८ वैशाख २०८१ शनिबार
समाज

भाइटीकामा बनेका नेपाली दाइ र जापानी बहिनी

प्रकाश पन्थी/रासस

टोकियो—अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन। भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन्। उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने। प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ। यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो।

दीर्घायुको कामनाका साथ दानदक्षिणा र उपहार आदानप्रदान गरेर मनाइने भाइटीका पर्वमा एकापसमा परिचित नभएका उनीहरु टीका र माला लगाएर दाइ र बहिनी बनेको यो दृष्य जापानका नेपालीमाझ पनि नौलो भयो। दिदीबहिनी नहुनेले अर्कैलाई दिदीबहिनी बनाएर टीका लगाउने चलन नेपालमा सीमित यो चलन जापानमा पनि देखिएको हो।

नेपाली कला सस्ंकृतिप्रतिको मायाले नेपाली हिन्दूको चाड तिहारमा जापानीले केटालाई दाइ र आफू बहिनी बनेर टीका लगाउने काम मात्र भएन, यहाँका नेपाली महिलालाई दिदी र बहिनी बनाएर र बनेर टीका लगाउने पनि देखिएका थिए। देउसीभैलोमा पनि सहभागिता जनाएका उनीहरुले नेपालीसरह नगद, फलफूल र मीठा परिकार बनाएर लक्ष्मीको पनि पूजा गरे। नेपाली छोरी बन्न पाएकामा ताकेउची खुशी थिइन्। उनले स्थानीय नेपाली पसलबाट कुर्ता, सुरुवाल र पछ्यौरी पनि किनेकी थिइन्। उनले अरु जापानी साथीलाई साडी र ब्लाउजमा टीका लगाउने व्यवस्था मिलाएकी थिइन्। टोकियोमा युका चुचुई र ताकेउचीलगायतले टीका थापेका थिए।

टोकियो बाहिर सेन्डाइ र होक्काइदोमा पनि जापानीले नेपालीलाई दाइभाइको नाता लगाएर सप्तरंगी टीका र माला लगाएका छन्। उनीहरु टीका र माला लगाएर दाइभाइ र दिदीबहिनी बनेका दृष्य अनौठा थिए। भाइटीकामा गरिएको यस कार्यलाई उनीहरुले नेपाल र नेपालीको माया, सद्भाव तथा विविधतामा एकता भएको बताएका छन्।

कुकुरलाई माला लगाएर तिहार भित्र्याएका नेपालीले सेल रोटी, फिनी, लड्डु, रसबरीलगायत मीठा परिकार बनाएको र मादल, गीतारमा भट्याएर नाचेको परम्परागत देउसीभैलोमा पनि जापानीले उत्साहित भएर अवलोकन गरेका थिए। भाइटीका लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसगैं अन्य विदेशी घोरिएका हुन्थे। कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले टीका थापेर तिहारलाई बिदाइ गरेका छन्।

बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया ,फुकुओकालगायत स्थानका नेपालीले भने पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभसाइत(जापानी समयानुसार ३ बजेर ५ मिनेट)मा टीका लगाएका थिए। टोकियोका धेरै स्थानमा सामूहिक रुपमा खेलिएको देउसीभैलोमा तडकभडक र बढ्दो बिकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरिएको थिएन।

प्रकाशित: ७ कार्तिक २०७४ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App