coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज

काठमाडौं– नेपाली कांग्रेसले बिहीबार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँट टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको संसदीय समिति बैठकले गठबन्धनमा आबद्ध दलसँग छलफल गरेर सिट संख्या बाँडफाँटपछि मात्रै पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो।  

गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का साथै राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग कांग्रेसले बिहीबार छलफल गर्ने भएको छ । ‘गठबन्धनमा रहेका दलसँग भोलि पार्टीले छलफल गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘अन्य दलसँग केकस्तो सहमति हुन्छ, त्यसैअनुसार पार्टी अघि बढ्छ ।’ 

गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का साथै राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग कांग्रेसले बिहीबार छलफल गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग बुधबार पनि छलफल गरेको कांग्रेसले राजपा र संघीय समाजवादी फोरमसँग पनि कुरा गर्ने तयारी गरेको थियो । तर, संघीय फोरमले आन्तरिक बैठकमा रहेको जनाउँदै बिहीबारमात्र बैठक गर्ने जानकारी कांग्रेसलाई गराएको थियो । फोरमले बिहीबार बैठकमा बस्ने जनाएपछि राजपाले पनि सँगै छलफलमा सहभागी हुने जबाफ कांग्रेसलाई दिएको एक नेताले जानकारी दिए ।

‘फोरमले फुर्सद मिलेन, भोलि आउँछौं भनेपछि राजपाले पनि हामी सँगै आउँछौं भन्ने जवाफ पठायो,’ कांग्रेसका एक नेताले भने, ‘अब ढिला गरेर हुँदैन, जे गर्ने हो टुंगो लगाएर जाने पार्टीको निष्कर्ष छ ।’

राजपा र संघीय फोरमले प्रदेश नम्बर २ मा धेरै सिटका लागि बार्गेनिङ गरेको कांग्रेसको बुझाइ छ । ‘जसको जहाँ जित्ने सम्भावना छ, त्यसलाई एकअर्काले सहयोग गरेर जाने भन्ने हो,’ बैठकमा सहभागी एक नेताले भने, ‘होइन, यति नै चाहिन्छ भन्नु मिल्न नखोज्नु हो ।’ राजपा र संघीय फोरमले कांग्रेससँग प्रदेश २ मा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये २४ आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन्।

त्यस्तै कांग्रेसले दुवै राप्रपासँग मोटामोटी सिट संख्या र क्षेत्र टुंगो लगाएको स्रोतको दाबी छ । दुवै राप्रपाले पाँचदेखि सात निर्वाचन क्षेत्र पाउनेगरी छलफल भइरहेको एक नेताले जानकारी दिए । ‘प्रतिनिधिसभामा थोरैमा पाँच र धेरैमा सातसम्म एउटा राप्रपाले पाउनेछ,’ स्रोतले भन्यो, ‘भोलि (बिहीबार) यसबारे टुंगो लाग्छ।’ 

कांग्रेसले दोस्रो चरणमा हुने निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोटका विषयमा सैद्धान्तिक छलफल सुरु गरेको छ । उम्मेदवार छनोटका लागि सैद्धान्तिक आधारसहित परिणाम आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर रणनीति बनाउन लागिपरेको कांग्रेसले पश्चिमका जिल्लाबाट व्यक्तिव्यक्तिका विषयमा छलफल थालेको छ।

 

प्रकाशित: ९ कार्तिक २०७४ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App