coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सी जिनपिङ माओपछिको सबैभन्दा शक्तिशाली नेता

बेइजिङ – चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीको विधानमा आधुनिक चीनका निर्माता माओ त्से तुङ सरहको स्थान दिएको छ।

चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक, सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको अन्तिम सत्रले राष्ट्रपति सीको नाम र उनको राजनीतिक विचारधारा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङका विचार’ भन्ने नारालाई पार्टीको विधानमा समावेश गरेको छ ।

चीनमा राष्ट्रपति सीलाई दिइएको जस्तो सम्मान हालसम्म कम्युनिस्ट पार्टीका संस्थापक नेता माओ र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । सन् २०१२ मा चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको नेता भएपछि सीले क्रमिक रुपमा देशको राजनीतिक शक्तिमा आफ्नो प्रभाव बढाउँदै लगेका छन् ।

पार्टीको विधानमा नाम हुनुको अर्थ अब राष्ट्रपति सीविरुद्ध हुनै कुनै पनि गतिविधिलाई चीनको कम्युनिस्ट पार्टीको शासनमाथि कै चुनौतिका रुपमा लिइनेछ ।

पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सीलाई थप शक्तिशाली बनाएको छ भने उनका प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएको छ ।

‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङका विचार’ भन्ने नारालाई चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा उल्लेख गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्न राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा देशका विभिन्न क्षेत्रबाट दुई हजारभन्दा बढी प्रतिनिधि उपस्थित भएका थिए । सीको विचारधारालाई पार्टीको विधानमा उल्लेख गर्ने प्रक्रियाको अन्त्यमा उपस्थित प्रतिनिधिलाई कुनै विरोध छ भनेर गरिएको प्रश्नमा सबैले एकै स्वरमा ‘छैन’ भनेको ग्रेट हलमा त्यसबेला उपस्थित सञ्चारकर्मीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

गत साता राष्ट्रपति सीको तीन घण्टा लामो भाषणबाट कम्युनिस्ट पार्टीको महाधिवेशन शुरु भएको थियो । त्यसबेला उनले पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो छुट्टै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नारा उच्चारण गर्न खासै सहज नहुने भएपनि चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड सदस्यका साथै विद्यालय एवं कलेजका विद्यार्थी तथा सरकारी कारखानाका कर्मचारीले पनि अब नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङका विचारधारा’ पढ्नेछन् ।

‘नयाँ युग’ ले आधुनिक चीनको तेस्रो चरणलाई संकेत गर्दछ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाएका थिए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाएका थिए ।

यो नयाँ युगमा सीले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित बनाएका छन् भने देशबाहिर सशक्त रुपमा प्रस्तुत गरेका छन् ।

यस अघि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको विचारलाई पार्टीको संविधानमा उल्लेख गरिएतापनि माओ त्से तुङ बाहेक अन्य नेताका दर्शनलाई विचारका रुपमा व्याख्या गरिएको थिएन । हालसम्म माओ र देङ सिआओपिङका नाम मात्रै विचारधारासँग जोडिएका थिए । देङको नाम त पार्टीको विधानमा उनको मृत्युपछि मात्रै उल्लेख गरिएको थियो । सुरुमा सी जिनपिङको विचारलाई अस्पष्ट जस्तो देखिएपनि यसले सीले आफ्नो शासनकालभर विकास गरेको कम्युनिस्ट सिद्धान्तको व्याख्या गर्ने बताइएको छ । सीको नयाँ विचारधारामा रहेको १४ वटा मुख्य सिद्धान्तले देशको सबै क्षेत्रलाई शासन गर्ने भूमिकालाई महत्व दिएको छ । जसमा ‘चीनको गहिरो तथा पूर्ण सुधार’ र ‘विकसित नयाँ विचार’लगायतका छन् । एक साता लामो महाधिवेशनबाट देशका विभिन्न क्षेत्रबाट आएका दुई हजारभन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका छन् । मंगलबार उनीहरुले पार्टीको उच्च तह केन्द्रीय कमिटी र अनुशासन आयोगको केन्द्रीय कमिटीसमेतलाई अन्तिम रुप दिएका छन् । यसैबीच मंगलबार अन्तिम रुप दिइएको नव गठित केन्द्रीय कमिटीले आज बुधबार पार्टीको पोलिटब्युरोमा रहने सदस्यको नाम पारित गर्ने बताइएको छ ।

 

प्रकाशित: ८ कार्तिक २०७४ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App