८ वैशाख २०८१ शनिबार
अर्थ

कामदारबाट उठाएको रकम जथाभावी खर्च

काठमाडौं – रोजगारीमा रहेका कामदारलाई सहयोग पु¥याउन विभिन्न मुलुकमा रहेका नेपाली दूतावासलाई पठाइएको रकम जथाभावी खर्च गरेको पाइएको  छ। 

कामदारको सहयोगका लागि पठाइएको रकम गन्तव्य मुलुकमा रहेका केही नियोगले मोजमस्ती र सवारी साधनमा खर्च गरेका छन् । बोर्डले पठाएको ठूलो रकम खर्च गरेको बिल, भरपाइ उपलब्ध गराउन नसक्दा दूतावासहरूको फस्र्योट गर्नुपर्ने रकम बढिरहेको छ । सम्बन्धित निकायले पटकपटक प्रयास गर्दासमेत आठ दूतावासले बोर्डद्वारा पठाइएको रकममध्ये आठ करोड रुपैयाँ खर्च गरेको विवरण देखाउन सकेका छैनन्। 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समस्यामा परेका कामदारलाई सहयोग पु¥याउन बेलाबेला धेरै कामदार रहेका मुलुकमा पठाएको रकम लामो समयदेखि फस्र्योट हुन नसकेपछि खोजी गरिनुपर्ने आवाज उठेको छ। 

बोर्डका लेखा अधिकृत नीरकुमार केसीका अनुसार समस्यामा परेका कामदारलाई सहयोग गर्न पठाइएको रकममध्ये पटकपटक ताकेता गर्दा पनि आठ करोड रुपैयाँ दूतावासहरूले फस्र्योट नभएपछि के गर्ने भन्नेबारे अन्योल भइरहेको बताए। 

फस्र्योट हुन नसकेको रकममध्ये ६ करोड ३२ लाख ७९ हजार ६ सय ६६ रुपैयाँ निकै पुरानो (म्याद नाघेको) हो । बोर्डले विभिन्न नियोगमा पठाएको रकम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारसँग असुल गरिएको रकम हो । रोजगारीका क्रममा समस्या परेको खण्डमा सहयोग गर्न बोर्डले कामदारसँग रकम उठाउने गर्छ। 

रोजगारीका क्रममा कामदारले ज्यान गुमाए या अंगभंग भए तथा बिरामी परेको खण्डमा बोर्डले सोही रकमबाटै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउँछ । बोर्ड कर्मचारीका अनुसार रकम प्राप्त गरुन्जेल तारन्तर सम्पर्क गर्ने दूतावासका अधिकारीहरू रकम प्राप्त गरेपछि जति सम्पर्क गर्न खोज्दा पनि पन्छिने गर्छन्। 

‘पेस्की स्वरुप पठाएको रकम केमा खर्च गरियो भन्नेबारे सामान्य जानकारी र बिल, भरपाइ पठाइदिने हो भने पनि त्यो रकम फस्र्योट हुन्थ्यो,’ लेखा अधिकृत केसीले भने, ‘नियोगले पेस्की रकम फस्र्योट नर्गदा बोर्डलाई समेत अप्ठेरो परेको छ ।’

बोर्डका अनुसार हालसम्म सबभन्दा बढी रकम कोरियास्थित दूतावासले फस्र्योट गर्न बाँकी छ । आर्थिक वर्ष ०७३÷७४ मा बोर्डबाट ४१ लाख ६७ हजार चार सय ५० रुपैयाँ पेस्की लिएको उक्त दूतावासले हालसम्म एक करोड ७६ लाख ८६ हजार सात सय ६६ रुपैयाँ फस्र्योट गर्न सकेको छैन । पेस्की फस्र्योट नगर्ने दोस्रो दूतावास मलसियाको हो । मलेसियास्थित नेपाली दूतावासले एक करोड ३६ लाख ४६ हजार आठ सय आठ रुपैयाँ फस्र्योट गर्न बाँकी रहेको बोर्डले जनाएको छ । 

कुनै पनि कार्यालयले वित्तीय अनुशासन कायम राख्न प्राप्त गरेको रकम जुन प्रयोजनका लागि खर्च गरिएको हो त्यसबारे प्रमाणित बिल, भरपाइसहित सम्बन्धित निकायमा पेस गर्नुपर्ने हुन्छ । खर्च प्रस्ट पार्न नसके भ्रष्टाचारको आंशका गरिन्छ । बोर्डले पठाएको रकम फस्र्योट नगर्नेमा तेस्रो गन्तव्य साउदी अरेबिया रहेको छ । बोर्डले बर्सेनि पठाएको रकममध्ये एक करोड १७ लाख ३३ हजार सात सय ३५ रुपैयाँ साउदीस्थित नेपाली दूतावासले फस्र्योट गर्न बाँकी छ । बोर्डका अनुसार पटकपटक ताकेता गर्दा पनि आठवटा दूतावासले फस्र्योट गरेका छैनन्। 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५४औं प्रतिवेदनमा समेत दूतावासको त्यस्तो खर्चलाई कार्यक्षेत्र विपरीत भन्दै नियन्त्रण गर्न सुझाव दिएको छ । तर रकम प्राप्त गर्ने निकायले भने बेवास्ता गरिरहेका छन्। 

महालेखापरीक्षकको कार्यालयले कल्याणकारी कोषको रकम कर्मचारीको तलब,  मन्त्री, कर्मचारीले विदेश भ्रमणमा खर्च भएको भन्दै यसअघि नै सचेत गराइसकेको छ । कामदारबाट संकलित रकम कामदारको हित हुने काममा खर्च गर्नुपर्ने वैदेशिक रोजगार ऐन २०६४ ले व्यवस्था गरे पनि सरकारी कर्मचारी र मन्त्रीले अटेरी गरिरहेको बोर्डकै कतिपय कर्मचारी बताउँछन् । कामदारबाट संकलन हुने रकम बोर्डको कल्याणकारी कोषमा दिनहुँ जम्मा हुने क्रम जारी रहँदा दिनहुँजसो नै कोष वृद्धि भइरहेको छ । कोषमा वृद्धि भएको सोही रकमलाई देखेर कामदारको हितसँग सरोकार नराख्ने योजनाका लागि रकम माग गर्ने क्रम निकै बढेको बोर्डका कर्मचारी बताउँछन्। 

महालेखाको प्रतिवेदन अनुसार कोरियास्थित नेपाली दूतावासमा गाडी खरिद गर्दाको ३७ लाख ९७ हजार रुपैयाँसमेत कामदारको रकमबाट बेहोरिएको छ । उक्त प्रतिवेदनका अनुसार कामदारबाट संकलन भएको कुल ६६ लाख ३९ हजार रुपैयाँ कोषको उद्देश्य र कार्यक्षेत्र विपरीत खर्च भएको छ । कामदारले तिरेको प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन भएर हाल चार अर्ब रुपैयाँ  पुगेको छ। 

पूर्व श्रममन्त्रीको पनि बेरुजु 

पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले समेत बोर्डबाट लिएको रकम फस्र्योट गरेका छैनन् । गुरुङको नाममा रहेको एक लाख ३० हजार रुपैयाँ पेस्की समयमै फस्र्योट हुन नसक्दा हाल म्याद नाघिसकेको छ । बोर्डका कर्मचारीले पेस्की फस्र्योट गर्न आग्रह गरे पनि पूर्वमन्त्रीले वास्ता नगरेको बताए । 

प्रकाशित: ८ कार्तिक २०७४ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App