८ वैशाख २०८१ शनिबार
कला

‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउँछ ’

काठमाडौं– अघिल्लो वर्ष भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को एसोसियट निर्देशकको रुपमा रहँदा निर्देशक दिवाकर भट्टराई जति खुशी थिए, अहिले उनी त्योभन्दा बढी खुशी छन् । कारण उनले उस्तै क्यानभाषको फिल्ममा ‘सोलो’ निर्देशकको रुपमा ‘ऐश्वर्य’ मा आफूलाई प्रमाणित गर्ने प्लेटफर्म पाएका छन्। र प्रारम्भिक प्रतिक्रियाले उनलाई ढुक्क बनाएको छ।

भुवन पुत्र अनमोल केसीलाई ‘ड्रिम्स’मा निर्देशन गरेका दिवाकरले आगामी कात्तिक ९ गतेबाट रिलिज हुने फिल्म ‘ऐश्वर्य’मा रमेश उप्रेतीलाई निर्देशन गरेका छन्। रमाइलो संयोग के छ भने उप्रेतिले पनि भुवन केसीकै फिल्म ‘करोडपति’मा खलनायकको भूमिकाबाट अभिनय यात्रा सुरु गरेका थिए। दिवाकर भुवन केसीसँगको सिकाइले ‘ऐश्वर्य’लाई पनि सघाएको बताउँछन्। 

अनमोल केसी अभिनित ‘ड्रिम्सको एसोसिएट निर्देशक रहेका दिवाकर भट्टराई अघिल्ला पुस्ताका अभिनेता रमेश उप्रेतिको अभिनय तथा निर्माण रहेको फिल्म  ‘ऐश्वर्य’का पनि निर्देशक हुन् । उनले ‘ड्रिम्स’ झैं ‘ऐश्वर्य’ पनि ठूलो क्यानभाषमा बनेको बताए। 

‘भुवन दाइ एकदमै व्यावसायिक मान्छे हो । उहाँसँग फिल्म क्षेत्रमा काम गरेको लामो अनुभव छ । उहाँको फिल्म बनाउँदा ठूलो क्यानभासमा बनायौं,’उनले भने,‘रमेश दाइ पनि फिल्म क्षेत्रको चर्चित अनुहार हो । फिल्ममा प्रोडक्सन र कलाकारको मात्रा तल माथि होला, तर काम सिकाउने कुरामा दुवै कलाकारको शैली उस्तै लाग्यो ।’

अभिनेता रमेश उप्रेतिलाई पुरानो पुस्ताको अभिनेता मानिन्छ । तर, दिवाकरले फिल्ममा उप्रेतिलाई नयाँ लुकमा प्रस्तुत गरेको दाबी गरे । ‘फिल्ममा बीचमा केही समय ग्याप भए पनि पहिलोको रमेश र अहिलेको रमेशमा दर्शकले पक्कै फरक पाउनुहुनेछ,’दिवाकरले भने,‘ अभिनय र एपिरियन्स दुवैमा काम गरेका छौं।’

रमेश प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशनको जिम्मा शुरुमा निर्देशक नवल नेपालले पाएका थिए । स्क्रिप्ट फाइनल भइसकेपछि निर्देशक नवल फिल्मसँग जोडिएनन् । उनको ठाउँमा आइपुगेका दिवाकरले झण्डै नौ महिना लगाएर नयाँ स्क्रिप्ट बनाए। ‘नवल दाइको स्क्रिप्टमा के कुरा थिए भन्ने कुरा मैले गहिरो अध्ययन गरिन। त्यसकारण पनि मलाई लाग्छ मेरो स्क्रिप्टमा उहाँको कथा जोडिएको छैन,’उनले खुलाए,‘ रमेश दाइले दिएको कथालाई मैंले आफ्नो हिसाबले प्रस्तुत गरेको हुँ । ‘ड्रिम्स’मा काम गर्दाको अनुभवले पनि ‘ऐश्वर्य’लाई ठूलो क्यानभासमा देखाउन मद्दत ग¥यो ।’

उनले फिल्मको नाम कुनै व्यक्तिको जस्तो लागे पनि कथा अर्कै भएको खुलाए । ‘ऐश्वर्य प्राप्तिको कुरा भए पनि त्यो ऐश्वर्य व्यक्ति वा उसले पाउने सन्तुष्टि हुन सक्छ,’दिवाकरले भने ,‘समग्रमा भन्नुपर्दा फिल्ममा प्रेम र त्यो प्राप्तिका लागि हुने द्वन्द्वलाई देखाएका छौं।’

दिवाकारले फिल्मका कलाकारहरु रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाई, प्रशन्त ताम्राकारसँग पहिलोपटक काम गरेका हुन् । सबैको कामबाट उनी सन्तुष्ट छन् । ‘फिल्मको सुटिङस्थल बाहिर हाम्रो सम्बन्ध जे जस्तो भए पनि सुटिङ सेटमा चाहिँ मेरो ध्यान सम्बन्धित पात्रको अभिनयमा जान्थ्यो,’उनले भने ,‘फिल्ममा जुन पात्र छन्, ती पात्रलाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेमै मेरो ध्यान गयो ।’ ‘स्टुपिड मन’, ‘ड्रिम्स’ जस्ता प्रेमकथाका फिल्म बनाएका दिवाकरले ‘ऐश्वर्य’लाई पनि त्यस्तै फ्लेबरमा प्रस्तुत गरेका छन्। 

फिल्मको ट्रेलर र गीतबाट राम्रै प्रतिक्रिया पाइरहेको बेला निर्देशक दिवाकर फिल्मबाट ढुक्क छन् । ‘मैले राम्रो कथामा फिल्म बनाएको छु । ‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउने कुरामा ढुक्क छु।’

प्रकाशित: ८ कार्तिक २०७४ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App