८ वैशाख २०८१ शनिबार
समाज

बाग्मतीमा मिलिजुली छठ

गौरीघाटमा बिहीबार अस्ताउँदो सूर्यलाई नमन गर्दै मधेसी र पहाडी समुदायका महिला । तस्बिर : उपेन्द्र

रौतहटको दुर्गा भगवती गाउँपालिकाकी सुमी झाले बिहीबार साँझ गुह्येश्वरीमा गौरीघाटकी बबिता पौडेल सँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइन्। 

फरक स्थान र समुदायका झा र पौडेलले प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा एकै परिवारका सदस्यजस्तै देखिन्थे । अघ्र्य दिइसकेपछि एकअर्काको निधारमा रातो टीका लगाइदिँदै उनीहरूले आफन्तझैँ आत्मीयता साटासाट गरे । झा र पौडेलका साथ उनीहरूका पारिवारिक सदस्य समेत छठ पर्वमा सहभागी थिए । 
‘हामी सँगै मिलेर छठ पर्व मनाउँदै छौँ,’ पौडेलले भनिन्, ‘यसले हामीलाई खुसी दिएको छ ।’ झाको परिवार पनि पौडेल परिवारसँग मिसिएर छठ मनाउन पाउँदा प्रशन्न देखिन्थे । ‘उहाँहरूसँगै हुँदा हामीलाई पनि रमाइलो लागेको छ,’ झाले भनिन्, ‘केटाकेटी पनि खुसी भएका छन्।’ 

फरक स्थान र समुदायका झा र पौडेलले प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अघ्र्य दिँदा एकै परिवारका सदस्यजस्तै देखिन्थे । अर्घ दिइसकेपछि एकअर्काको निधारमा रातो टीका लगाइदिँदै उनीहरूले आफन्तझैँ आत्मीयता साटासाट गरे । झा र पौडेलका साथ उनीहरूका पारिवारिक सदस्यसमेत छठ पर्वमा सहभागी थिए ।

झा र पौडेल परिवार मात्र होइन, गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाए । अपरिचित व्रतालु पनि एकआपसमा मुस्कुराइरहेका देखिन्थे । पहाडे र मधेसी मूलका व्रतालुले बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा बाग्मती किनारले सद्भावको झल्को दिइरहेको थियो।

गुह्येश्वरीस्थित बाग्मती किनारमा छठ पर्वमा यस्तो सद्भाव देखिन थालेको करिब डेढ दशक भयो । परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पर्व पछिल्ला वर्षमा सामुदायिक र धार्मिक सद्भावको साझा पर्व बन्न थालेको छ । एक÷डेढ वर्ष अघिसम्म तराईका हिन्दू धर्मावलम्बीमा सीमित छठ पछिल्लो समय पहाडी समुदायसँगै अन्य धर्मावलम्बीको समेत पर्व बनेको छ। 

गुह्येश्वरीस्थित छठपूजा आयोजक समिति सदस्य पदम रेग्मीका अनुसार सात सय १५ पूजास्थलमा मधेसी, पहाडी दुवै समुदायका धर्मावलम्बीले खुसी साथ पर्व मनाएका छन् । ‘हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दो छ,’ उनले भने, ‘छठ पर्वको उज्यालोले दुवै समुदायको अनुहार चम्केको देखिन्छ।’ 

काठमाडौं सिनामंगलकी संगीता दवाडीले बाग्मती किनारमा छठ पर्व मनाउन थालेको डेढ दशक भइसकेको छ । धनगढी माइत भएकी उनी उता हुँदा सानै उमेरदेखि यस पर्वमा सहभागी हुन्थिन् । ‘हजुरआमाको पालादेखि नै हामी छठ मनाउँदै आएका छौँ,’ उनले भनिन्, ‘यसमा पनि हामी दसैँ–तिहारमा जस्तै अपनत्व पाउँछौँ ।’

उपत्यकामा करिब आठ दशकअघि टंकेश्वरको विष्णुमति नदी किनारमा सीमित व्यक्तिले छठ पर्व मनाउन सुरु गरेको अनुमान छ । अहिले भने उपत्यकाका विभिन्न क्षेत्रका २० भन्दा बढी स्थान छठपूजा हुने गर्छ । कालिमाटी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वर बाग्मती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थानमा छठपूजा गरिन्छ । हरेक वर्ष रानीपोखरीमा पनि पूजा हुँदै आएकामा भूकम्पपछि भने रानीपोखरीको पुनर्निर्माण नहुँदा छठपूजा हुन सकेको छैन। 

बिहीबार छठ पर्व हेर्न आएका सर्वसाधारण पनि विभिन्न समुदायको सद्भाव देखेर रमाएका थिए । ‘सबै समुदायका मानिस रमाएका छन्,’ ‘पेप्सीकोलाबाट आएकी नम्रता सापकोटाले भनिन्, ‘तिरमा बसेर हेर्दा निकै रमाइलो लाग्यो ।’

केही वर्षअघि गुह्येश्वरीमा हिन्दू धर्मावलम्बीसँगै केही मुस्लिम समुदायका महिलाले समेत छठपूजा गरेका थिए । रौतहट घर भई काठमाडौं तिलगंगा बस्दै आएकी जमिला खातुनले २५ वर्षे पति जुमराती मंसुरी र पाँच वर्षीय छोरा अलाउद्दिनको सुखशान्तिका लागि तीन वर्षअघि गुह्येश्वरीमै छठपूजा गरेकी थिइन् । ‘विगत आठ वर्षदेखि व्रत बस्दै आएकी छु,’ तीन वर्षअघि उनले नागरिकसँग भनेकी थिइन्, ‘हामी इद र छठ दुवै मनाउँदै आएका छौँ ।’ 

बिहीबार नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेसँगै सम्पन्न हुनेछ। 

प्रकाशित: १० कार्तिक २०७४ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App