८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले ताेक्याे शीर्ष नेताको क्षेत्र

काठमाडौं – नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दर्जन नेताको उम्मेदवारी टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको संसदीय समितिको बैठकले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेताहरुको प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएको हो। 

‘प्रतिनिधिसभामा चुनाव लड्ने दुई दर्जन केन्द्रीय नेताको नाम टुंगो लगाएका छाैँ,’ निर्वाचन प्रचार समिति संयोजक बालकृष्ण खाँणले नागरिकसँग भने, ‘भोलि बिहानैदेखि बैठक छ, उम्मेदवार टुंगो लगाउँदै जानेछौं।’

कांग्रेसले काठमाडौं उपत्यकाका तीनसहित पाहाडी जिल्लाको उम्मेदवार टुंगो लगाएपछि मात्र तराईका जिल्लामा उम्मेदवार छान्ने नीति बनाएको छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा डडेल्धुराबाट उम्मेदवार बन्ने निर्णय गरेको छ । २०४८ को निर्वाचनपछि सोही जिल्लाबाट उम्मेदवार बन्दै आएका देउवालाई कैलाली–५ बाट पनि उम्मेदवार बन्न दबाब थियो । तर, देउवा आफ्नै गृह जिल्लाबाट उम्मेदवार बन्ने निर्णय समितिले लिएको हो। 

त्यस्तै, नेता पौडेल तनहुँ–१ बाट उम्मेदवार बन्ने भएका छन् । २०४८ पछि निरन्तर तनहुँबाट प्रतिनिधिसभा र संविधानसभाको पौडेल उम्मेदवार बन्दै आएका छन् । तीन निर्वाचन क्षेत्रबाट दुईमा सीमित भएपछि सोही क्षेत्रबाट केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्दराज जोशीले पनि दाबी गर्दै आएका थिए । तनहुँ–१ बाट पौडेललाई उम्मेदवार बनाउने निर्णयपछि तनहुँ–२ बाट भण्डारी, जोशी, प्रदीप पौडेल, धु्रव वाग्लेमध्ये एक उम्मेदवार बन्नेछन्। 

त्यस्तै, पार्टी महामन्त्री शशांक कोइरालाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ बाट उम्मेदवारी दिनेछन् । पहिलो र दोस्रो संविधानसभामा कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

सुनसरी–३ मा नेता विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिलो संविधानसभा निर्वाचनको मुखमा कांग्रेस परित्याग गरेका गच्छदारले केही दिनअघिमात्र उनको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकरण गरेका थिए । गच्छदार २०४८ देखि निरन्तर निर्वाचित हुँदै आएका छन् । सुनसरी–४ मा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । बिपी कोइराला देखि शेरबहादुर देउवासम्मका विश्वासपात्र कार्की पहिलो र दोस्रो निर्वाचनमा समानुपातिकबाट सांसद थिए।

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं –१ बाट उम्मेदवार बन्ने भएका छन् । दुवै संविधानसभा निर्वाचनमा सिंहले सोही क्षेत्रबाट फराकिलो मतअन्तरसहित निर्वाचित भएका थिए । सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौंका अन्य तीन निर्वाचन क्षेत्रको पनि कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । उसले काठमाडौं–४ मा गगनकुमार थापालाई मैदानमा उतार्ने निर्णय गरेको छ । पहिलो संविधानसभामा समानुपातिक दोस्रोमा सोही क्षेत्रबाट वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र राजन कुइँकेललाई पराजित गरेका थिए। 

एमाले महासचिव ईश्वर पोखरेल मैदान उत्रिने निश्चितजस्तै रहेको काठमाडौं–५मा कांग्रेसले प्रकाशशरण महतलाई अघि सार्ने भएको छ । पोखरेललाई दुई पटक पराजित गरेका केन्द्रीय सदस्य नरहरि आचार्य अस्वस्थ भएपछि महतलाई मैदान उतार्ने निर्णय गरेको छ । महत दुवै संविधानसभामा समानुपातिकबाट सांसद थिए । काठमाडौं–८ मा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं–९ मा ध्यानगोविन्द रन्जित र काठमाडौं–३ मा अम्बिका बस्नेतको नाम निश्चित गरेको छ । तर, काठमाडौंका २, ६ र १० को कांग्रेसले निर्णय गरीसकेको छैन भने काठमाडौं–७ मा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छाड्ने सहमति गरेको छ। 

त्यस्तै, पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई धनुषा–३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । निधि यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुन् । दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सांसद बनेका नेता गोपालमान श्रेष्ठलाई स्याङ्जा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। 

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेका नेता मीनेन्द्र रिजाललाई कांग्रेसले यसपटक मोरङ–२ बाट उम्मेदवार बनाएको छ । 
मोरङकै क्षेत्र नम्बर ४ बाट महेश आचार्य र क्षेत्र नम्बर ६ बाट शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । आचार्य र कोइराला सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका नेता हुन्।  

त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट कांग्रेसले पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काको उम्मेदवारी टुंगो लगाएको छ भने कञ्चनपुर–२ मा नारायणप्रसाद साउद, ३ मा रमेश लेखक र पर्वतबाट अर्जुन जोशीलाई अघि सार्ने निर्णय गरेको छ । पर्सा–४बाट रमेश रिजाल, बारा–३ बाट फरमुल्ला मन्सुर, उदयपुर–१ बाट नारायण खड्का र उदयपुर–२ बाट नारायण कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको प्रचार समिति संयोजक खाँणले जानकारी दिए। 

शीर्षलाई सघाउने 
कांग्रेसले झापा–३, मकवानपुर–१, चितवन–३, रूपन्देही–३, दैलेख–१, पर्साको एउटा निर्वाचन क्षेत्र, धनकुटासहितका निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई दिने सहमति गरेको छ । कांग्रेसले शुक्रबार गठबन्धनका दलहरुसँग पनि सिट बाँडफाँटका विषयमा छलफल गर्ने छ । बिहीबार पनि सिट बाँडफाँटका विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध  दलहरुबीच छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरू उम्मेदवार हुने केही स्थानमा एकअर्कालाई सहयोग गरेर जाने सैद्धान्तिक सहमति गरे पनि कहाँ कहाँ भन्ने टुंगो लाग्न सकेको छैन।

प्रचार समिति संयोजक खाँणले गठबन्धनमा रहेका दलहरूबीच सकारात्मक छलफल भइरहेको जानकारी दिए । उनले शीर्ष नेताहरूलाई एक अर्का दलले समर्थन गरेर जाने सैद्धान्तिक सहमति भएको जानकारी दिए । ‘केही स्थानमा कांग्रेसले गठबन्धनका नेताहरुलाई समर्थन गर्ने केहीमा उहाँहरूले हाम्रा नेताहरुलाई सहयोग गर्ने सहमति छ,’ खाँणले भने, ‘दुई दल (राजपा वा संघीय समाजवादी फोरम र कांग्रेस) बीच नै प्रतिस्पर्धा हुने स्थानमा स्वस्थ प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमति छ।’ 

गठबन्धनमा आबद्ध दलहरुसँग छलफल जारी रहेको जनाउँदै उनले भने, ‘सम्भव भएसम्म एउटै उम्मेदवार दिएर जाने र नभए स्वस्थ प्रतिस्पर्धा गर्ने गरी सकारात्मक छलफल भइरहेका छन् ।’ गठबन्धनमा आबद्ध दलहरुले आन्तरिक छलफल गरेर शुक्रबार पुनः छलफलमा जुट्ने समझदारी गरेका छन्। 

प्रकाशित: १० कार्तिक २०७४ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App