम्म सेवा प्रदायक कम्पनी अनुसार पल्सको अवधि पनि फरक–फरक रहेको थियो । हाल नेपाल टेलिकम, एनसेल लगायतले प्रत्येक १० सेकेन्डको एक पल्स बनाएका छन् । यसको अर्थ, ग्राहकले कुरा गर्न सुरु गरेपछि १० सेकेन्डको शुल्क लाग्छ । पाँच सेकेन्ड मै कुरा सकाए पनि १० सेकेन्डै शुल्क तिर्नुपर्ने बाध्यता छ । कुनै ग्राहकले ११ सेकेन्ड कुरा गरेको छ भने उसले २० सेकेन्डको शुल्क तिर्नुपर्छ । ११ सेकेन्ड कुरा गर्ने ग्राहकले कुरै नगरी बाँकी नौ सेकेन्डको पैसा तिर्नुपर्छ । यस अनुसार ग्राहकले प्रत्येक १०, २०, ३० सेकेन्डको पैसा तिर्दै जान्छन् । वैशाखअघि यो अवधि ठीक दोब्बर थियो ।
वैशाखमा मोबाइलको पल्स अवधि २० बाट १० सेकेन्ड बनाएपछि नेपाल टेलिकम र एनसेलको आम्दनी केही कम आएको छ । नेपाल टेलिकमको एक वित्तिय विवरण अनुसार पल्स अवधि घटाउँदा आम्दानीमा केही कमी आएको उल्लेख गरिएको थियो । त्यसैगरी, एनसेलको प्रमुख लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक वित्तीय विवरणमा पनि पल्स अवधि घटाउँदा आम्दानीमा केही असर गरेको उल्लेख गरेको थियो ।
अन्तर्राष्ट्रिय प्रचलन, नियम अनुसार पल्सको अवधि घटाउन लागिएको हो । ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर प्राधिकरणले सेवा प्रदायकलाई पल्सको अवधि घटाउन निर्देशन दिएको थियो ।
पहिला कम्प्युटर वा पल्सको हिसाब गर्ने सफ्टवेयरले सेकेन्डको हिसाब निकाल्न नसक्ने भएकाले धेरै अवधिको पल्स राखिएको थियो । संसारभर रहेको यो प्रचलनलाई प्रविधिको सुविधासँगै घटाउँदै लागिएको छ । पछिल्लो समय एक सेकेन्डको पनि हिसाब निकाल्ने प्रविधि आइसकेपछि ग्राहकको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय दूरसञ्चार नियामक निकायहरूले महसुल निर्धारणका लागि एक सेकेन्ड बराबर पल्सको व्यवस्था गरेका छन् ।
पछिल्लो समय छिमेकी देशहरूले एक सेकेन्डको एक पल्स निर्धारण गरेका छन् । श्रीलंकामा एक वा ६० सेकेन्डको पल्स (ग्राहकले छान्न सक्ने), पाकिस्तानमा एक, ३० र ६० सेकेन्डको एक पल्स (ग्राहकले छान्न सक्ने), बंगलादेशमा एक र ६० सेकेन्डको पल्स (ग्राहकले छान्न सक्ने) र भारतमा सबै सेवा प्रदायकले एक सेकेन्डको पल्स बनाउनुपर्ने नियम बनाइको छ ।
श्रीलंकाले यो व्यवस्था केही वर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छ । भारत, पाकिस्तान र बंगलादेशले हालसालै सुरु गरेका हुन् । अहिले भारतीय नियामक निकाय टिआरएआईले यसलाई अनिवार्य समेत बनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App