coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

मेलम्चीको पानी ल्याउन पाइप बिछ्याइएको क्षेत्रमा सडक विभागले कालोपत्रे सुरु गर्ने भएको छ । 
मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । 

मेलम्चीले पाइप ओछ्याएर फेरि खन्नुनपर्ने सडकमा स्थायी कालोपत्रे गर्न लागिएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा बताउँछन् । ‘फेरि भत्काउनुनपर्ने सडकमा स्थायी प्रकृतिको कालोपत्रे सुरु भइसक्यो,’ उनले भने, ‘ठेकेदारलाई टाइमलाइन दिएरै कालोपत्रे गर्न निर्देशन दिइसक्यौँ ।’ 

मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । 

उनका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले काम सम्पन्न गरेका स्थानमा कालोपत्रे सुरु भएको हो । ‘थापाथलीदेखि त्रिपुरेश्वरचोकसम्म स्थायी कालोपत्रे गरिसक्यौँ,’ उनले भने, ‘अन्य स्थानमा छठपर्वलगत्तै थाल्छौँ ।’ निर्देशनालयले सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालय काठमाडौं १ र २ तथा काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई निर्देशन दिइसकेको छ ।

सडक डिभिजन कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले डिभिजन कार्यालय मातहतका सडकको कालोपत्रे गर्न लागिएको बताए । ‘मेलम्चीको पाइपलाइन ओछ्याएर ‘प्रेसर’ जाँच गरेको स्थानमा कालोपत्रे गर्ने योजना अघि बढाइसकेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा गौशालादेखि चावहिल सडकखण्ड कालोपत्रे गर्न लागिरहेका छौँ ।’ 

उनका अनुसार मंसिरभित्रै गौशालादेखि रातोपुलसम्म स्थायी कालोपत्रे गरिनेछ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले तीनकुने–माइतीघर सडकखण्डको कालोपत्रे गर्न पिआइडीलाई निर्देशन दिइसकेको सापकोटाले बताए।

तीनकुने–माइतीघर सडकखण्ड कालोपत्रे गर्ने तयारी थालेको पिआइडीका निर्देशक तिरेश खत्री बताउँछन् । ‘सडक कालोपत्रे गर्न ठेक्का प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘अबको केही समयभित्रै कालोपत्रे गर्नेछौँ ।’ निर्देशनालयले आफू मातहतका दुई सय २० किलोमिटर सडक आगामी वर्षाअघि नै कालोपत्रे गर्ने योजना अघि सारेको छ । ‘सडकका खाल्डाखुल्डी तीन सय ६५ दिन नै पुर्दै आइराखेका छौँ,’ उनले भने, ‘प्रेसर जाँच गरिसकेका सडकमा छिट्टै कालोपत्रे गर्ने योजनासाथ ठेक्का अघि बढिसकेको छ।’  

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक विभिन्न चरणमा कालोपत्रे गर्ने भएको छ । ‘त्रिपुरेश्वर–नागढुंगा सडकखण्डमा अवरोध नभएका स्थानमा कालोपत्रे गर्ने तयारी छ,’ निर्देशक सापकोटाले भने, ‘मंसिरभित्रै चार खण्डमा कालोपत्रे गर्न लागेका छौँ ।’  उनका अनुसार  फुटपाथ र  ‘कर्भस्टोन’ छुट्ट्याएर खण्ड–खण्डमा कालोपत्रे गर्न लागिएको हो । नागढुंगा–महालक्ष्मी पेट्रोल पम्प, त्रिपुरेश्वर–टेकु, कलंकी–सतुंगललगायतमा कालोपत्रे गर्न लागिएको हो । अन्य स्थानमा मुआब्जा र जग्गा विवादका कारण काम अघि बढ्न सकेको छैन । सरकारले आगामी चैतभित्र उपत्यकामा मेलम्चीको पानी ल्याउने लक्ष्यसाथ काम गरिरहेको छ। 

प्रकाशित: १० कार्तिक २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App